६ वटा निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति

star1
  • 20
    Shares

काठमाडौं। ६ वटा निजी प्रयोगशालाले कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न अनुमति पाएका छन्। काठमाडौं उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालाले कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न अनुमति पाएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो।

काठमाडौं उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयरले अनुमति पाएको मन्त्रालयले जनाएको छ। उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन्।

मापदण्ड अनुसार यी प्रयोगशालाले सरकारले संकलन गरेर दिएको नमूना मात्र परीक्षण गर्न पाउनेछन्। कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन्। सरकारी तवरबाटै अझै थप केही प्रयोगशाला आउने क्रममा छन्। कोरोना महामारीकै अवस्थामा स्वीकृति पाए पनि नमूना नपाइने गुनासो निजी प्रयोगशालाहरुको छ।