दिपक थापाको ‘भुलक्कड बटुवा’ (कविता)

Dipak thapa
  • 268
    Shares

अहिले घाम
आमाको छातिमा नाचिरहेको छ
उहिले आमा भन्नुहुन्थ्यो
सिस्नोका झ्याङहरुमा
फुल्दछ मान्छेको जीवन
मलाई
आदर्श सिकाउने मेरी आमा
ठिक यतिखेर आश्रममा ख्याङ ख्याङ
खोकिरहेकी छिन् ।

 


कोलम्बसको पैतालामा उभिएर
घटाइरहेछु सगरमाथाको उचाइ
र भाँचिरहेछु आफ्नै हातखुट्टा
किनकि
म आधुनिक दास हुँ !
वर्तमानलको लगामले मलाई नै थिचेको छ
म हरेक दिन जीवन बेचेर
निर्लज्ज मृत्युको गित गाइरहेको हुन्छु
समय यतिखेर
म हिँड्न बाटो भन्दा
पृथक बाटो भएर हिँड्न रुचाउँछ ।

 

ठिक यतिबेला मेरो देशले मसँग
खोजिरहेछ राष्ट्रियताको हिसाव
म असह्य मानिसको भीडमा
हराएको कुराले
इतिहासलाई बनाएकै छ दुस्खी
किन हरेक दिन मेरै दीर्घायुका लागि आमा जपिरहनुहुन्छ
ओम् मणि पद्मे हुँ !
तर म प्रकृतिले बनाइदिएको
रङ्गीन बाटो भत्काएर
हिँडिरहेको छु
गन्तव्य बिर्सने भुलक्कड बटुवा झैँ !!!

 

(अरुण गाउँपालिका ७ भोजपुर, हाल काठमाडौ)

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्