कला-साहित्य

भर्चुअल माध्यमबाट भानुजयन्ती तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न

a

निर्मल पौडेल/ पर्वत २९ असार। आज २०७ औं भानुजयन्तीको सन्दर्भमा पुस्तक विमोचन तथा सृजना वाचन कार्यक्रम सम्पन्न भएको छ। पर्वत साहित्य सङ्गमको आयोजनामा जुम एप्लिकेशनको माध्यमबाट सम्पन्न गरिएको कार्यक्रममा साहित्यकार राजेन्द्र पहाडीको नवीनतम समालोचना कृति ‘सृष्टिमा दृष्टि’ को प्रमूख अतिथि सहप्राध्यापक डा. षडानन्द पौड्यालले सार्वजनिकीकरण गरेका थिए भने विमोचित कृतिका बारेमा पर्वत साहित्य संगमका निवर्तमान अध्यक्ष इन्द्रमान खत्रीले समीक्षात्मक टिप्पणी गरेका थिए।

कार्यक्रममा स्वदेश तथा विदेशमा रहेका साहित्यकारहरुले आ–आफ्ना साहित्यिक सृजना वाचन गर्नुका साथै भानुभक्तले नेपाली भाषा साहित्यको विकासमा पुर्‍याएको योगदानमाथि चर्चा गर्दै भानुप्रति श्रद्धाशुमन अर्पण गरेका थिए। यसरी रचना वाचन तथा मन्तव्य राख्नेहरुमा प्राध्यापक डा. कपिलदेव लामिछाने, डा. बमबहादुर थापा ‘जिताली’, विजय सागर, लक्ष्मीराज शर्मा पौडेल, शान्तिनारायण श्रेष्ठ, दिब्य गिरी, कृष्णादेवी शर्मा श्रेष्ठ, इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री, गणनाथ पौडेल, कल्पना नेपाल आचार्य, डीआर शर्मा, हरिनारायण उपाध्यायलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा रसियाबाट एनआरएन संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतम र अष्ट्रेलियाबाट पर्वत साहित्य सङ्गमका सदस्य रामकृष्ण शर्मा ध्रुबले पनि आफ्ना रचना सुनाउनुका साथै शुभकामना मन्तव्य राखेका थिए।

b

साहित्यकार तथा अनुसन्धाता सहप्राध्यापक डा. षडानन्द पौड्यालले प्रमूख अतिथिको रुपमा मन्तव्य राख्दै भानुभक्त आचार्यले नेपाली भाषा साहित्यको समृद्धिका लागि पुर्याएको योगदानको बारेमा सबिस्तार चर्चा गर्दै भर्चुअल माध्यमबाट भएपनि महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा संगमलाई धन्यवाद दिए। पर्वत साहित्य संगमका अध्यक्ष राजेन्द्र पहाडीको अध्यक्षता, उपाध्यक्ष डीआर शर्माको स्वागत मन्तव्य, सचिव खेमराज शर्मा चापागाईको सञ्चालनमा सम्पन्न गरिएको कार्यक्रममा विभिन्न जिल्लाबाट साहित्यकारहरु तथा स्थानीय लेखक स्रष्टा एवं सामाजिक जीवनको विभिन्न निकायका प्रमूख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

c

लेखकको बारेमा

लाेकपाटी न्यूज