ऐतिहासिक दस्तावेज : २१ औं शताब्दीको जनवाद (पूर्णपाठ)

  • 884
    Shares
0

इतिहासका अनुभव र एक्काइसौं शताब्दीमा जनवादको विकासबारे

महान् नेपाली जनयुद्ध आज रणनीतिक सन्तुलन र प्रत्याक्रमणको तयारीको विशिष्ट चरणमा छ । सैद्धान्तिक रुपले यो चरण आफैंमा अत्यन्त जटिल र सम्वेदनशील चरण हुने गर्दछ । साम्राज्यवादको युगमा कुनै पनि देशको जनक्रान्तिले यो चरणसम्म विकास गरेपछि, त्यसले अनिवार्य रुपमा विश्व साम्राज्यवादसँग प्रत्यक्ष टक्कर लिन पुग्दछ । विकासको यो स्थितिले स्वतः सम्बन्धित जनक्रान्तिका अगाडि नितान्त नयाँ चुनौती र नयाँ सम्भावनालाई खडा गरिरहेको हुन्छ । त्यसमा पनि आज विशेष गरी विश्वमा एउटा पनि वास्तविक समाजवादी सत्ता नरहेको तथा ‘भूमण्डलीकरण’ र ‘उदारीकरण’, ‘सभ्यताको विस्तार’ र ‘आतङ्कवाद विरोधी युद्ध’का नाममा अत्यन्त उदण्डतापूर्वक अमेरिकी साम्राज्यवादले विश्वलाई नै आफ्नो मुठ्ठीमा राख्न अगाडि बढिरहेको वर्तमान सन्दर्भमा नेपाली जनयुद्धको यो चरण र यसको भावी विकास अझ विशेष रुपले जटिल र अझ विशेष रुपले महान् हुने कुरा निश्चित छ ।

पार्टीको दास्रो राष्ट्रिय सम्मेलनको वैचारिक संश्लेषण तथा त्यसको प्रयोगको प्रक्रियासँगै जनयुद्धको विकासमा गुणात्मक प्रगति देखा पर्‍यो । २१ औँ शताब्दीको सङ्घारमा देखा परेको जनयुद्धको गुण र मात्राको व्यापकता सँगसँगै विश्व साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादले आफ्नो हस्तक्षेपकारी गतिविधिलाई तीव्रता दिन थाल्यो । दरबार हत्याकाण्डमार्फत् सर्वाधिक निरङ्कुश सामन्ती तत्वहरुलाई अगाडि बढाई महान् जनयुद्धका विरुद्ध उनीहरुलाई सामाजिक, आर्थिक र राजनीतिक खुला सहयोगद्धारा साम्राज्यवादले नेपालमा आफ्नो दाह्रा–नङ्ग्रा गाड्ने जमर्को गर्दै आएको छ । नेपालको भू-राजनीतिक स्थितिको रणनीतिक महत्व र जनयुद्धको विजयद्धारा पैदा हुने दुरगामी प्रभावलाई ठूलो चूनौतीका रुपमा बुझेर नै साम्राज्यवादीहरुले नेपालमा माओवादी आन्दोलनलाई सत्ता कब्जा गर्नबाट रोक्ने रणनीतिको घोषणा गरिरहेका छन् । ११ सेप्टेम्बरको घटनापछि तथाकथित आतङ्कवाद विरोधी युद्धका नाममा साम्राज्यवादको विरोध गर्ने उत्पीडित देश र जनताका विरुद्ध अत्यन्त क्रुर र जङ्गली युद्ध थोपर्दै आएको अमेरिकी साम्राज्यवादले अहिले नेपालमा भएको युद्धविराम र वार्ता प्रक्रियालाई समेत आफ्नो त्यही रणनीतिको अङ्ग र विजयका रुपमा प्रचार गर्नु तथा माओवादी आन्दोलनलाई समेत अन्तर्राष्ट्रिय आतङ्कवादको सूचिमा राख्नुले जनयुद्धको विकासको स्तर र यसका अगाडिका चुनौतीहरुलाई स्पष्ट गर्दछन् ।

आज विश्व जनमतको जबर्जस्त विरोधका बावजुद अत्याधुनिक सैन्य प्रविधिका बलमा इराक र इराकी जनतालाई तवाह पार्न ‘सफल’ भएको उदाहरण देखाएर अमेरिकी साम्राज्यवादले त्यो कथित सफलतालाई विद्रोहको कुरा गर्ने विश्वका साना-ठूला सबै शक्तिहरुका लागि एउटा चेतावनी भएको अहङ्कारयुक्त घोषणा गरिरहेको छ । देशभित्र पुरानो सामन्ती सत्ता र प्रमुख संसदवादीहरुको राष्ट्रिय आत्मसमर्पणवादी चरित्र एवं साम्राज्यवादको उपरोक्त धम्कीका सन्दर्भमा हामीले अत्यन्त गम्भिरतापूर्वक पार्टीका रणनीति र कार्यनीतिहरुको विकास गर्न जरुरी छ ।

विश्व परिस्थितिबारे

शीतयुद्धको समाप्तिपछि साम्राज्यवादीहरुले गरेको ‘इतिहासको अन्त्य’ र ‘नयाँ विश्व व्यवस्थाको उदय’को दावीलाई पूर्णतः झुट्टो बकवास साबित गर्दै आज विश्वका सबै आधारभूत अन्तरविरोधहरु तीव्र भएका छन्। साम्राज्यवाद र उत्पीडित राष्ट्र एवं जनताका बीचको विश्वको प्रमूख अन्तरविरोध मात्र विष्फोटक भएको छैन, अपितु अन्तरसाम्राज्यवादी अन्तरविरोध पनि झन् चर्केर गएको छ। पूर्व सोभियत सङ्घको पतनपछि सिङ्गो भूमण्डलमा आफ्नो एकछत्र प्रभुत्व कायम गर्ने रणनीति अन्तर्गत अमेरिकी साम्राज्यवादको बढ्दो लुट, हस्तक्षेप र आतङ्कसँगै यो स्थितिको विकास भइरहेको छ।

धर्तीको अत्यधिक मानवीय एवं प्राकृतिक संशाधनको शोषण, दोहन र लुटमा खडा भएको तथाकथित अमेरिकी सम्पन्नता र सभ्यतालाई आफैंले विश्वको आदर्श धरोहर घोषणा गर्दै साम्राज्यवादी धनकुबेरहरुको वुश मण्डलीले उसको विरोधमा आवाज उठाउने राष्ट्र, सङ्गठन, आन्दोलन र जनसमुदाय जो कसैमाथि हमला गर्ने विशेष अधिकारको दावी र प्रयोग गर्दै आएको छ। मानव जातिलाई नै ध्वंश गर्न सक्ने महाविनासकारी हतियारहरुको निर्माण गर्ने युद्ध उद्योगमा टिकेको अमेरिकी अर्थतन्त्रलाई धराशायी हुनबाट बचाउन यो वा त्यो बहानामा जनसमुदायमाथि युद्ध थोपर्नु साम्राज्यवादको एउटा मुल विशेषता बनिरहेकै छ।

गत दशकदेखि नै सामान्यतः समग्र साम्राज्यवादी अर्थतन्त्र एवं विशेषतः अमेरिकी अर्थतन्त्रमा गहिरो मन्दी छाएको छ। औद्योगिक पूँजीमाथि वित्तीय पूँजीको बर्चश्व कायम भएको र त्यस प्रकारको वित्तीय पूँजीमाथि ‘विश्व बैंक’, ‘अन्तर्राष्ट्रिय मुद्राकोष’ जस्ता संस्थामार्फत् मुख्यतः अमेरिकी नियन्त्रण रहेको छ। वित्तीय पूँजीको दवदवा र त्यसको असीमित संकेन्द्रणले असमान आय बितरण, असमान विकास, बेरोजगारी एवं धनी र गरीबका बीचको खाडललाई पनि भयानक रुपले चर्काएर लग्यो। विज्ञान, प्रविधिको विकास र पूँजीको संकेन्द्रणले साम्राज्यवादी आर्थिक इकाइहरुको उत्पादन क्षमता त असीमित रुपले वृद्धि भइरहेको छ। तर, विकास र बितरणको असमानताका कारण माग र बजार त्यही अनुपातमा नबढेको मात्र होइन, झन् सीमित हुँदै गएको छ। साम्राज्यवादी अर्थ व्यवस्थाको यो वंशाणुगत नियतिका कारण बजारका निमित्त साम्राज्यवादी गुटहरुका बीचमा टकराव हुन अनिवार्य हुन्छ।

आज विश्व परिस्थितिमा एउटा ठूलो मोड र परिवर्तनलाई व्यक्त गरिरहेको इराक युद्धको पृष्ठभूमिले उक्त कुरालाई स्पष्ट गर्दछ। अन्तर्राष्ट्रिय भुक्तानको माध्यम डलर भएको हुनाले पाँच खरबभन्दा बढीको व्यापार घाटालाई अमेरिकाले मनपरि डलर छापेर पूर्ति गरिरहेको भए तापनि यदि झण्डै आधा अमेरिकन मुद्रामा नियन्त्रण गर्ने युरोप लगायतका अन्य साम्राज्यवादी देशहरुले डलरको सट्टा अन्य मुद्रा प्रयोग गर्ने बित्तिकै सस्तो ब्याजको ऋणमा टिकेको अमेरिकी घरेलु अर्थ व्यवस्था टाट पल्टिने निश्चित छ। वस्तुतः अमेरिकाका कैयौँ ठूलठूला कम्पनी र बैंकहरु टाट पल्टिँदै जानुका पछाडि यही स्थितिले काम गरिरहेको छ। यता केही समयदेखि विकास हुँदै गएको ‘यूरो’को अवस्थाले ‘डलर’को भविष्यलाई चुनौती दिँदै गएको छ। यसमा खासगरि सन् २००० देखि इराकले आफ्नो तेलको भुक्तान युरोमार्फत् गर्न थालेको थियो। भेनेजुयलाले यो काम झन् पहिलेदेखि गर्दै गएको थियो। अमेरिकन डलरको सट्टा कैयौँ सामाज्यवादी देशहरुले आफ्नो विदेशी मुद्रा भण्डारलाई बिस्तारै युरोमा बदल्न थाले।

कतिपय अमेरिकाकै नजिकका मानिने देशहरु समेत युरोलाई निश्चित हदसम्म भण्डार गर्न इच्छुक हुँदै गए। त्यसमा पनि गत सात वर्षदेखि तेल उत्पादक देशहरुले तेल सम्पदाको विकासका लागि कुनै पनि अमेरिकन कम्पनीलाई आमन्त्रित गर्न छोड्न थाले। यो समग्र स्थितिमा यदि तेलको विशाल विश्व व्यापारमा युरोको कब्जा भयो र डलर बाहिरियो भने (जसको स्पष्ट संकेत देखा परिसकेको थियो) अमेरिकाको अर्थतन्त्र चौपट हुने र विश्वमा उसको एकछत्र दादागिरी नचल्ने निश्चित भयो। यसरी वस्तुतः ११ सेप्टेम्बरको घटनाभन्दा पहिलै नै अमेरिकाको आर्थिक प्रभुत्वमा ठूलो खतरा उत्पन्न भइसकेको थियो। त्यो अवस्थामा स्वयं नाटोका सदस्य देशहरुभित्रै अति उत्पादन र सीमित बजारको अन्तरविरोधको अनिवार्य अभिव्यक्तिका रुपमा आपसी टकराव देखा पर्नु स्वभाविक थियो। अमेरिकी साम्राज्यवादले अब आफ्नो आर्थिक प्रभुत्वका लागि एकमात्र अतिमहाशक्तिको दर्जा प्राप्त विशाल फौजी संयन्त्रसहित युद्ध छेड्नुबाहेक अर्को उपाय देख्न सम्भव थिएन।

ठीक यही पृष्ठभूमिमा ११ सेप्टेम्बरको घटना घट्यो। यो घटना वस्तुतः संकटग्रस्त बन्दै गएको अमेरिकी साम्राज्यवादी धनकुबेरको निमित्त युद्ध छेड्ने अत्यन्त ठूलो बहाना बन्न गयो। एकध्रुवीय आर्थिक र सैनिक प्रभुत्वका लागि आफ्नो विशाल फौजी संयन्त्रसहित युद्धको बहाना खोज्न थालेका तेल व्यापारी बुश मण्डलीले तत्काल कथित आतङ्कवाद विरोधी युद्धका नाममा दीर्घकालिन युद्धको घोषणा गर्‍यो। आफ्नो प्रमुख रणनीतिक लक्ष्य तेल कब्जा गरी आफ्ना प्रतिस्पर्धीहरुलाई पाखा लगाउनु र विश्व अर्थतन्त्रमाथिको पकड मजबुत पार्नु भए तापनि तत्काल त्यसलाई आतङ्कवादविरोधी युद्धको नाम दिएर अफगानिस्तानमाथि हमलाबाट सुरु गरियो। जब यो प्रक्रिया अगाडि बढेर विश्वको दोस्रो ठूलो तेल भण्डार रहेको सार्वभौम राष्ट्र इराकमाथि कथित सामूहिक विनासका रासायनिक तथा जैविक हतियार रहेको र त्यसलाई नष्ट गर्ने आधारहीन आरोपमा हमलाको तयारी अमेरिकी र ब्रिटिश फौजबाट हुन थाल्यो, तब विश्व परिस्थितिमा ठूलो उथलपुथल र परिवर्तन देखा पर्‍यो र परिरहेको छ।

युद्धको तयारीकै क्रममा मूख्यतः युरोप, अमेरिका लगायत विश्वभरि नै साम्राज्यवादी युद्धको विरोधमा अभूतपूर्व जनप्रदर्शनको लहर देखा पर्‍यो। साम्राज्यवादीहरुका गढमा नै युद्धलाई ‘मानवता विरुद्धको अपराध’ र ‘वुश–ब्लेयरहरुलाई २१ औँ शताब्दीका हिटलरसँग’ तुलना गरेर भएको युद्धविरोधी विशाल र भव्य जनप्रदर्शनहरुले विश्व क्रान्तिको नयाँ लहरका लागि वस्तुगत रुपले क्रान्तिकारी परिस्थितिलाई ठूलो मात्रामा तयार गरेको छ। युरोप, अमेरिका र विश्वभरि विकास भएको जनसमुदायको युद्धविरोधी एकता र पहलले तत्काल इराक युद्धलाई रोक्न सफल नभएता पनि यसले साम्राज्यवादका विरुद्ध जनशक्तिको विकल्प र भावी विद्रोहको सम्भावनाको बलियो आधार खडा गरेको छ। करौडौँ जनसमुदायको विश्वव्यापी विरोधका बावजुद छेडिएको युद्धले साम्राज्यवादीहरुको प्रजातन्त्रको नकाव च्यात्तिएर उनीहरुको असली सैन्य फासिवादी चरित्र एक पटक फेरि विश्वस्तरमा उदाङ्गो भएको छ। इराक युद्धका सन्दर्भमा विकसित भएको विश्व परिस्थितिको यो एउटा अत्यन्त सकारात्मक पक्ष हो।

इराक युद्धले अन्तर साम्राज्यवादी अन्तरविरोधलाई सतहमा मात्र ल्याएन, काफी हदसम्म त्यसलाई चर्काएर लगेको छ। फ्रान्स, जर्मनी र रुस मुखरित भएर नै अमेरिका र ब्रिटेनको युद्ध नीतिका विरुद्ध देखा परे। फ्रान्सले राष्ट्र सङ्घमा युद्धका विरुद्ध भिटो प्रयोग गर्न दिएको धम्की तथा अमेरिकाको ‘एकध्रुवीय विश्व प्रभुत्व सैह्य नभएको’ घोषणाले अन्तर साम्राज्यवादी अन्तरविरोधको स्तरलाई व्यक्त गर्दछ। मूख्यतः आ-आफ्नो आर्थिक स्वार्थ र सहायक रुपमा सडकमा जनसमुदायको जबर्जस्त प्रदर्शनको दवावका कारण यस किसिमको विरोध त्यो स्तरसम्म देखा परेको कुरा स्पष्ट नै छ। तर, आजको साम्राज्यवादी विश्व व्यवस्थालाई बचाइराख्न सक्ने एक मात्र तागत अमेरिका नै भएको तथ्यलाई राम्रोसँग बुझेका यी साम्राज्यवादीहरुको विरोधको स्वरमा अमेरिकासँग साँठगाँठ र दलालीको गन्ध पनि सजिलै महशुस गर्न सकिन्छ। यो कुरा राष्ट्र सङ्घको वकालत र युद्धको विरोध गर्दागर्दै पनि यी देशहरुले त्यसलाई रोक्न कुनै ठोस कदम नचालेको मात्र होइन, अप्रत्यक्ष रुपमा युद्धलाई सहयोग गर्ने तथा अमेरिकाले युद्ध हार्न भने हुँदैन भनेर गरेको प्रचारबाट स्पष्ट हुन्छ। जे भए पनि तेल र बजारका निमित्त साम्राज्यवादी प्रतिस्पर्धा बढ्दै गएको छ र इराक युद्धले त्यो अन्तरविरोधलाई झन् तीव्र र गहिरो तुल्याएको छ। विश्व परिस्थितिमा विकास भएको यो अर्को महत्वपूर्ण परिवर्तन हो।

शीतयुद्धको अन्त्यपछि अमेरिकाको एकछत्र प्रभुत्वलाई स्वीकार गरेर त्यसको आशिर्वाद प्राप्त गर्न प्रतिस्पर्धा गरिरहेको तेस्रो विश्वका प्रतिक्रियावादी शासकहरु गत दशकको अनुभवबाट आफ्नो स्थिति झन् कमजोर भइरहेको महशुस गरिरहेका थिए। अहिले तेस्रो विश्वका सबै प्रतिक्रियावादी शासकहरु एकातिर जनसमुदायको बढ्दो आक्रोश र विद्रोह तथा अर्कातिर विश्व साम्राज्यवादको दवाव, धम्कीको दोहोरो चेपमा रहेका छन्। राष्ट्र सङ्घको अस्वीकृति, विश्व जनमतको व्यापक विरोध र तेस्रो विश्वका अधिकांश शासकहरुको अनुनय, विनयका बावजुद अमेरिका र ब्रिटिस साम्राज्यवादद्धारा एउटा सार्वभौम देश इराकमाथि गरिएको भीषण हमलाले झण्डै–झण्डै बिर्सिन लागेको असंलग्न आन्दोलनलाई स्मरण गर्न र सो आन्दोलनमार्फत् युद्धको विरोध गर्न तेस्रो विश्वका शासकहरु बाध्य भएका छन्। तर, आफ्नो प्रतिक्रियावादी चरित्रका कारण साम्राज्यवादका विरुद्ध उनीहरुले कुनै दृढ अडान लिन सकिरहेका छैनन् र लिन सक्ने कुरा पनि होइन। तेस्रो विश्वका कतिपय निरङ्कुश शासकहरु आफ्नो आयु र अस्तित्वका लागि नाङ्गै साम्राज्यवादको दलाली गरिरहेका छन् भने अन्य कतिपय आतङ्कित मानसिकतासहित सम्झौताको बाटो खोजिरहेका छन्। जे भए पनि अन्तरसाम्राज्यवादी अन्तरविरोध चर्कंदै जानु र त्यही अनुपातमा असंलग्न आन्दोलनले पुनर्जीवित हुने जमर्को गर्नुले विश्व स्थितिमा आइरहेको परिवर्तनलाई नै व्यक्त गर्दछ।

इराक युद्धमा प्राप्त कथित फौजी सफलताबाट अमेरिकी साम्राज्यवादीहरुको विश्व प्रभुत्व कायम गर्ने अहङ्कार झन् बढेर गएको छ। उनीहरुले त्यो ‘सफलता’लाई अमेरिकाका विरुद्ध आवाज उठाउने विश्वका साना ठूला सबै शक्तिका विरुद्ध एउटा चेतावनी भएको दम्भपूर्ण घोषणा गरेका छन्। पुरै अरब देशहरुमा आफ्ना अगाडि घुँडा टेक्न कठपुतली सरकार कायम गरी तेलमार्फत् विश्व कब्जा गर्ने रणनीति अहिले सिरिया, इरान लगायतका देशहरुमाथि धम्कीमा केन्द्रित गरिरहेका छन्।

अफगानिस्तान र पाकिस्तानमा आफ्नो सैन्य संयन्त्रलाई बलियो तुल्याउँदै लगेको अमेरिकी साम्राज्यवादले दक्षिण एसियामा आफ्नो प्रभुत्व कस्दै लैजाने रणनीति अपनाएको छ। यस क्षेत्रका देशहरुमा विद्यमान प्रतिक्रियावादी सरकारहरुको आत्मसमर्पणवादी चरित्रका कारण त्यो रणनीतिमा उनीहरु सफल पनि हुँदै गएका छन्। काश्मीर विवादलाई हतियारका रुपमा प्रयोग गरी भारत र पाकिस्तानका शासकहरुलाई बिरालोले मुसा खेलाएझैं खेलाउँदै आएको अमेरिकी साम्राज्यवादको अहिलेको ध्यान जनयुद्धको माध्यमबाट तीव्र गतिमा एकपछि अर्को सफलता हासिल गर्दै गएको नेपाली जनताको महान् जनवादी आन्दोलनलाई निस्तेज पार्ने प्रश्नमा केन्द्रित भइरहेको छ।

वैचारिक दृष्टिले २१ औँ शताब्दीको अग्रगामी आन्दोलन भएको तथा नेपालको भू–रणनीतिक अवस्थिति (विशाल चीन र भारतका बीचमा हुनु) का कारण माओवादी आन्दोलनको सफलता विश्व साम्राज्यवादका विरुद्ध नयाँ विश्व क्रान्तिको झिल्को हुने तथा त्यसबाट विश्व साम्राज्यवादमा डढेलो लाग्ने कुरालाई बुझेर नै उनीहरुले नेपालमा विगत करीव ३ वर्षदेखि आफ्नो हस्तक्षेपकारी गतिविधिलाई बढाउँदै लगेका छन्। घोर प्रतिगामी सामन्ती निरङ्कुशवादी तत्वहरुलाई टिकाइराख्न जनयुद्धका विरुद्ध सामरिक, आर्थिक, भौतिक सहयोग बढाइरहेका छन्। युद्धविराम भएर औपचारिक वार्ताको सङ्घारमा आइपुग्दा अमेरिकी साम्राज्यवाद र नेपाली पुरानो सत्ताका बीचमा भएको कथित आतङ्कवादका विरुद्धको ५ वर्षे समझदारी (सन्धिले) र हालै नेपालको माओवादी आन्दोलनलाई समेत आतङ्कवादको सूचिमा राख्ने घोषणाले स्थितिको गम्भिरतालाई स्पष्ट गर्दछ।

अहिलेको विश्व परिस्थितिको यो संक्षिप्त अवलोकनबाट मात्र पनि के कुरा स्पष्ट हुन्छ भने इतिहासका तमाम उतारचढावका बावजुद साम्राज्यवादका आधारभूत विशेषता र बुशका लागि युद्धको अनिवार्यताबाट कमरेड लेनिनले गरेको विश्लेषण आज पनि उत्तिकै वैज्ञानिक र सान्दर्भिक रहेको छ। क्रान्तिद्धारा युद्धको विरोधबाहेक विश्व जनसमुदायका अगाडि अर्को विकल्प छँदै छैन। इराक युद्धसम्मको स्थितिले २१ औं शताब्दीमा विश्व क्रान्तिको नयाँ लहरका लागि वस्तुगत परिस्थितिलाई परिपक्व बनाउँदै लगेको छ। मार्क्सवाद–लेनिनवाद–माओवादका आधारभूत सिद्धान्तका आधारमा साहसपूर्वक त्यो विश्व क्रान्तिको नेतृत्वका लागि आफैंलाई तयार पार्ने महान् ऐतिहासिक कार्यभार अन्तर्राष्ट्रिय सर्वहारा वर्गको काँधमा आएको छ। जनयुद्धबाहेक साम्राज्यवादलाई परास्त गर्ने अर्को कुनै फौजी रणनीति हुन सक्तैन।

विश्व परिस्थिति र नेपाली क्रान्तिबारे

सूचना प्रविधिमा भएको अभूतपूर्व विकासले आजको विश्वलाई आश्चर्यजनक रुपमा साँघुरो पारिदिएको छ। साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विकासले कुनै निश्चित देशमा जनक्रान्तिको सफलताका लागि अन्तर्राष्ट्रिय परिस्थितिको अनुकूलता वा प्रतिकूलताले रणनीतिक महत्वको भूमिका खेलिरहेको हुन्छ। त्यसमाथि २१ औं शताब्दीको विज्ञान र प्रविधिको विकासले एउटा देशमा क्रान्तिको सफलताका लागि अन्तर्राष्ट्रिय परिस्थितिको महत्व झन् गुणात्मक रुपले बढ्न गएको छ। आजको स्थितिमा कुनै निश्चित देशको क्रान्तिका उतारचढावहरु विश्व परिस्थितिमा आउने उतारचढावसँग निरन्तर र अभिन्न रुपले गाँसिएका हुन्छन्। नेपाली क्रान्तिको विकासका ७ वर्षहरुले उपरोक्त वास्तविकतालाई राम्रोसँग अभिव्यक्त गर्दै आएको छ।

विश्व साम्राज्यवाद, आजको अवस्थामा मूख्यतः अमेरिकी साम्राज्यवाद यदि पुरानो सामन्ती सत्ताको सहयोगमा प्रत्यक्ष अगाडि नआएको भए पार्टीको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनद्धारा संश्लेषित विचार, रणनीति र कार्यनीतिको प्रयोगद्धारा नेपाली क्रान्ति अहिलेको भन्दा केही भिन्न र सापेक्षित सहजतापूर्वक अगाडि बढ्न सम्भव थियो। कुख्यात दरबार हत्याकाण्डमार्फत् सर्वाधिक क्रुर र निरङ्कुश सामन्ती तत्वहरुलाई नेपाली जनयुद्धका विरुद्ध खडा गराउनेदेखि ११ सेप्टेम्बरपछि कथित आतङ्कवादका विरुद्ध युद्धको घोषणासँगै नेपालमा आफ्नो हस्तक्षेप बढाउनेसम्मका अमेरिकी साम्राज्यवादका क्रियाकलापले नेपाली क्रान्ति प्रभावित भएको छ। हामी यो कुरा स्पष्टसँग र पुरै अनुभवका साथ भन्न सक्दछौं कि विगत ‘सङ्कटकाल’मा यदि पुरानो सामन्ती सत्ता र उसको शाही सेनालाई अमेरिकी सैन्य विशेषज्ञहरुको योजना, निर्माण, तालीम र निर्देशनमा प्रत्यक्ष सहभागिता नभएको भए तथा अमेरिका लगायत वैदेशिक प्रतिक्रियावादी शक्तिहरुको आर्थिक र फौजी सहयोग प्राप्त नगरेको भए नेपालमा सडेगलेको सामन्ती सत्ता जनयुद्धका अगाडि आजसम्म टिक्न सम्भव थिएन। साम्राज्यवादको प्रत्यक्ष सहयोग र निर्देशनमा सामन्ती सत्ताले सङ्कटकालका नाममा चलाएको भीषण सैनिक अत्याचार र आतङ्कका विरुद्ध विभिन्न मोर्चामा उसलाई पराजित गरेर वास्तविक अर्थको रणनीतिक सन्तुलनसम्म जनयुद्धको विकास हुनुले पार्टीको राजनीतिक एवं फौजी कार्यदिशाको महान् विजयलाई नै प्रमाणित गर्दछ।

‘शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै’ र ‘असाधारण जटिल स्थितिको सिर्जना गर्दै’ अगाडि बढ्नु माकर्सवाद-लेनिनवाद-माओवादका अनुसार कुनै पनि क्रान्तिको नियम हो। नेपाली क्रान्तिको विकासको नियम त्योभन्दा बाहिर हुन सक्तैन। आज नेपाली जनयुद्ध रणनीतिक सन्तुलनबाट प्रत्याक्रमणको तयारीको चरणमा रहेकाले साम्राज्यवादी शक्ति पनि यसका विरुद्ध अझ भीषण हमलाको तयारीमा रहेको कुरामा कुनै शङ्का छैन। नेपाली क्रान्तिका सम्पूर्ण जटिलता, सम्भावना र चुनौती यही वस्तुगत स्थितिका अभिव्यक्तिहरु हुन्। सैद्धान्तिक र रणनीतिक दृष्टिले साम्राज्यवाद कमरेड माओले भनेझैं कागजी बाघ नै हो । तर, तात्कालिन र कार्यनीतिक दृष्टिले ऊ मान्छे खाँदै हिँड्ने साँच्चैको बाघ पनि हो।

इराक युद्धसम्म आइपुग्दा साम्राज्यवाद कागजको बाघ र साँच्चैको बाघ दुवै प्रमाणित भइरहेको छ। रणनीतिक दृष्टिले इराक युद्धमा साम्राज्यवाद विश्वभरिका जनसमुदायको विरोध, घृणा र आक्रोशको केन्द्र बनेकाले ऊ कागजी सावित भएको छ। तर, तात्कालिक रुपबाट उसले अफगानिस्तान र इराकका जनताको रगत पिइरहेको छ र विश्वभरिका जनतातिर आफ्नो रगत लतपत्तिएको मुख देखाएर गर्जिरहेको छ, त्यसरी ऊ साँच्चैको बाघ बनेको छ। इराक युद्धले विश्वभरि नै क्रान्तिकारी परिस्थितिलाई अझ परिपक्व अवश्य बनाएको छ, तैपनि तत्काल सर्वहारा वर्गको नेतृत्वमा क्रान्तिको लहर भने चलिरहेको छैन। तर, नेपालमा भने क्रान्तिको विकास प्रत्याक्रमणको तयारीको चरणजस्तो अत्यन्त सम्वेदनशील चरणसम्म भइसकेको छ। विश्व परिस्थितिको यही रणनीतिक अनुकूलता एवं तात्कालिक प्रतिकूलता र देशभित्रको रणनीतिक सन्तुलनको स्थितिमा नै पार्टीका आजका युद्ध विराम, वार्ता, राजनीतिक विकासलगायतका कार्यनीतिक श्रृङ्खलाहरु आधारित रहेको यथार्थलाई बुझ्न जरुरी छ।

चीनमा पूँजीवादको पुनस्र्थापनासँगै विश्वमा एउटा पनि समाजवादी सत्ता नरहेको, वस्तुगत परिस्थिति अनुकूल बन्दै गएको भए तापनि तत्काल सर्वहारा वर्गको नेतृत्वमा कुनै शक्तिशाली क्रान्तिकारी आन्दोलनको विकास भइनसकेको, विश्व साम्राज्यवाद घाइते बाघझैं उदण्ड भएर जताततै जनतामाथि झम्टिँदै हिँडेको आजको परिस्थितिमा नेपाल जस्तो सानो र विशिष्ट भू-राजनीतिक अवस्थाको देशमा क्रान्तिलाई केन्द्रीय सत्ता कब्जा गर्ने स्तरसम्म विजयी बनाउन सम्भव छ ? आज पार्टीका अगाडि उपस्थित भएको यो सर्वाधिक महत्वपूर्ण प्रश्न हो। यो प्रश्नको समुचित मार्क्सवादी-लेनिनवादी-माओवादी उत्तरमा नै नेपाली क्रान्तिको भविष्य निर्धारित हुने छ।

विचारधारात्मक र राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ। हिजो शितयुद्धको अन्त्यपछि पश्चिममा साम्राज्यवादले वैचारिक र भौतिक दुवै अर्थमा ‘विजयोत्सव’ मनाइरहेको तथा पेरुको जनयुद्धले समेत गम्भिर धक्का खाएको अत्यन्त प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीले जनयुद्धको ऐतिहासिक पहल गरेको तथ्य यहाँ स्मरणीय छ। देशभित्र र बाहिरका तमाम प्रतिक्रियावादी एवं दक्षिणपन्थी संशोधनवादीहरुले जनयुद्धको यो पहललाई वस्तुगत परिस्थिति बिनाको ‘उग्रपन्थी भड्काव’ भन्दै केही महिनाभित्रै सखाप हुने भविष्यवाणि गरेका थिए। तर, ती तमाम आरोप र भविष्यवाणिका विपरीत ७ वर्षमा जनयुद्ध आजको चुनौतीपूर्ण अवस्थासम्म विकास भएको छ। यो अद्वितीय विकासका पछाडि पार्टीको सही विचार, नीति, योजना र कार्यक्रम रहेको कुरा स्वतः स्पष्ट छ।

आज साम्राज्यवादी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादको सामना गर्दै क्रान्तिलाई विजयसम्म डोर्‍याउने जुन चुनौती खडा भएको छ, अन्ततः यो पनि सही विचारधारात्मक र राजनीतिक कार्यदिशाको विकास गर्ने चुनौती नै हो। ठोस वस्तुको ठोस विश्लेषणका आधारमा यदि पार्टीले नयाँ परिस्थितिका लागि वैचारिक र राजनीतिक कार्यदिशाको विकास गर्न असफल भएर, जडसुत्रवाद वा अनुभववादको शिकार भयो भने क्रान्तिलाई विजयसम्म डोर्‍याउन असम्भव हुनेछ। अहिलेको विश्व परिस्थितिबाट क्रान्तिकारी आन्दोलनमा देखा पर्न सक्ने तीन प्रकारका विचलनका बारे यहाँ चर्चा गर्न आवश्यक छ।

दुश्मनको शक्तिलाई अधिमूल्याङ्कन र जनताको शक्तिलाई अवमूल्यन गर्ने दक्षिणपन्थी आत्मसमर्पणवादी विचलन आजको सन्दर्भमा क्रान्तिकारी आन्दोलनभित्र देखा पर्न सक्ने पहिलो र मूख्य खतरा रहेको कुरामा पार्टी स्पष्ट हुन आवश्यक छ। यस प्रकारको विचलनले युद्धविरामलाई निरपेक्ष शान्तिको अर्थमा ग्रहण गर्ने, वार्ता प्रक्रियालाई दुश्मनका विरुद्ध सङ्घर्षको अर्को मोर्चाका रुपमा नलिएर जसरी पनि सम्झौता गर्ने अर्थमा ग्रहण गर्ने, जनसेनाको सुदृढीकरण र जनसमुदायलाई गोलबन्द गर्ने प्रमुख र कष्टसाध्य कामप्रति अरुचि र दुश्मनका विभिन्न गुटहरुसँगको कुटनीतिक सहकार्य र त्यसको परिणामप्रति अनावश्यक आशावादिता प्रकट गर्ने, विश्व परिस्थिति र त्यसको दवावलाई देखाएर पार्टीका रणनीतिक लक्ष्यलाई कार्यनीतिक सिर्जनशीलताका नाममा परित्याग गर्न उद्धत रहने, विचार र नेतृत्वको विकासमा भन्दा यथास्थितिमा चक्कर काट्न रमाउने, युद्धविराम भङ्ग गरेर क्रान्तिलाई अगाडि बढाउनुलाई आत्मघात सम्झने आदि जस्ता विविध रुपमा अभिव्यक्त हुन सक्दछ।

उपरोक्त विचलनको ठीक विपरीत अर्को विचलन दुश्मनको शक्तिलाई अवमूल्यन र जनताको शक्तिलाई अधिमूल्याङ्कन गर्ने ‘वामपन्थी दुस्साहसवादी’ विचलनका रुपमा देखा पर्न सक्दछ। यस प्रकारको विचलनले युद्ध विराम र वार्ता प्रक्रियालाई अनावश्यक र औचित्यहीन कसरत देख्ने, रणनीतिक लक्ष्यप्रति दृढताका नाममा क्रान्तिको विकासले पैदा गरेका जटिलताहरुको सामना गर्न आवश्यक कार्यनीतिक घुमघुमाउलाई अस्वीकार गर्ने, दुश्मनका बीचको अन्तरविरोधको पहिचान र परिचालनलाई अवसरवाद देख्ने तथा सिधै अगाडि बढेर मात्र क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने एकोहोरो सोंच राख्ने, पार्टीका विचार, नीति, योजना र कार्यक्रमलाई निरन्तर विकास गर्नुपर्ने कष्टसाध्य कामका रुपमा भन्दा पूर्व संश्लेषित विचार, नीति, योजना र कार्यक्रमलाई पूर्णताको जड अर्थमा ग्रहण गर्ने आदि जस्ता विविध रुपमा अभिव्यक्त हुन सक्दछ।

पार्टीले उपरोक्त दुई परस्परविपरित देखिने विचलनका साथै अर्को विचलन अकर्मण्यतावाद र पलायनवादका रुपमा पनि देखा पर्न सक्दछ। यो प्रकारको विचलनले दक्षिणपन्थी, वामपन्थी र क्रान्तिकारी कुनै पनि दिशामा आफूलाई दृढतापूर्वक उभ्याउन सक्तैन। अन्ततः पलायनवाद यसको गन्तव्य हुन पुग्दछ। पार्टी यस प्रकारका विचलनका विरुद्ध मालेमावाद र प्रचण्डपथका आधारमा निरन्तर विचारधारात्मक सङ्घर्ष अगाडि बढाउन जोड दिन्छ। रणनीतिक, दृढता र कार्यनीतिक लचकताको पार्टीको स्थापित विचारलाई नयाँ परिस्थितिको मागअनुसार अर्को नयाँ उचाइमा उठाउन आवश्यक ठान्दछ। नेपाली जनयुद्धको विजय न दक्षिणपन्थी आत्मसमर्पणवादीहरुले सोचेजस्तो असम्भव छ, न वामपन्थी दुस्साहसवादीहरु सोचेजस्तो सिधा र सरल नै हुनेछ।

अफगानिस्तान र मुख्यतः इराक युद्धपछि निश्चित रुपले विश्व साम्राज्यवादका साथै युद्ध विरोधी विश्व जनमत (कम्युनिष्ट क्रान्तिकारीहरुसमेत) को आँखा नेपालमा विशेष रुपले केन्द्रित हुँदै गएको छ र भावी दिनमा अझ केन्द्रित हुँदै जानेछ। तेस्रो विश्वका कुनै पनि धार्मिक कट्टरतावादी शासक वा गुट वा प्रतिक्रियावादी तानाशाहहरुले साम्राज्यावादी सैन्य हस्तक्षेपका विरुद्ध वास्तविक प्रतिरोध गर्न नसक्ने तथ्य इराक युद्धसम्म आउँदा अझ स्पष्ट भइसकेको छ। यसका पछाडि तीन प्रमुख कारण रहेको कुरामा हामी स्पष्ट हुनु पर्दछ। पहिलो, त्यस प्रकारका प्रतिक्रियावादी शासकहरु आफ्नै जनसमुदायबाट अलगथलग रहेका हुन्छन् र प्रतिरोध युद्धमा जनसमुदायको सक्रिय पहलकदमीको असीमित उर्जालाई संगठित गर्न असफल हुन्छन्। दोस्रो, त्यस प्रकारका शासकहरुले प्रयोग गर्ने युद्धशैली साम्राज्यवादी युद्धशैली नै हुने गर्दछ, जुन शैलीमा अतिमहाशक्ति साम्राज्यवाद हजारौं गुणा बलियो हुने भएकाले तेस्रो विश्वका शासक वा धार्मिक कट्टरवादी गुटहरु युद्धमा लामो समय टिक्न सम्भव नै हुँदैन। तेस्रो, साम्राज्यवादी युद्धको विरोधमा रहँदा रहँदै पनि त्यस प्रकारका प्रतिक्रियावादी शासक वा धार्मिक कट्टरतावादी गुटका पक्षमा विश्व जनमत पुरै शक्तिका साथ र निरन्तर आन्दोलित हुन असम्भव हुन्छ।

निश्चित छ कि नेपाली जनयुद्धका सन्दर्भमा त्यस प्रकारको स्थिति आधारभूत रुपले नै फरक हुनेछ। मालेमावादका सार्वभौम सिद्धान्त र इतिहासका अनुभवद्धारा अकाट्य रुपमा प्रमाणित तथ्य हो कि साम्राज्यवादका विरुद्ध जनयुद्धको विधिद्वारा मात्र सफलता हासिल गर्न सम्भव छ। आज विश्व जनमत साम्राज्यवादका विरुद्ध पुनः आन्दोलित भइरहेको सन्दर्भमा नेपाली जनयुद्धले विश्व क्रान्तिको नयाँ लहर सृष्टि गर्ने विश्व ऐतिहासिक महत्वको भूमिका खेल्न सक्ने सम्भावना प्रवल बन्दै गइरहेको छ। यदि नेपाली जनयुद्धले दक्षिणपन्थी आत्मसमर्पणवाद वा वामपन्थी दुस्साहसवादको शिकार भएर यो वा त्यो रुपमा धक्का खान पुगेमा त्यसले विश्व क्रान्तिको विकासमा नै ठूलो नकारात्मक भूमिका खेल्नेछ। ७ वर्षको जबर्जस्त विजय अभियान र रणनीतिक सन्तुलनको आजको अवस्थाका कारण साम्राज्यवादी दुश्मन जनयुद्धका विरुद्ध नयाँ–नयाँ रणनीति अपनाउन बाध्य भइरहेका छन्।

इण्डोनेसिया, चिली, भियतनाम, निकारागुआ र पछिल्लो पेरुको अनुभव समेतलाई दृष्टिगत गरी साम्राज्यवादले नेपाली जनयुद्धलाई सखाप पार्ने खुला र छद्म रणनीतिको विकास गर्ने जमर्को गरिरहेको छ। तीमध्ये सबैभन्दा प्रभावकारी उपायका रुपमा आतङ्कवादको आरोप स्थापित गरी भीषण फौजी हमलाको तयारी गर्नु नै रहेको छ। यो स्थितिमा नेपाली जनयुद्धको भावी विकास त्यति सहज र सरल भने अवश्य हुने छैन। तर, सही रणनीति र कार्यनीतिका आधारमा अगाडि बढ्दै जाँदा यसले विश्व जनमतलाई आन्दोलित गर्दै र साम्राज्यवादलाई थकाउँदै क्रान्तिलाई विजयसम्म डोर्‍याउन पुरै सम्भव छ। यसका लागि निश्चय नै पार्टीले कार्यनीतिमा थुप्रै फेरबदल, घुम्ती र उतारचढावहरु पार गर्नुपर्नेछ। यहाँ मूख्य प्रश्न २१ औं शताब्दीको क्रान्तिको झण्डालाई झुक्न नदिने रणनीतिक प्रतिवद्धतामा दृढ रहने हो। अमेरिकी साम्राज्यवादीको विपरीत र वैकल्पिक ध्रुवको रुपमा जनयुद्धको रणनीतिलाई स्थापित गर्नु र त्यसका लागि ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै आवश्यकताअनुसार अघि–पछि र दायाँ–बायाँ हुँदै अगाडि बढ्न जरुरी पर्दछ, यस सन्दर्भमा पार्टीले निम्न कुराहरुमा विशेष ध्यान दिन आवश्यक छ।

सर्वहारा अन्तर्राष्ट्रियतावादको महान् सिद्धान्तप्रति दृढ रहँदै विश्व सर्वहारा वर्गसँग पार्टीको सम्बन्धलाई अझ ठोस र व्यापक बनाउन जोड गर्न आवश्यक छ। साम्राज्यवादका विरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सामूहिक प्रयत्न बिना कुनै खास देशको क्रान्तिको विजय विशेष रुपले असम्भव भएको आजको विश्वमा पार्टीले त्यसका लागि रिममार्फत् विश्वभरिका सर्वहारावादी क्रान्तिकारीसँगको सम्बन्धलाई सजीव र आन्दोलनयुक्त तुल्याउन अझ पहल बढाउन आवश्यक छ। अन्तर्राष्ट्रिय सर्वहारा वर्गसँगको सम्बन्ध र उसको सामूहिक प्रयत्नमा सङ्गठित र आन्दोलित रुप दिने कुरालाई पार्टीले पहिलो प्राथमिकता दिन आवश्यक छ।

साम्राज्यवादका विरुद्ध विश्वव्यापी रुपमा विकसित हुँदै गएको जनमतसँग नेपाली क्रान्तिलाई जोड्ने प्रश्न पार्टीका अगाडि उपस्थित महत्वपूर्ण प्रश्न हो। पार्टीको अहिलेसम्मको गतिविधिले साम्राज्यवाद विरोधी विश्व जनमतसँग नेपाली क्रान्तिलाई जोड्नका लागि राम्रो वैचारिक र राजनीतिक आधार अवश्य तयार भएको छ। पार्टी र अन्तर्राष्ट्रिय सर्वहारा वर्गको सामूहिक र योजनावद्ध पहलसहित त्यो सम्बन्धलाई सजीव, सङ्गठित र आन्दोलनयुक्त तुल्याउन जोड दिनु आवश्यक छ।

उपरोक्त दुई मुलभूत सम्बन्धलाई विकसित गर्ने प्रयाससँगै अमेरिकी साम्राज्यवादसँग अन्तरविरोध राख्ने अन्य विभिन्न साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरुलाई उपयोग गर्ने प्रयत्न बढाउनु पर्दछ। यहाँ स्पष्ट हुनुपर्दछ कि सर्वहारा वर्ग र साम्राज्यवाद विरोधी विश्व जनमतसँगको सम्बन्धलाई प्राथमिकतासहित मजवुत तुल्याउने प्रयत्नको विकासका सापेक्षतामा नै अन्तरसाम्राज्यवादी र अन्तर प्रतिक्रियावादी अन्तरविरोधलाई उपयोग गर्ने पार्टीको क्षमतामा वृद्धि हुनेछ। यसरी मात्र हामीले विश्व क्रान्तिलाई सेवा गर्ने तथा नेपाली क्रान्तिलाई डोर्‍याउने आफ्नो ऐतिहासिक दायित्वलाई पुरा गर्न सक्नेछौं।

वर्तमान घरेलु परिस्थितिबारे

देशको वर्तमान राजनीतिक स्थिति सङ्क्रमणकालिन सङ्कटको अवस्थाबाट गुज्रिरहेको छ। गृहयुद्धमा रणनीतिक सन्तुलनको विशेष अवस्था, जनसमुदायको शान्तिको आकाङ्क्षा र वैदेशिक शक्ति केन्द्रहरुको बढ्दो चलखेल र हस्तक्षेप समेतलाई विचार गरी हाम्रो पार्टीले अत्यन्त गम्भिरता, जिम्मेवारी र लचकतापूर्वक युद्धविराम र वार्ता प्रक्रियामा समावेश भई शान्तिपूर्ण ढङ्गले अग्रगामी राजनीतिक निकासका लागि प्रयत्न गर्दै आएको छ। जनता र जनयुद्धको व्यापक दवावका कारण अन्तर्राष्ट्रिय शक्तिकेन्द्र एवं उनका नेपाली दलालहरुले औपचारिक रुपमा युद्धविराम र वार्ता प्रक्रियालाई स्वागत गरेको देखाए पनि वास्तविक अर्थमा युद्धविरामको घोषणासँगै यसका विरुद्ध षड्यन्त्रको पनि सुरुवात गरियो। युद्धविरामको घोषणादेखि नै शाही सेना समेत पुरानो सत्ता पक्षद्धारा गरिएका दमन, धरपकड र हत्या प्रक्रियालाई जारी राख्दै अगाडि बढाइरहेको सैन्य सुदृढीकरणको अभियान तथा विभिन्न प्रतिक्रियावादी संसदीय गुटहरुद्धारा गरिएको तथा कथित माओवादी र दरबारका बीचको गोप्य साँठगाँठको सुनियोजित प्रचारबाजीले त्यस प्रकारको षड्यन्त्रलाई स्पष्ट सङ्केत गरिरहेको थियो।

हाम्रो पार्टीले प्रारम्भदेखि नै सबै प्रकारका षड्यन्त्रहरुको भण्डाफोर गर्दै देश र जनताको आवश्यकता र आकाङ्क्षाअनुसार युद्धविराम र वार्तालाई सफल पार्न जोड दिँदै आएको छ। यस सन्दर्भमा हाम्रो इमान्दारी, गम्भिरता र जिम्मेवारीवोध वार्ता टोलीको गठनदेखि साहसपूर्वक र सार्वजनिक रुपले गरिएका विभिन्न राजनीतिक शक्ति, बौद्धिक व्यक्तित्व, पत्रकार एवं जनसमुदायसँगको गहन छलफल, अन्तरक्रियाद्धारा मात्र होइन, सत्ता पक्षसँगका औपचारिक वार्तामा हामीले प्रस्तुत गरेका कार्यसूचि र अडानहरुले समेत राम्रोसँग प्रमाणित गरेका छन्।

तर, हाम्रो राजनीतिक आचरण र शान्तिपूर्ण राजनीतिक निकासप्रतिको हाम्रो प्रतिवद्वताप्रति ग्रामीण मात्र होइन, शहरिया मध्यमवर्गीय जनसमुदायसमेत जति व्यापक रुपले स्पष्ट र आकर्षित हुँदै गएको स्थिति देखा पर्न थाल्यो, त्यत्ति नै मात्रामा वैदेशिक प्रतिक्रियावाद र उनका नेपाली दलालहरुको षड्यन्त्रको मात्रा पनि बढ्दै गएको तथ्य स्पष्ट देख्न सकिन्छ। औपचारिक वार्ताकै मूखमा आएर अमेरिकी साम्राज्यवाद र पुरानो सत्ताका बीचमा भएको तथाकथित आतङ्कवादका विरुद्धको पाँच वर्षे समझदारी, भारतीय स्थल सेनाध्यक्षद्धारा ‘आतङ्कवादक विरुद्ध’ लड्न पुरानो सत्तालाई दिइएको र दिइने ३०० करोड मूल्य बराबरको युद्ध सामग्रीको सार्वजनिक घोषणा तथा पछिल्लो चरणमा अमेरिकी विदेश मन्त्रालयद्धारा माओवादी आन्दोलनलाई अन्तर्राष्ट्रिय आतङ्कवादको सूचिमा राख्ने सार्वजनिक घोषणा, नेपालस्थित अमेरिकी राजदूतद्धारा खुलेआम दिइने गरेको धम्की, शाही सेनाका क्रियाकलाप र सार्वजनिक अभिव्यक्तिहरु तथा प्रमुख संसदवादी दलहरुका भ्रामक प्रचारबाजीहरुले त्यो कुरालाई पुरै स्पष्ट गर्दछन्।

युद्धविरामदेखि अहिलेसम्मको राजनीतिक विकासक्रमले स्पष्ट गरेको छ कि गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान सभामार्फत् अग्रगामी राजनीतिक निकास खोज्ने हाम्रो न्युनतम् र सर्वमान्य हुनुपर्ने प्रस्तावलाई निरङ्कुश राजतन्त्रको सपना देख्ने दरबारिया तत्वहरुले मात्र होइन, संसदीय प्रजातन्त्रको राग अलाप्ने प्रमूख संसदवादी गुटहरुले समेत अस्वीकार गरिरहेका छन्। वस्तुतः यो अस्वीकृतिले उनीहरु देशमा न वास्तविक अर्थको शान्ति, न वास्तविक राजनीतिक निकास नै चाहन्छन् भन्ने कुरा मात्र प्रमाणित भइरहेको छ। रुप पक्षमा हेर्दा निरङ्कुश राजतन्त्रवादी, संसदवादी र क्रान्तिकारी शक्तिका बीचमा त्रिकोणात्मक सङ्घर्ष चलेको देखिने राजनीतिक परिदृश्यको वर्गीय सारतत्वमा गएर हेर्दा दुई पक्ष (प्रतिक्रियावादी र जनवादी वा प्रजातान्त्रिक शक्ति) का बीचको सङ्घर्ष मात्र देखा पर्दछ।

निरङ्कुश राजतन्त्रवादी एवं संसदवादी गुटका बीचको अन्तर प्रतिक्रियावादी पुरानो सत्तामा अंशबण्डाको झगडाबाहेक अरु केही नभएको कुरा व्यवहारतः प्रमाणित भइरहेको छ। दरबारियाहरु राष्ट्रियता (नक्कली) र संसदवादीहरु प्रजातन्त्र (नक्कली) को नाममा सत्तामा बसेर देश र जनतामाथि एउटै वर्गीय प्रकृतिको घात गर्न चाहन्छन् भन्ने कुरा नेपालमा पटकपटक प्रमाणित भइरहेको छ। देशको वर्तमान सङ्कटपूर्ण स्थिति र हाम्रो गम्भिर पहलका बावजुद संविधान सभाजस्तो बुर्जुवा प्रजातान्त्रिक विधिमा आउन इन्कार गर्नुले उनीहरुको राष्ट्रियता र प्रजातन्त्रको नारा कति खोक्रो र पाखण्डी छ भन्ने कुरा एकपटक फेरि व्यापक रुपमा प्रमाणित भएको छ। यसबाट राष्ट्रियता र प्रजातन्त्र बुर्जुवा जनवादी क्रान्तिका एक–अर्काबाट अलग गर्ने नसकिने अवयव हुन् भन्ने हाम्रो नीतिको वैज्ञानिकता झन् स्पष्ट भएको छ।

वर्गीय र सैद्धान्तिक रुपले हामीले भन्दै आएको तथा अहिलेको युद्धविराम र वार्ता प्रक्रियाका सन्दर्भमा विशेष रुपले कुन कुरा उदाङ्गो भएको छ भने यथार्थमा नेपालका विभिन्न प्रतिक्रियावादी गुटहरुका बीचको आपसी खिचातानी, कचिङ्गल र अन्तरविरोधका पछाडि विभिन्न अन्तर्राष्ट्रिय प्रतिक्रियावादी शक्ति केन्द्रहरुको आपसी स्वार्थको टक्करले काम गरिरहेको छ। शाही सेना र दरबारिया तत्वहरुलाई पश्चिमा साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवाद र प्रमुख संसदवादी गुटहरुलाई दक्षिण एसियामा आफ्नो विशेष प्रभुत्व खोज्ने भारतीय शासकहरुले सञ्चालन र संरक्षण गरिरहेकाले उनीहरुका बीचमा निरन्तर खिचातानी चलिरहने गरेको छ। अतः सिङ्गो पार्टी अझ स्पष्ट हुन जरुरी छ कि दरबारिया र नेपालका संसदवादीहरु कसैलाई पनि एक–अर्काका तुलनामा प्रजातान्त्रिक वा राष्ट्रवादी देख्ने सोंच दरबार हत्याकाण्डपछिको राजनीतिक विकासका सन्दर्भमा अझ विशेष रुपले गलत र हानिकारक हुन पुगेको छ।

कुन खास स्थितिमा अन्तरविरोधलाई कुन किसिमले सञ्चालन गर्ने भन्नेबाहेक दरबारिया र संसदवादी गुटहरुका सन्दर्भमा हाम्रो कुनै सैद्धान्तिक र राजनीतिक सम्बन्ध हुन नसक्ने कुरा आजको नेपालमा झन् स्पष्ट भइरहेको छ। घटनाक्रमले स्पष्ट गरिरहेको छ कि दरबारियाहरु शान्ति वार्ताका नाममा हामीलाई उपयोग गरी आफ्नो सत्ता सुदृढ गर्ने र अमेरिकी साम्राज्यवादको आडमा हाम्रो आन्दोलनलाई सखाप पार्ने रणनीतिअन्तर्गत नै अगाडि बढिरहेका छन् भने प्रमुख संसदवादी गुटहरु प्रतिगमनका विरुद्ध सङ्घर्षका नाममा हामीलाई उपयोग गरी पुरानै सत्ताको कुर्सीमा पुगेर वैदेशिक प्रतिक्रियावादकै आडमा हाम्रै आन्दोलनलाई सखाप पार्ने रणनीतिअन्तर्गत अगाडि बढिरहेका छन्। यो स्थितिमा उनीहरुको रणनीतिक षड्यन्त्रको झण्डाफोर गर्दै जनसमुदायलाई व्यापक रुपमा गोलबन्द गर्नु तथा प्रतिक्रियावादीहरुका बीचको अन्तरविरोधलाई उपयोग गर्दै जनक्रान्तिलाई नयाँ उचाइमा उठाउन जोड गर्नुबाहेक क्रान्तिकारीहरुको अर्को रणनीति हुनै सक्तैन।

के अन्तर्राष्ट्रिय शक्ति एवं देशका प्रतिक्रियावादी तत्वहरुको यस प्रकारको षडयन्त्रपूर्ण रवैयाले युद्धविराम, वार्ता र शान्तिपूर्ण राजनीतिक निकासप्रतिको हाम्रो गम्भिर र जिम्मेवारीपूर्ण पहलकदमीको औचित्यलाई समाप्त गर्दछ ? कतिपय मानिसहरुलाई त्यस्तो लाग्न पनि सक्दछ। तर, वास्तविक र वैज्ञानिक अर्थमा दुश्मनका यी षड्यन्त्रहरुले हाम्रो यो पहलको औचित्यलाई झन् व्यापक रुपले प्रमाणित गर्दछन्। सर्वप्रथमः हाम्रो यो पहलले ग्रामीण मात्र, शहरिया जनसमुदाय र देशभित्र मात्र होइन, उल्लेखनीय हदसम्म विश्वभरिका जनसमुदायसम्म हाम्रो आन्दोलनको राजनीतिक श्रेष्ठता स्थापित गर्न साम्राज्यवाद एवं उसका दलालहरुको सैन्य फासिवादी निकृष्टतालाई नङ्गाउन महत्वपूर्ण भूमिका खेलेको छ। अझ ठोस रुपमा भन्नुुपर्दा वार्ता र राजनीतिक निकासको गम्भिर पहल भइरहेका बेला अमेरिकी साम्राज्यवादद्वारा गरिएको युद्ध उन्मादी र अन्यायपूर्ण हस्तक्षेपले शहरिया बौद्धिक समुदायदेखि आम जनतासम्म र विश्वभरिका प्रगतिशील जनसमुदायको नजरबाट समेत एकैचोटी अमेरिकी साम्राज्यवाद र उसका नेपाली दलालहरु नराम्रोसँग गिर्न पुगेका छन्। यसले भावी प्रत्याक्रमणका लागि ठूलो राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक तयारीको भूमिका खेल्ने कुरालाई हामीले गम्भिरतापूर्वक आत्मसात गर्नुपर्दछ। दोस्रो कुरा, हाम्रो यो पहल र अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपले पार्टीका अगाडि अन्तरसाम्राज्यवादी एवं विभिन्न देशका प्रतिक्रियावादी शासकहरुका बीचको अन्तरविरोधलाई उपयोग गर्ने सम्भावनालाई धेरै हदसम्म बढाइदिएको छ। तेस्रो कुरा, हाम्रो पहल र दुश्मनको नाङ्गो षड्यन्त्रले देशका विभिन्न प्रतिक्रियावादी एवं संशोधनवादी गुटहरुभित्र आपसी अन्तरविरोधलाई व्यापक रुपले चर्काएर सतहमा ल्याउने काम गरेको छ। यसबाट प्रतिक्रियावादी एवं संशोेधनवादी गुटहरुको भ्रममा रहेका कार्यकर्ता र जनताको तप्कालाई स्पष्ट पार्न राम्रो अवसर प्राप्त भइरहेको छ।

वार्ता पनि एउटा सङ्घर्षको मोर्चा हो भन्ने पार्टीको मुल सैद्धान्तिक मान्यताअनुसार हामीले यसलाई अन्तसम्म र एउटा तार्किक निष्कर्षसम्म पुर्‍याउन जोड गर्नुपर्दछ। तर, यो कार्यनीति प्रत्याक्रमणको राजनीतिक तयारीको रणनीतिसँग अभिन्न रुपले गाँसिएको यथार्थलाई हामीले दह्रोसँग पकड्नै पर्दछ। अन्तमा रणनीतिक र वर्गीय दृष्टिले दरबारिया एवं प्रमुख संसदवादी नेतृत्व गुटहरुका बारेमा उपरोक्त विश्लेषणमा स्पष्ट हुँदै तात्कालिक र कार्यनीतिक दृष्टिले अमेरिकी साम्राज्यवाद र उसको नेपाली दलाल बनेको दरबारका विरुद्ध जहाँसम्म अगाडि जान तयार हुन्छन्, त्यहाँसम्म अन्य साम्राज्यवादी, वैदेशिक प्रतिक्रियावादी एवं देशभित्रका प्रमूख संसदवादीहरुसँग आवश्यक तालमेल, समझदारी र कार्यगत एकता गर्न ध्यान दिनुपर्दछ। यसरी नै हामीले मुख्य दुश्मनका विरुद्ध आक्रमणलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन सक्नेछौं।

इतिहासका अनुभव र एक्काइसौं शताब्दीमा जनवादको विकासबारे

Marxism is not a lifeless dogma, not a completed, readymade immutable doctrine, but a living guide to action.” – Lenin

क्रान्ति र प्रतिक्रान्तिका प्रचुर अनुभवहरुद्वारा समृद्ध विश्व सर्वहारा आन्दोलनको वैज्ञानिक संश्लेषण गर्दै निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्नु माक्र्सवाद–लेनिनवाद–माओवादका शिक्षाको मुलभूत सारतत्व हो। हाम्रो पार्टीले नेपालमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिलाई नेतृत्व प्रदान गर्ने सन्दर्भमा प्रारम्भदेखि नै मालेमावादका शिक्षालाई जडसुत्रका रुपमा होइन, ‘कामको सजीव मार्ग दर्शक’का रुपमा सिर्जनात्मक प्रयोग र विकास गर्ने कुरामा जोड दिँदै आएको छ। नेपाली क्रान्तिको ठोस परिस्थिति अनुसार मालेमावादका शिक्षाहरुको प्रयोग र विकास गर्ने योे महान् प्रक्रियामा हामीले दक्षिणपन्थी संशोधनवादका साथै जडसुत्रीय संशोधनवादका विरुद्धसमेत निरन्तर सङ्घर्ष गर्दै आएका छौं। वर्गसङ्घर्षको आवश्यकतासँग अभिन्न रुपले गाँसिएको विचारधारात्मक सङ्घर्षको प्रक्रियाले महान् जनयुद्धको विकासलाई एकपछि अर्को छलाङ् हान्दै ७ वर्षको अवधिमा विकासको आजको चरणसम्म ल्याई पुर्‍याएको छ। वर्गसङ्घर्ष र विचारधारात्मक सङ्घर्षको यही विकास प्रक्रियाले नै नेपाली क्रान्तिको विशिष्ट विचार श्रृङ्खलाका रुपमा ‘प्रचण्डपथ’को आविस्कार भएको संश्लेषण पार्टीले गरिसकेको छ।

यहाँ कुन कुरा विशेष रुपले महत्वपूर्ण छ भने पार्टीले आफ्नो सैद्धान्तिक र व्यवहारिक सङ्घर्षको प्रस्थानविन्दु सर्वहारा क्रान्तिको विज्ञानको सर्वोच्च संश्लेषणका रुपमा माक्र्सवाद–लेनिनवाद–माओवादको विकास गर्ने, महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई बनाउँदै आएको छ। यसको अर्थ प्रतिक्रान्तिलाई रोक्ने सैद्धान्तिक आधारका रुपमा सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिलाई आत्मसात गर्नु तथा पार्टीको निरन्तर सर्वहाराकरणका निमित्त ‘तीन गर र तीन नगर’को सैद्धान्तिक मान्यताका आधारमा वैचारिक सङ्घर्षलाई अगाडि बढाउनु हो। यी मुलभूत सैद्धान्तिक मान्यताबाट कुनै पनि विचलन, सर्वहारा आन्दोलनबाट विचलन हुने कुरामा हाम्रो पार्टी दृढ रहँदै आएको छ। तर, यसको अर्थ २१ औं शताब्दीको क्रान्तिका आवश्यकताका सन्दर्भमा बनिबनाउ र पूर्ण उत्तरको जड अर्थमा यसलाई ग्रहण गरियो भने त्यो आफैंमा मालेमावाद र सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षा विपरीत हुने कुरा स्वतः स्पष्ट छ।

महान् सर्वहारा सांस्कृतिक क्रान्तिसम्मको संश्लेषणले विश्व सर्वहारा वर्गलाई मालेमाको सैद्धान्तिक हतियारले लैश अवश्य गराएको छ। तर, क. माओको मृत्युपछि चीनमा पूँजीवादको पुनस्र्थापना भयो र दुनियाँमा एउटा पनि समाजवादी सत्ता बाँकी रहेन। यसबाट विश्व सर्वहारा आन्दोलनले व्यहोरेको एउटा ठूलो धक्का र विश्व परिस्थितिमा आएको एउटा ठूलो नकारात्मक परिवर्तनलाई अस्वीकार गर्नु मनोगत विचलन मात्र हुनेछ । वस्तुगत रुपले साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग तथा क्रान्ति नै विश्वको मूल प्रवृत्ति रहेको यथार्थमा कुनै परिवर्तन आएको छैन। यसको अर्थ सत्ताको सङ्घर्षमा चीनमा प्रतिक्रान्तिसम्म आउँदा सर्वहारा वर्गले ठूलो आत्मगत पराजय भोग्नु परेको यथार्थलाई अवमूल्यन गर्नु तथा ती पराजयहरुबाट शिक्षा लिएर भावी दिनमा प्रतिक्रान्ति रोक्ने तयारीलाई गम्भिरतापूर्वक नलिने भन्ने कुरा हुन सक्तैन। आजको विश्व क्रान्ति एवं कुनै निश्चित देशको क्रान्तिका सन्दर्भमा सर्वहारा वर्गको राजनीतिक अग्रदस्ताका अगाडि एउटा ठूलो प्रश्नका रुपमा यसको जवाफ दिने आवश्यकता टड्कारो रहेको छ।

त्यसैगरि २१ औँ शताब्दीमा प्रवेशसँगै विश्वमा विज्ञान र प्रविधि मूख्यत इलेक्ट्रोनिक सूचना प्रविधिमा अभूतपूर्व तिव्रताका साथ विकास भएको छ। यो अद्भूत विकासले जसरी विश्वलाई विविध रुपमा प्रभावित पारेको छ, त्यसले अनिवार्य रुपमा सर्वहारा क्रान्तिको राजनीतिक र फौजी रणनीतिमा परिमार्जन र विकासको माग गरिरहेको छ। विश्वको कुनै पनि कुनामा हुने कुनै सकारात्मक वा नकारात्मक परिघटनाको विश्वव्यापी रुपमा हुने आजको जस्तो तीव्र, घनिभूत एवं प्रत्यक्ष सम्वेदनात्मक प्रभाव मानव जातिको इतिहासमा पहिला कहिल्यै पर्ने गरेको थिएन।

यसरी प्रतिक्रान्तिका अनुभवहरुले हामीलाई विगत क्रान्तिमा रहन गएका सीमा र कमजोरीबाट शिक्षा लिन प्रेरित गर्दछन् भने विज्ञान प्रविधिमा भएको विकासले हामीलाई क्रान्तिका रणनीति र कार्यनीतिमा सिर्जनात्मक विकास गर्न प्रेरित गर्दछन्। मानव समाजको युगीन विकासका दृष्टिले आज पनि विश्व साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा नै रहेको भए तापनि आत्मगत र वस्तुगत परिस्थितिमा आएका उपरोक्त महत्वपूर्ण परिवर्तनहरुले आजको सर्वहाराका अगाडि ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा आफ्ना विचार र रणनीतिहरुलाई विकास र परिमार्जन गर्नुपर्ने आवश्यकता उपस्थिति भएको छ।

इतिहासका अनुभव, वर्तमान विश्व परिस्थितिको विश्लेषण एवं नेपाली जनयुद्धका पाँच वर्षका सजीव अनुभव समेतका आधारमा पार्टीको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनले कैयौं महत्वपूर्ण राजनीतिक एवं फौजी संश्लेषण गरेको छ। त्यो संश्लेषित विचारको साँढे २ वर्षमा भएको घनिभूत प्रयोगद्धारा जनयुद्धको विकासमा प्राप्त गुणात्मक सफलताले त्यसको वैज्ञानिकता मात्र प्रमाणित भएको छैन, अपितु अझ उच्च वैचारिक, राजनीतिक र फौजी संश्लेषणका निमित्त मजबुत आधार समेत तयार भएको छ। दोस्रो राष्ट्रिय सम्मेलनदेखि आजसम्मको नेपाली वर्ग सङ्घर्षको विकास एवं ११ सेप्टेम्बरदेखि इराक युद्धसम्म विकास भएको विश्व परिस्थितिका आधारमा जनवादी क्रान्तिको रणनीतिमा विकास र परिमार्जन आवश्यक छ। यस सम्दर्भमा पार्टी, सेना, सत्ता र जनसमुदायको सम्बन्धबारे निम्न कुराहरु विशेष रुपले विचारणीय रहेका छन्।

१. पार्टी

२० औं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुद्वारा कुन कुरा निकै निर्मम ढङ्गले प्रदर्शित भएको छ भने राज्यसत्ता कब्जा गरी सकेपछिको अवस्थामा पार्टीको सर्वहारा वर्गीय क्रान्तिकारी चरित्रको रक्षा र विकास गर्ने काम असाधारण रुपले कठिन हुन जान्छ। क्रान्तिकालमा पार्टीभित्र र बाहिर दायाँ, बायाँ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारात्मक सङ्घर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितसँग एकाकार हुँदै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता र बलिदानका अद्भूत कीर्तिमान कायम गर्दै विजयी बनेका पार्टीहरु राज्यसत्ता कब्जा गरिसकेपछि तुलनात्मक रुपले सहजै र विश्वका सबै पार्टीहरु छोटै अवधिमा नोकरशाही, संशोधनवादी, जनताबाट अलगथलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे ? निश्चित नै महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउँदा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमावादले दिएको छ। तर, ती आधारभूत सिद्धान्तहरुले प्रतिक्रान्तिलाई रोक्ने गरी प्रयोग गर्ने सङ्गठनात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ। यो प्रश्न पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो।

अनुभवले सावित गरेको छ कि राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीका तमाम नेता तथा कार्यकर्ताहरु राज्यसत्ता सञ्चालनमा मात्र संलग्न हुँदा भौतिक परिवेशले नै पार्टीलाई क्रमशः नोकरशाही, पदलोलुप र सुविधासम्पन्न वर्गमा परिणत गर्ने खतरा तीव्र र प्रवल बनेर जान्छ। यस प्रकारको खतराको तीव्रता र प्रवलतासँगै पार्टीको जनसमुदायसँगको सम्बन्ध त्यही अनुपातमा औपचारिक र अलगथलग बन्दै जान्छ। यो प्रक्रिया आफ्नो विकासको एउटा निश्चित विन्दुमा पुगी सकेपछि त्यो अनिवार्य रुपमा प्रतिक्रान्तिमा बदलिन पुग्दछ। प्रतिक्रान्तिको यस्तो खतरालाई रोक्नका लागि दुई लाइन सङ्घर्ष र निरन्तर क्रान्तिको सिद्धान्तअनुसार पार्टीलाई सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा राख्ने सङ्गठनात्मक विधि र मान्यताको अझै विकास गर्न जरुरी छ। यसका लागि पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षमा व्यापक जनसमुदायको सहभागिता सुनिश्चित गर्ने तथा सक्षम र स्थापित नेताहरुदेखि कार्यकर्तासम्मको एउटा हिस्सा निरन्तर जनकार्यमा र अर्को हिस्सा सत्ता सञ्चालनमा लाग्ने तथा निश्चित अवधिको अन्तरमा कार्यविभाजनमा हेरफेर गरी सिङ्गो पार्टीको जनसमुदायसँगको सम्बन्धलाई सजीव राख्न विशेष आवश्यक छ।

प्रारम्भदेखि नै पार्टीले र उसको नेतृत्वअन्तर्गत राज्यसत्ताले जनसमुदायसँग घनिष्ट सम्बन्ध कायम गर्ने, दुख–कष्ट र फारोतिनो गर्ने सर्वहारा शैली अपनाउने तथा साम्यवादी उद्देश्यका निमित्त सम्पूर्ण रुपले समर्पित रहने, पार्टी, नेता र कार्यकर्ताहरुलाई प्रेरणा र आदर्शका रुपमा प्रस्तुत गर्ने तथा पदको दुरुपयोग गर्ने, जनसमुदायमाथि हैकम चलाउन खोज्ने, सुविधाभोगी एवं पदलोलुप प्रवृत्ति, नेता एवं कार्यकर्ताका विरुद्ध निर्मम विचारधारात्मक सङ्घर्षका साथै जनसमुदायमा नङ्गाउने नीति एवं संरचनाको विकास गर्न जोड लगाउनु पर्दछ। यस सन्दर्भमा पार्टीभित्र चल्ने दुई लाइन सङ्घर्षमा राज्यको बल प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने तथा सही र गलतको फैसला वैचारिक सङ्घर्षको बीचबाट आम कार्यकर्ता र जनसमुदायद्वारा गर्ने वैज्ञानिक विधिलाई प्रोत्साहित र स्थापित गर्न जोड लगाउनु पर्दछ। पार्टीभित्र र बाहिर निश्चित विद्रोह न्यायसङ्गत हो वा होइन भन्ने कुराको फैसला गर्ने अधिकार आम कार्यकर्ता र जनसमुदायमा रहने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ।

२. सेना

२० औं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुले कुन कुरालाई पनि स्पष्टसँग प्रदर्शित गर्‍यो भने सर्वहारा वर्गीय सही क्रान्तिकारी विचार, नीति र योजनाका आधारमा अगाडि बढ्दा करीब शून्यको स्थितिबाट जनसमुदायले दुश्मनको अत्याधुनिक र शक्तिशाली सेनालाई धुलोपिठो पार्न सक्ने अपराजय जनसेनाको विकास गर्न सक्दो रहेछ। तर, पार्टीमा गलत विचार हावी भएमा त्यही सेना प्रतिक्रान्तिको हतियार बन्न पुग्दो रहेछ। अनुभवले जनसेनाका सन्दर्भमा पनि के सावित गरेको छ भने क्रान्तिपूर्वको कमजोर र कठिन घडीमा त्याग, तपस्या, वीरता, बलिदान र वैचारिक निष्ठासहित जनसमुदायसँग एकाकार हुँदै दुश्मनका विरुद्धको युद्ध मोर्चामा अपराजय सावित हुने जनसेना राज्यसत्ता कब्जा भइसकेपछि क्रमशः ब्यारेकमा विशेष व्यवस्थाअन्तर्गत रहने वुर्जुवा आधुनिक नियमित सेना बन्ने प्रवृत्ति प्रवल हुँदै जाने भौतिक परिवेश बन्दछ। सर्वहारा वर्गीय विचार एवं जनसमुदायको निगरानी, नियन्त्रण र सेवामा रहने कुरालाई सुनिश्चित गर्ने विधि र संरचनाको विकास गर्न नसक्ने हो भने त्यो प्रवृत्ति झाङ्गिँदै गएर एउटा निश्चित विन्दुमा पुगेपछि सेना स्वाभाविक रुपले प्रतिक्रान्तिको सेवा गर्ने हतियारमा परिणत हुन पुग्दछ।

उपरोक्त स्थितिको पुनारावृत्ति हुनबाट रोक्नका लागि प्रारम्भदेखि नै जनसेनामा वैचारिक र राजनीतिक कामलाई सर्वाधिक महत्वका साथ सञ्चालन गर्ने र प्रतिक्रान्तिका विरुद्ध विद्रोहको चेतनाद्धारा सिङ्गो सैन्य पंक्ति एवं आम जनसमुदायलाई सुसज्जित पार्ने कुरामा जोड दिनु पर्दछ। यसका साथै २१ औं शताब्दीको जनसेना भनेको राज्यसत्ता कब्जा गरी सकेपछि निश्चित ब्यारेकमा बसेर विशेष तालीम र हतियारद्वारा आधुनिक बन्ने प्रक्रियामा होइन, आम जनसमुदायलाई नै सैनिकीकरण गर्ने तथा जनसमुदायकै सेवा गर्ने क्रान्तिकारी सम्वाहक बनिराख्ने कुरामा सुनिश्चित गर्नुपर्दछ। वैचारिक र भौतिक दुवै दृष्टिले सशस्त्र जनसमुदायको विकास गरेर मात्र वैदेशिक प्रतिक्रियावादी हस्तक्षेपको प्रतिरोध गर्न एवं प्रतिक्रान्तिलाई रोक्न सकिन्छ भन्ने कुरामा अहिलेदेखि नै सैन्य पंक्तिमा स्पष्ट दृष्टिकोण विकास गर्न जोड लगाउनुपर्दछ। विद्रोहको अधिकार प्रयोग गर्न सचेत सशस्त्र जनसमुदायको विकास गर्ने ऐतिहासिक दायित्व पुरा गर्ने कार्यभार नै २१ औं शताब्दीको जनसेनाको प्रमूख कार्यभार हुनुपर्दछ।

३. राज्यसत्ताबारे

सर्वहारा वर्गको राजनीतिक पार्टीको नेतृत्वमा जनयुद्धद्धारा राज्यसत्ता कब्जा गर्ने क्रान्तिको केन्द्रीय प्रश्न हिजो र आज पनि महान् र कष्टसाध्य प्रश्न अवश्य रहेको छ। तर, २० औं शताब्दीका अनुभवहरुले स्पष्ट गरेका छन् कि राज्यसत्ता कब्जा गर्ने प्रश्न भन्दा पनि राज्यसत्ताको निरन्तर जनवादीकरण गर्दै त्यसको विलोपीकरणतिर डोर्‍याउने प्रश्न अझ हजारौं गुणा कठिन र जटिल हुने गर्दछ। एकै शताब्दीमा विश्व थर्काउँदै रुस, चीन लगायतका देशमा भएका महान् क्रान्तिहरुको सफलता एवं शक्तिशाली विश्व समाजवादी कित्ताको विकास र भयानक प्रतिक्रान्तिका घटनाक्रमहरु हुँदै विश्वमा एउटा पनि समाजवादी सत्ता बाँकी नरहेको यथार्थले विषयको महत्व र गाम्भिर्यतालाई दर्साउँछन्।

आखिर पूँजीवादी साम्राज्यवादले आफ्नो सैन्य फासिवादी सारतत्वलाई तथाकथित प्रजातन्त्रको नकाबले ढाकेर विश्व जनमतलाई भ्रमित पार्न सफल हुनु तथा सर्वहारा वर्गको आफ्नो जनवादी सारतत्वका बावजुद राज्यसत्तामा आफ्नो पकड मजबुत गर्न नसक्नुका तमाम ऐतिहासिक र सैद्धान्तिक कारणका बावजुद आज हाम्रो अगाडि जनवादको विकासको समस्या एउटा ज्वलन्त समस्या बनेर खडा भएको छ। पराजित वर्ग दुश्मनका विरुद्ध अधिनायकत्वको आवश्यकता र जनताको जनवादको अभ्यासको आवश्यकताका बीचमा समुचित सन्तुलन कायम गर्ने सन्दर्भका प्रमूख समस्याहरु के हुन् ? जनताको जनवादी अधिनायकत्व वा सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत जनताको जनवाद वा सर्वहारा जनवाद वस्तुतः औपचारिक, यान्त्रिक र सङ्कीर्ण किन हुन पुग्यो ? यहाँ हाम्रो प्रश्न विश्वका तमाम रुप–रङ्गका संशोधनवादी र विसर्जनवादीहरुले उठाउने गरेको जनताको जनवादी अभिनायकत्व वा सर्वहारा वर्गको अधिनायकत्वको विरोध गरेर बुर्जुवाहरुको औपचारिक प्रजातन्त्रमा फस्ने गद्दारीसँग कुनै सम्बन्ध छैन।

हाम्रो प्रश्न यहाँ निरन्तर क्रान्तिको प्रवाह सङ्गठित गर्ने संस्थाका रुपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रित छ। आखिर राज्यसत्ताको व्यापक र सजीव जनवादीकरणको प्रक्रियामा नै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुदृढ हुन सक्दछ। जनवादी केन्द्रियताको महान् वैज्ञानिक सिद्धान्तको योभन्दा अर्को अर्थ हुनै सक्तैन। राज्यसत्ता कब्जा गर्नुपूर्वसम्म जनवादी केन्द्रियताको सही अभ्यास गरेर राज्यसत्ता कब्जा गर्न सफल हुने पार्टीहरु पछि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रियताको शिकार हुन पुगे ? पार्टीभित्र संशोधनवाद हावी भएकाले भन्ने तर्क मात्रले यसको पुरा उत्तर दिँदैन। आखिर द्वन्दात्मक भौतिकवादको प्रयोगमा मार्क्सवादीहरुद्धारा भएको यो वा त्यो रुपका कमजारी पनि यसमा जिम्मेवार छन्।

एउटा निश्चित देश, काल र परिस्थितिमा सर्वहारावादी क्रान्तिकारी रहेको पार्टी र जनवादी वा समाजवादी रहेको राज्यसत्तामा अर्को देश, काल परिस्थितिमा प्रतिक्रान्तिमा परिणत हुन सक्दछ। त्यो अवस्थामा जनसमुदाय र क्रान्तिकारीहरुले विद्रोह गर्नुपर्दछ भने महान् सर्वहारा सांस्कृतिक क्रान्तिको संश्लेषण आफ्नो ठाउँमा पुरै सही रहेको कुरा स्पष्ट नै छ। तर, एकपटक एक निश्चित कम्युनिष्ट पार्टीको नेतृत्वमा जनवादी वा समाजवादी राज्यसत्ता स्थापित भइसके सो पार्टी सधैं सर्वहारावादी भइराख्छ भनेझैं त्यसका विरुद्ध राजनीतिक रुपले जनसमुदायद्धारा स्वतन्त्र रुपमा जनवादी वा समाजवादी प्रतिस्पर्धा गर्ने वातावरण नहुनु, नबनाउनु वा त्यसमाथि प्रतिबन्ध लगाइनुले एकातिर, सत्तासीन पार्टीले जनसमुदायका बीचमा कसैसँग राजनीतिक प्रतिस्पर्धा गर्नु नपर्ने हुँदा त्यो क्रमशः विशेष सुविधासम्पन्न यान्त्रिक नोकरशाही पार्टी र त्यसको नेतृत्वको राज्यसत्ता पनि क्रमशः यान्त्रिक र नोकरशाही मेशिनरीमा परिणत हुने तथा अर्कातिर जनसमुदाय औपचारिक जनवादको शिकार भएर क्रमशः उसको असिमित सिर्जनशीलता र गतिशीलताको उर्जा कुण्ठित हुन जाने खतरा इतिहासमा स्पष्ट देखा पर्ने गरेको छ। उपरोक्त समस्या समाधानका लागि निरन्तर क्रान्तिको सिद्धान्तअनुसार राज्यसत्तामा जनसमुदायको नियन्त्रण निगरानी र हस्तक्षेपको प्रक्रियालाई सजीव र वैज्ञानिक ढङ्गले सङ्गठित गर्ने आवश्यकतामा जोड दिइनुपर्दछ। यहाँ फेरि पनि प्रश्न दुश्मनका विरुद्ध अधिनायकत्वको प्रभावकारिता जनसमुदायको जनवादको अभ्यासको प्रभावकारितामा निरर्भर रहने वैज्ञानिक तत्थलाई द्वन्दात्मक ढङ्गले सङ्गठित गर्ने प्रश्न नै हो।

यसका लागि सामन्तवाद र साम्राज्यवाद विरोधी जनवादी राज्यसत्ताको संवैधानिक सीमाभित्र राजनीतिक प्रतिस्पर्धा सङ्गठित गरी कम्युनिष्ट पार्टीको निरन्तर सर्वहाराकरण र क्रान्तिकारीकरण अनिवार्य हुने परिस्थिति निर्माण गरिनुपर्दछ। यदि पार्टीले आफैलाई निरन्तर क्रान्तिकारीकरण गर्न नसके त्यसको खिलाफमा अर्को क्रान्तिकारी पार्टी वा नेतृत्वलाई राज्यसत्तामा पुर्‍याउन सक्ने जनसमुदायको अधिकारलाई संस्थागत गरेर मात्र प्रतिक्रान्तिलाई प्रभावकारी ढङ्गले रोक्न सकिने छ। सामन्तवाद र साम्राज्यवाद विरोधी विभिन्न राजनीतिक दल, सङ्घ, संस्था, जसले जनवादी राज्यसत्ताको सवैधानिक व्यवस्थालाई स्वीकार गर्दछन्, उनीहरुका बीचमा कम्युनिष्ट पार्टीलाई सहयोग मात्र गर्नुपर्ने यान्त्रिक सम्बन्धमा होइन, जनताको सेवामा जनवादी राजनीतिक प्रतिस्पर्धा गर्ने द्वन्दात्मक सम्बन्धमा जोड दिइनुपर्दछ। स्पष्ट छ कि यो प्रक्रियामा यदि कसैले जनवादी राज्यसत्ताद्वारा वैधानिक रुपले निर्धारित सीमाको अतिक्रमण गरेमा उसमाथि जनवादी अधिनायकत्व लागू हुनेछ।

एकपटक राज्यसत्ता कब्जा गरिसकेपछि पार्टीले नेतृत्वको हैसियत सावित गर्न आफ्नो विचारको सहीपना, जनसमुदायका हितहरुसँग एकाकार हुने आवश्यकता, त्याग, तपस्या र बलिदान एवं वर्ग र जनताप्रतिको निष्ठा सावित गरिरहन नपर्ने स्थितिको प्रारम्भदेखि नै अन्त्य गर्न जोड दिइनुपर्दछ। राज्यसत्तामा विचार र नेतृत्वको केन्द्रीकरणले जनसमुदायको स्वनिर्णयको अधिकार कटौती गर्ने स्थिति आउन नदिने कुरामा विशेष ध्यान दिनुपर्दछ।

नेपालको जनवादी क्रान्तिका सन्र्दभमा हामीले वर्गीय, जातीय, क्षेत्रीय एवं लिङ्गीय उत्पीडनबाट जनसमुदायको मुक्तिको कुरा गरिरहेको छौं। आत्मनिर्णयको अधिकारसहित जातीय र क्षेत्रीय स्वशासनका कुरा गरेका छौं। साथै सामन्तवाद र साम्राज्यवाद विरोधी पार्टी स्वतन्त्रताको कुरा पनि गरिरहेका छौं। त्यो अवस्थामा राज्यसत्ताको निरन्तर जनवादीकरणका लागि जनसमुदायको स्वनिर्णयको अधिकारलाई सजीव रुपले सङ्गठित गर्ने कुरामा जोड दिनुपर्दछ। यसरी पार्टी, सेना र राज्यसत्ताको उपरोक्त प्रकारको समुचित विकासमा नै २१ औं शताब्दीको जनवादले निरन्तर क्रान्तिको प्रक्रियालाई अगाडि बढाएर प्रतिक्रान्तिलाई रोक्न सक्ने छ।

(तत्कालिन नेकपा (माओवादी) को २०६० जेठमा सम्पन्न केन्द्रीय समितिको बैठकमा पारित प्रस्ताव ।)

Comments
Loading...
You might also like