कोभिड–१९ र विश्व व्यवस्थाकाे नयाँ गन्तव्य

manahari timilsina
अन्धराष्ट्रवादको नारा विश्वव्यापी रुपमा यति लोकप्रिय बन्दै गएको छ कि त्यो एकदिन संरक्षणवादमा पुग्ने रफ्तारमा कुदिरहेको छ। पूँजीवादी अर्थव्यवस्थामा आएको यो बिकराल परिस्थितिबाट समाजवादीहरुले पर्याप्त लाभ लिनसक्ने र बैकल्पिक शासन प्रणालीको जग बसाल्न सक्ने सम्भावना बढेर गएको छ।
  • 4.6K
    Shares

मनहरि तिमिल्सिना

कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि विश्वको सम्पूर्ण ध्यान अप्रत्याशित महामारीको दुश्चक्रबाट उन्मुक्तिको लडाइँमा छ। कोरोनाको उद्गमस्थल मानिएको चीन महामारीपछि जनजीवन र अर्थतन्त्र तङ्ग्राउने कोशिसमा छ। यूरोप र अमेरिकी देशहरु कोभिड–१९ विरुद्ध जीवन मरणको लडाइँमा छन्। साना, अल्पविकसित र विकासशील मुलूकहरु सम्भावित जोखिमको त्रासदीपूर्ण स्थितिको पूर्वानुमानसहित पूर्वतयारीको उत्कर्षमा छन्।

एसियाली मुलूकहरु कोरोना भाइरसको प्रकोपबाट कम प्रभावित मुलूकको सूचिमा दर्ज भएका छन्। यद्यपि, उनीहरुको गौरव कायमै रहन्छ वा अप्रत्याशित संक्रमणका कारण क्षणभरमै धुलिसात हुन्छ ? यसबारे कुनै पनि वैज्ञानिक वा विश्लेषकले पूर्वानुमान गर्नसक्ने अवस्था छैन। किनकि, कोभिड–१९ विरुद्ध औषधी, भ्याक्सिन वा कुनै उपचार पद्धति पत्ता लागिनसकेका कारण कम प्रभावित भनिएका कुनै पनि मुलूक क्षणभरमै महामारीको भूमरिमा फस्ने खतरा रहन्छ। तेस्रो विश्वका मुलूकहरु त्यो खतराको उच्च जोखिममा छन्।

कोभिड–१९ महामारीको लडाइँमा विश्वले तीनथरि चिन्ता जाहेर गर्न थालेको छ। जसले महामारी व्यहोरिसके, कोरोनाको त्रासदीपूर्ण लडाइँमा विजयी भएर पूरानै लयमा फर्किने क्रममा छन्, ती मुलूकहरु देशको आर्थिक सामाजिक क्षतिको शोधभर्नाको चक्करमा छन्। कोभिड–१९ को औषधी पत्ता लगाएर अर्थतन्त्रलाई पूरानै लयमा फर्काउने कोशिस जारी छ। जुन मुलूकहरु महामारीको संक्रमणमा छन्, तिनीहरु जोखिमबाट उम्किने एकमात्रै प्रयत्नमा छन्। जुन मुलूकहरुमा महामारीको प्रभाव कम देखिन्छ, तिनीहरु आसन्न महामारीबाट बच्ने उपायको खोजी अविराम जाग्राम छन्।

तर, महामारीको तीन चरणमा रहेका मुलूकमध्ये कुनै पनि मुलूकले मानव जातिको भोलिको भविष्यबारे गहिरो चिन्ता लिएको देखिँदैन। बरु, कोरोनाको सम्भावित महामारी रोक्ने, महामारीको त्रासदीपूर्ण परिस्थितिबाट मुक्त हुने र कोरोनाको औषधी पत्ता लगाएर बेच्ने प्रतिस्पर्धामा सिंगो विश्व देखिएको छ। तर, यो दीर्घजीवी समाधान होइन। कोभिड–१९ महामारीको प्राकृतिक कारणको खोजी र त्यसको समाधानबारे विचार नगरी महामारीबाट मुक्ति मिल्दैमा मानव जातिको सुदूर भविष्य सुरक्षित रहँदैन। यस अर्थ, विश्व समुदायले निम्न तथ्यमाथि हेक्का राख्न जरुरी छ।

(१) सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक चीनमा देखिएको र जनवरी १० मा पहिलोपटक मानिसको ज्यान लिएको कोरोना भाइरसबाट आजसम्म झण्डै १८ लाख मानिस संक्रमित छन्, १ लाख ८ हजारको ज्यान गएको छ, विश्वको झण्डै ९० प्रतिशत जनसंख्या महामारीको त्रासमा छ। तर, कोरोना महामारीबाट समाजवादी र समाजवादी भनिएका मुलूकहरु कम प्रभावित छन्। हालसम्म चीनमा ३३३९, क्युवामा १६ र भेनेजुयला ९ जनाको मृत्यु भएको छ। समाजवादी मुलूक भियतनाम, लाओस र उत्तर कोरियामा नागरिकको ज्याान गएको छैन। यी मुलूकहरु कोभिड–१९ को लक्षण पहिला नै देखिए पनि पूर्वतयारी र उच्च सतर्कताका कारण महामारीको संक्रमणबाट जोगिए।

(२) कोभिड–१९ को महामारीबाट पूँजीवादी देशहरु बढी प्रताडित छन्। पछिल्लो महिना मात्र संक्रमण देखिएका मुलूकहरु अहिले महामारीबाट उठ्नै नसक्ने गरी थलिएका छन्। महामारीको सम्भावित जोखिमप्रति नजरअन्दाज र दुस्साहसका कारण ती मुलूकहरु भविष्यकै अनुमान गर्न नसकिने परिस्थिति देखिँदैछ। हालसम्म अमेरिकामा २०५७७, स्पेन १६६०६, इटाली १९४६८, फ्रान्स १३८३२, बेलायत ९८७५, जर्मनी २८७१, इरान ४३५७, बेल्जियम ३३४६ को मृत्यु भइसकेको छ। यीबाहेक अधिकांश अमेरिकी र यूरोपियन देशहरुमा मर्नेहरुको संख्या ज्यामितीय आकारमा बढिरहेको छ। यो यहीँनेर रोकिने छाँटकाँट देखिँदैन।

(३) कोभिड–१९ रोगका दृष्टिले मानव जातिका लागि नयाँ भए पनि महामारीका दृष्टिले नयाँ होइन। यसअघि मानव जातिले झण्डै दर्जनजति महामारी झेलेको छ, २ ठूला विश्वयुद्धसँग खेलेको छ। विश्वमा सन् १६५–१८ मा फैलिएको एन्टोनिन प्लेगबाट पचास लाख, सन् ५४१ देखि फैलिएको बुबोनिक जस्टिनियन प्लेगबाट २ करोड ५० लाखदेखि ५ करोड, सन् १३४६–५३ मा फैलिएको बुबोनिक प्लेगबाट ७ करोड ५० लाखदेखि २० करोड, सन् १८५२–६० सम्म फैलिएको हैजा महामारीबाट १० लाख, सन् १८८९ बाट देखिएको इन्फ्लुएन्जाको कारण १० लाख, सन् १९१० बाट देखिएको हैजाका कारण ८ लाख, सन् १९१८–२० सम्म देखिएको फ्लू महामारीबाट २ देखि ५ करोड, सन् १९५६–५८ सम्म फैलिएको एसियन फ्लू महामारीबाट झण्डै २० लाख, सन् १९६८ मा विश्वभरि फैलिएको फ्लू महामारीबाट १० लाख र सन् २००५ मा देखिएको एड्सबाट ३ करोड ६० लाख मानिसको मृत्यु भएको विभिन्न स्रोतहरुले दावी गरेका छन्। त्यसैगरि सन् १९१४–१८ को पहिलो विश्वयुद्धमा २ करोड १८ लाख र सन् १९३९–४५ को दोस्रो विश्वयुद्धमा ८ करोड ५० लाख नागरिकको ज्यान गएको अनुमान गरिएको छ। यद्यपि, महामारी र विश्वयुद्धमा यति नै मानिस मारिए भन्ने यकिन तथ्यांक विश्वसामू छैन।

(४) भनिन्छ, ‘बिपत्ति वा महामारीले धनी–गरीब, सानो–ठूलो भन्दैन। यसले मानव जातिलाई समान रुपले प्रभावित गर्दछ।’ महामारी वा बिपत्ति कुनै जाति, क्षेत्र र वर्गविशेषलाई लक्षित गरेर आउँँदैन, यो साँचो कुरा हो। तर, महामारीले सबैलाई समान रुपमा प्रभावित चाहिँ गर्दैन। सम्भ्रान्त वर्गका मानिसहरु त्यतिबेलासम्म महामारीको प्रकोपमा पर्छन्, जतिबेलासम्म महामारीको उपचार पद्धति पत्ता लाग्दैन। तर, बिपन्न वर्गका मानिसका लागि प्रकृतिले अविराम महामारीको त्रास थोपरिदिएको छ। विश्वमा देखिएका सबै महामारीबाट अत्यधिक संख्यामा गरीबहरुकै ज्यान गएको छ। किनकि, जसको झुपडी हुन्छ, त्यो बाढीको उच्च जोखिममा हुन्छ, जो कुपोषित हुन्छ, त्यससँग रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जो गरीब हुन्छ, उसले पौष्टिक आहार, पर्याप्त आराम र सरसफाइ चाहेर पनि गर्न सक्दैन। तसर्थ, यो मानव चेतना र सभ्यताको मात्र सवाल नभएर मानिसको वर्गीय धरातल र जीवन पद्धतिको सवाल पनि हो।

(५) आज पनि विश्वमा झण्डै एक अरब नागरिक बजारका महंगा लुगा आँखाले हेर्छन्। तर, धारण गर्न पाउँदैनन्। ती नागरिकले नाकले खानेकुराको वास्ना सुँघ्ने अधिकार राख्छन्। तर, पेटभरि खाने अधिकार राख्दैनन्। तिनीहरुले श्रममार्फत् खरबौं रकम मुनाफा मनाउँछन्। तर, त्यसको उपभोग गर्न पाउँदैनन्। उपभोग गर्ने वर्ग अर्कै छ। विश्वविख्यात क्रान्तिकारी चे–ग्वेभाराले भनेझैं ‘मानिसहरुको रोगको मुहान गरीबी हो। गरीब मानिससँग उन्नत चेतना भएर पनि रोग, बिपत्ति र महामारीसँग लड्ने स्रोत साधनको सामर्थ्य हुँदैन। राजनीतिक प्रणालीकै समानताद्वारा मात्र यस्तो चुनौतीबाट मुक्ति मिल्छ।’ तसर्थ, धनीले बिपत्ति र महामारीबाट क्षणिक दुख पाउँछ, त्यो पनि उसकै ज्यादतीका कारण। तर, गरीब र बिपन्नका लागि प्रकृति नै बिपत्तिको अनन्त सागर हो। हामीले ‘बिपत्ति र महामारी सबैका लागि समान’ भनिरहँदा धरातलीय यथार्थ भुल्नु हुँदैन।

(६) आजको युग साम्राज्यवादी युग हो। साम्राज्यवादले आफ्नो मरणासन्न आर्थिक, राजनीतिक प्रणालीलाई धान्न ‘नवउदारवादको टेको’ लगाएको छ। साम्राज्यवादको सम्पूर्ण ध्यान विश्वको साधन स्रोत आफ्नो कब्जामा राख्न, त्यसबाट अधिक नाफा निकाल्न र त्यो नाफा अभिजात वर्गको सुखसयलमा खर्चिन केन्द्रीत छ। विश्वका १० धनी मानिससँग पृथ्वीको २० प्रतिशतभन्दा बढी सम्पत्ति रहेको तथ्यांकले बताउँछ। हाल विश्वका प्रमूख १० धनी व्यक्ति जेफ बेजोस (अमेरिका) सँग १४९.७ बिलियन, बिल गेट्स (अमेरिका) सँग ९९.६ बिलियन, बर्नार्ड आर्नल्ट (फ्रान्स) सँग ८६ बिलियन, वारेन बफेट (अमेरिका) सँग ८५.४ बिलियन, अमानसियो ओर्टेगा (स्पेन) सँग ६७.७ बिलियन, मार्क जुकरवर्ग (अमेरिका) सँग ६७.४ बिलियन, ल्यारी एलिसन (अमेरिका) सँग ६४.६ बिलियन, कार्लस स्लिम (मेक्सिको) सँग ६१ बिलियन, माइकल ब्लुमवर्ग (अमेरिका) सँग ५९.८ बिलियन, मुकेश अम्बानी (भारत) सँग ५८.४ बिलियन अमेरिकी डलर सम्पत्ति छ। तथ्यांकले भन्छ, ‘विश्वका ३२ जना धनाढ्यसँग अफ्रिकाका पूरै मानिससँग भन्दा बढी सम्पत्ति छ। विश्वका २ हजार मानिससँग विश्वका पौने पाँच अर्ब मानिसको भन्दा बढी सम्पत्ति छ।’ तथ्यांकको स्पष्ट निष्कर्ष छ, ‘नवउदारवादको बैसाखी टेकेर विश्वमा साम्राज्यवाद टिक्न धेरै चुनौतीपूर्ण छ। विश्वले यसको बिकल्प खोज्छ।’

(७) पूँजीवाद त्यस्तो शासन प्रणाली हो, जसले मानव जातिको भविष्य हेर्दैन। यसले सीमित पूँजीपति वर्गको सेवाका निम्ति मानव जातिको भविष्य बलि चढाउन तयार हुन्छ। मुनाफा यसको अन्तिम लक्ष्य हो। नाफा कमाउनका लागि पूँजीवादले जस्तोसुकै कूकर्म गर्न पनि पछि पर्दैन। साम्राज्यवाद अहिले विश्वबजारमा हतियारको व्यापार गर्न केन्द्रीत छ। हाल रुससँग ७ हजार, अमेरिकासँग ६ हजार ८ सय, फ्रान्ससँग ३ सय, चीनसँग २६०, बेलायतसँग २१५, पाकिस्तानसँग १४०, भारतसँग १२०, इजरायलसँग ८०, उत्तर कोरियासँग ८ वटा आणविक हतियार रहेको बिजनेस इनसाइडरको दावी छ। अमेरिका, फ्रान्स, रुस लगायतका देशहरु आणविक हतियारका साथै अन्य अत्याधुनिक हतियार उत्पादन गरी अन्तरदेशीय युद्ध चलेका देशहरुमा निर्यात गर्दै आएका छन्। अमेरिका आफूसँग ७ हजार आणविक हतियार राखेर उत्तर कोरियाका ८ वटा आणविक हतियार निस्क्रिय गर्न संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मञ्चहरुमा रोइकराई गरिरहेको छ। अनि, सारा विश्व अमेरिकाको लाचार छायाँ बनेर उत्तर कोरियालाई अधिनायकवादी मुलूकको सूचिमा दर्ज गरेको छ। यसरी हेर्दा कोभिड–१९ को महामारीपछि हतियार बेचेर नाफा कुम्ल्याउने साम्राज्यवादी सपनामाथि पनि ठूलै धक्का लाग्ने निश्चित छ। विनासकारी हतियारको उत्पादन र प्रयोग, अनुत्पादक क्षेत्रमा अर्थतन्त्रको ठूलो हिस्साको प्रयोग र विशाक्त ग्यासहरुको उत्पादन मानव जातिका लागि ठूलो चुनौती बनेर उभिएको छ।

(८) आदिम युगमा मानिस अधिक मांसाहारी थियो। शिकार खेल्नु उसको दैनिकी हुन्थ्यो। खेतीपातीको युग प्रारम्भ भएको थिएन। शिकार र कन्दमूल नै जीवन धान्ने आधार थिए। तर, पृथ्वीमा मानिसको जनसंख्या ज्यादै कम थियो। कम जनसंख्याका कारण मानिस मांसाहारी हुँदासमेत अन्य जीवजन्तु र बनस्पतिको जीवनचक्रमा खास नकारात्मक प्रभाव थिएन। तर, अहिले परिस्थिति फेरिएको छ। मानिसले प्रकृतिको बेहिसाब दोहन गर्न थालेको छ। प्राकृतिक सम्पदा, बन जंगल, खनिज, पानी सबैमाथि एकछत्र आक्रमण गरिरहेको छ। समुन्द्रका किरासमेत नछोड्ने मानिसले सबै प्राणीको जीवन जोखिममा पारिदिएको छ। मानिसकै कारण ओजन तह पातलिँदै छ, पराबैजनी किरणले विभिन्न व्याधी निम्त्याइरहेको छ, पृथ्वीमा नयाँ–नयाँ विशाक्त ग्यासको आयतन बढ्दै गएको छ। यसले मानिस मात्र होइन, पृथ्वीका सबै प्राणी र वनस्पति संकटमा छन्। मानिसको ज्यादतीलाई रोकेर पृथ्वीलाई आफ्नै लयमा चलाउनु प्रकृतिको नियम हो। न पूँजीवादले यसलाई जित्न सक्छ, न समाजवादले नकार्न सक्छ। मानिसले प्रकृतिका नियमअनुसार आफूलाई विकसित गर्न सक्छ। तर, प्रकृतिका नियमहरुको उल्लंघन गर्न सक्दैन। कोभिड–१९ को महामारी पनि यसकै प्रतिविम्ब हुन सक्छ।

(९) विश्व राजनीति र पारिस्थितिक प्रणाली संरक्षणको जिम्मेवारी ठूला र विकसित मुलूकहरुमा बढी निर्भर गर्दछ। विश्वमा भूगोलका हिसाबले रुस, क्यानडा, अमेरिका, चीन, ब्राजिल, अस्ट्रेलिया, भारत, अर्जेन्टिना, काजाकिस्तान, अल्जेरिया आदि ठूला देशभित्र पर्दछन्। उच्च जनसंख्याका हिसाबले चीन, भारत, अमेरिका, इण्डोनेसिया, पाकिस्तान, ब्राजिल, नाइजेरिया, बंगलादेश, रसिया, मेक्सिको लगायतका देशहरु छन्। सैन्य शक्तिका दृष्टिले अघि भएका अमेरिका, चीन, रसिया, बेलायत, जर्मनी, फ्रान्स, इटाली लगायतका देश महाशक्ति मानिन्छन्। प्रतिव्यक्ति आयका दृष्टिले कतार, मकाओ, लक्जेम्वर्ग, सिंगापुर, ब्रुनाई, आयरल्याण्ड, अरब, कुवेत, स्वीजरल्याण्ड, सानमारियो लगायतका देशहरु अगाडि भए पनि भूगोल, जनसंख्या र शैन्य शक्ति नभएका कारण यिनीहरुको कुरा विश्व रंगमञ्चमा खास सुनिँँदैन। यसरी हेर्दा विश्वलाई प्राकृतिक सन्तुलन र विकासको बाटोमा लैजाने वा विनासको बाटोमा ? त्यो कुरा यी शक्तिराष्ट्रकै नीति, योजना र व्यवहारमा निर्भर रहन्छ।

(१०) प्रकृति विज्ञानलाई इकोलोजी भनिन्छ। सबै जनावर र बोटबिरुवाहरू, विशेष गरी मानवहरू, जीवित वर्गका हुन्। यी सबै प्राणीहरूलाई बाँच्नका लागि वातावरणको आवश्यकता पर्दछ। प्रकाश, हावा, पानी र माटो उपयुक्त वातावरणीय अवस्था हुनुपर्दछ। यी आवश्यकताहरू सबै जीवित चीजहरूका लागि अत्यन्त महत्त्वपूर्ण हुन्छन्। पारिस्थितिक प्रणालीमा सबै जीवित चीजहरू एक अर्कासँग सम्पर्कमा छन्। जीवित चीजहरूबीचको सम्बन्ध जीवनको निरन्तरताका लागि धेरै महत्त्वपूर्ण छ। पारिस्थितिक प्रणाली बिग्रिँदा प्राकृतिक संसाधनहरूको खण्डन, वातावरणीय प्रदूषण, उच्च तापमान र हिम नदीहरूको क्षयीकरण, समुन्द्री आँधी, बाढी पहिरो, महामारी आदि बिपत्तिहरु आउँछन्। तर, विश्व समुदायले यसलाई शास्त्रीय अध्ययनका अर्थमा त लिएको छ। तर, व्यवहारिक प्रयोगका सन्दर्भमा भने जिम्मेवारी अर्को मुलूकको थाप्लोमा हालेर आफू बेलगाम मुनाफाको दुष्चक्रमा कुदिरहेको छ। आजको कोभिड–१९ पनि त्यसैको एउटा रुपमात्र हो।

(११) वैज्ञानिकहरुको अनुसन्धानअनुसार विश्वमा ८७ लाख जति जीवजन्तु भएको अनुमान छ। त्यसैगरि रोयल बोटानिक गार्डेन, केयुको रिपोर्टअनुसार विश्वमा ३,९१,००० प्रजातिका भास्कुलर बोटविरुवामध्ये ३६९००० फूल फुल्ने बोटविरुवाहरु छन्। यी जीवजन्तु र वनस्पतिहरुको जीवनचक्र एक–अर्कासँग अविछिन्न रुपले गाँसिएको छ। तर, पृथ्वीको एउटा जीव मानिसले यति धेरै जीव र वनस्पतिको जीवन जोखिममा पारिदिएको छ कि पृथ्वीले यथोचित कदम नचाली मानिस स्वविवेकले गल्ती सच्चाउन तयार छैन। यस अर्थमा पनि पृथ्वीमा बेलाबेला ठूला बिपत्तिहरु आउँछन्। मान्छे तत्काल बिपत्तिबाट त उम्किन्छ। तर, जोखिमको दीर्घजीवी उपायमा चुक्दै आएको छ।

(१२) जीव विज्ञानका पिता चार्ल्स डार्बिनका अनुसार ‘प्रतिकूल परिस्थितिमा अनकुलन खोज्नसक्ने जीवले मात्र आफ्नो अस्तित्व राख्न सक्छ। जसले प्रतिकूलतासँग सङ्घर्ष गर्न सक्दैन, त्यो जीव बिलुप्त भएर जान्छ। मानिससहित सबै जीवमा यही प्रक्रिया र नियम लागू हुन्छ। सन् १८५९ मा प्रकाशित उनको पुस्तक ‘ओरिजिन अफ स्पिसिज’को निष्कर्ष छ, ‘प्रकृतिमा विभिन्न प्रकारका जीवहरु अस्तित्वमा छन्, त्यसमध्ये मानिस पनि एउटा जीव हो। जसले खाना खान्छ, शत्रुका विरुद्ध सङ्घर्ष गर्छ, श्वास लिन्छ, जो सङ्घर्षशील रहन्छ, जो मात्र बाँच्दछ। जसले त्यस्तो गर्न सक्दैन, त्यो नष्ट हुन्छ।’ पृथ्वीमा डाइनोसर लगायतका ठूला जीवहरु छिटै लोप हुनुको कारण पनि भद्दा शरीर, आहाराको कमी, जोखिम छल्नसक्ने क्षमताको अभाव, शत्रुसँग लुक्ने सम्भावनाको अभावजस्ता कारण रहेको वैज्ञानिक निष्कर्ष छ। त्यो जोखिममा मानिस पनि छ।

(१३) विश्वव्यापी रुपमा बहस र पाठ्यक्रममा समेत समावेश गरिएको विषय हो जलवायु अनुकूलन। तर, यो साम्राज्यवादी नारा हो। जलवायु अनुकूलन भनेको त्यो हो, जहाँ तापमान बढेपछि त्यसबाट बच्ने जुक्ति खोजिन्छ। मुस्ताङमा स्याउलाई चाहिने चिस्यान घटेपछि अर्कै प्रजातिको स्यालको बिउ उत्पादन गरिन्छ। तर, प्रकृतिको संरक्षण त्यो हो, जसले तापमान बढ्नै दिँदैन। पृथ्वीको पारिस्थितिक प्रणालीलाई आफ्नै बहावमा चल्न दिन्छ। समाजवादीहरुले कुन बाटो रोज्ने ? रोग लागेपछि उपचार गर्ने कि रोग लाग्नबाट बच्ने ? रोगै लाग्न नदिनु अर्थात् तापमान बढ्नै नदिनु मात्र मानव जाति र प्रकृतिको संरक्षणका लागि समाजवादीहरुको नारा हुनुपर्छ। यस दिशामा नयाँ शिराबाट बहस आवश्यक छ।

(१४) दोस्रो विश्वयुद्धपछि विश्व शान्तिका नाममा स्थापित संयुक्त राष्ट्रसंघ अहिले शक्तिराष्ट्रको आश्रित अंग बन्न पुगेको छ। सारा विश्वले अमेरिका भनेकै संयुक्त राष्ट्र संघ, संयुक्त राष्ट्रसंघ भनेकै ‘नाटो गठबन्धन’जस्तो अनुभूति गरिरहेको छ। ‘विश्व स्वास्थ्य संगठनले अमेरिकाको पैसा लगेर चीनको काम गरिरहेछ’ भन्ने डोनाल्ड ट्रम्पको हालैको अभिव्यक्ति त्यही प्रभुत्ववादको दृष्टान्त हो। विकसित मुलूकहरुले बेहिसाब औद्योगिकीकरण गर्ने, वायुमण्डल दूषित पार्ने तर, साना मुलूकहरुले हरित क्रान्तिमार्फत् ती देशको पर्यावरण सन्तुलित गरिदिनुपर्ने ज्यादती विश्वले भोगिरहेको छ। सन् २०१० मा ‘हरित जलवायु कोष’ (जीसीएफ) स्थापना भएको थियो। जसअन्तर्गत् कूल कार्बन व्यापारको २ प्रतिशतले हुने रकम हरेक देशले सो कोषमा राख्नैपर्ने प्रावधान रहेको छ। तर, साना र गरीब राष्ट्रहरुले कार्बन उत्सर्जन नियमन गरेवापत् पाउनुपर्ने रोयल्टी पाएका छैनन्। यसले ‘सानालाई ऐन, ठूलालाई चैन’को बिडम्वना चरितार्थ गर्दछ।

(१५) विश्वमा असंलग्न आन्दोलन अन्तर्राष्ट्रिय संगठन (देशहरुको समूह) छ, त्यो ‘नाम’का रुपमा चिनिन्छ। जो आधिकारिक रुपमा कुनै पनि समूहमा संगठित हुन चाहँदैनन् वा कुनै पावर ब्लकको विरुद्धमा पनि लाग्न मान्दैनन्। सन् २०१८ को पछिल्लो तथ्यांकअनुसार यो संगठनमा १२५ सदस्य र २५ अब्जर्भर राष्ट्र पुगिसकेका छन्। नेपाल पनि त्यसको सदस्य राष्ट्र हो। यी राष्ट्रहरुबीच एकता र सहकार्यका बलमा मानव जातिको हितार्थ संयुक्त राष्ट्रसंघमा पर्यावरण संरक्षण र तेस्रो विश्वले झेलेका चुनौतीहरुलाई एकतावद्ध रुपमा उठाउन सकिन्छ। नेपालसामू त्यो अवसर छ, त्यसको अधिकतम् सदुपयोग गर्न हामी चुक्नु हुँदैन।

(१६) साम्राज्यवादले नवउदारवादी अर्थनीतिका आधारमा खुला बजार अर्थतन्त्रको बजार नीति अख्तियार गर्दै आएको थियो। तर, पछिल्लो दिनहरुमा नवउदारवाद आफैंमा चुनौतीको खाल्डोमा फस्दै गएको छ। मेक्सिकोको सीमानामा पर्खाल लगाउने ट्रम्पको घोषणा र असफलता, यूरोपबाट युक्रेनको बहिर्गमन आदिले अब खुला बजार अर्थनीतिमाथि पुनर्समीक्षा गर्ने सोंचमा उनीहरु नै पुगेको देखिन्छ। अन्धराष्ट्रवादको नारा विश्वव्यापी रुपमा यति लोकप्रिय बन्दै गएको छ कि त्यो एकदिन संरक्षणवादमा पुग्ने रफ्तारमा कुदिरहेको छ। पूँजीवादी अर्थव्यवस्थामा आएको यो बिकराल परिस्थितिबाट समाजवादीहरुले पर्याप्त लाभ लिनसक्ने र बैकल्पिक शासन प्रणालीको जग बसाल्न सक्ने सम्भावना बढेर गएको छ।

(१७) २० औं शताब्दीमा विश्व कम्युनिष्ट आन्दोलन विजयको उत्कर्ष र प्रतिक्रान्तिको पराकाण्ठामा पनि पुग्यो। स्टालिन सत्तामा आएपछि उनले विश्वभरिका कम्युनिष्ट पार्टी र समाजवादी देशहरुलाई आफ्नै कार्यदिशाको निर्यात गर्न दवाव दिइरहे। तर, चीनले मानेन। सन् १९५६ मा रुस–चीनबीच महाविवाद त्यसैको परिणाम थियो। यता सन् १९६७ मा भारतमा सुरु भएको नक्सालवादी आन्दोलन स्टालिनकै सुझावमा स्वतन्त्र धाराको नेतृत्व गर्न नसक्दा उदारवादी सत्ता र चिन्तकले ‘ब्रिटिसविरोधी आन्दोलन’को नेतृत्व गरे। तर, अहिले कम्युनिष्ट पार्टी र समाजवादी देशहरु फरक कार्यशैलीका साथ चलिरहेका छन्। समाजवादी चीन कम्युनिष्ट पार्टी र समाजवादी देशहरुलाई क्रान्ति निर्यातको आग्रह गरिरहेको छैन। चीनपछि कोभिड–१९ प्रति समाजवादी देशहरुले देखाएको स्वेच्छिक सदारुकता त्यसको ज्वलन्त प्रमाण हो। यसले विश्वव्यापी रुपमा समाजवादी आन्दोलन स्वेच्छिक एकता र समताका आधारमा संगठित हुने प्रवल सम्भावना छ।

(१८) आज सिंगो विश्व लकडाउनमा छ। पहिलो र दोस्रो विश्वयुद्धमा समेत नदेखिएको त्रासदीपूर्ण चित्र मानव जातिले अनुभूत गरिरहेको छ। सन् १९२९–३३ पछि विश्वले पहिलोपल्ट आर्थिक मन्दी मात्रै नभएर ठूलो आर्थिक संकटको सामना गर्दैछ। महामारीले जतिको ज्यान जानेछ, त्यसपछि आउने आर्थिक मन्दी, गरीबी, बेरोजगारी र अनिकालले करोडौं मानिसहरु प्रताडित हुने निश्चित छ। यसप्रति ठूला र विकसित मुलूकले लिने कदमले विश्वव्यापी प्रभाव राख्नेछ। आणविक भट्टीहरुको खारेजी, आधुनिक हतियार उत्पादन गर्ने कारखानाको खारेजी, देशको सैन्य शक्तिको कटौती, बिलासिताका वस्तुहरुमाथि लगानीमा नियन्त्रण जस्ता अनुत्पादक खर्च कटाएर मात्र विश्वले ओरालो लागेको अर्थतन्त्रमा प्राण भर्न सक्छ। तर, पूँजीवादी शासकहरु मानव जातिको हितका पक्षमा बुद्धिमानी निर्णय गर्दैनन् भन्ने कुरा इतिहासले पटकपटक प्रमाणित गरिसकेको छ।

(१९) कोरोना भाइरसको औषधी त ढिलोचाडो पत्ता लाग्छ नै। तर, बिपत्तिको मुहान निर्मूल पार्न कोरोनाको औषधीले सक्दैन। त्यसका लागि विश्वका सबै मुलूक र शासकमा मानव जातिको बृहत्तर हितका पक्षमा सोच्ने ‘वसुधैव कुटुम्बकम्’को सोंच चाहिन्छ। विश्व बन्धुत्वको भावनाले मात्र विश्वभरिका मानव जाति र त्यो भूगोलमा बस्ने नागरिकलाई समानताको आँखाले हेर्न सकिन्छ। त्यसका लागि समाजवादी व्यवस्था एक मात्र बिकल्प हो। कोभिड–१९ महामारी मात्रै होइन, महाअवसर पनि हो। कम्युनिष्टहरुले यसलाई मानव जातिको हितमा बदल्ने प्रयत्नमा ढिलाइ गर्नु हुँदैन।

मिति : २९ चैत्र, २०७६ (काठमाडौं)

twitter : @manaharisamar