प्रदेश/स्थानीय तह

महानगर प्रमूख दाहालद्वारा विपन्न परिवारलाई सुरक्षित घर हस्तान्तरण

  • 259
    Shares

चितवन, २९ असार। भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले सोमबार वडा नम्बर २५ मा बोटे समुदायलाई घर हस्तान्तरण गरेकी छन्।  प्रमूख दाहालले सोमबार बोटे टोलमा रहेका अति सिमान्तकृत समुदायका लागि निर्माण गरिएको १० वटा घर हस्तान्तरण गरेकी हुन्।

महानगर प्रमूख दाहालले जनता आवास कार्यक्रम अन्तरगत संघ र भरतपुर महानगरपालिकाको ६१ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको १० वटा भवन त्यहाँका बोटे समुदायका १० परिवारलाई हस्तान्तरण गरिन्। सिमान्तकृत बोटे समुदायलाई घर हस्तान्तरण गर्दै प्रमूख दाहालले घर नभएकाहरुलाई महानगरपालिकाले जनता आवास कार्यक्रम अन्तरगत घर निर्माण गर्दै जाने समेत बताइन्। जनता आवासको कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने प्रमूख दाहालको भनाइ छ।

महानगरपालिकाले संघीय सरकारसँग सहकार्य गर्दै महानगर क्षेत्रभित्रबाट खरको छानो हटाउने अभियान समेत सञ्चालन गरिरहेको उनले बताइन्। नगर प्रमूख दाहालले खरको छानो हटाएर सो घरमा जस्ताको छाना लगाउने काम भइरहेको जानकारी दिइन्। प्रमूख दाहालले वडा नम्बर १३ उज्ज्वलनगरमा १० घर दराई परिवारको घर समेत निर्माण भइरहेको बताउँदै आगामी आर्थिक वर्षमा संघीय सरकारसँगको सहकार्यमा महानगरको अन्य वडाहरुमा चार सय भन्दा बढी जनता आवास निर्माण गर्नेगरी काम अगाडि बढिरहेको बताइन्।

शुक्रनगर स्वास्थ्य चौकीको शिलान्यास

भरतपुर महानगरपालिका प्रमूख रेनु दाहालले शुक्रनगर स्वास्थ्य चौकी भवनको शिलान्यास गरेकी छन्। सोमबार नै महानगर प्रमूख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा स्वास्थ्य चौकी भवन (एचपी टु टाइप)को शिलान्यास गरेकी हुन्।  भवन शिलान्यासका क्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिका भित्र ठूला र रणनीतिक महत्वका आयोजनाहरु द्रूत गतिका साथ अगाडि बढिरहेकोमा जोड दिँदै विकासमा सबैको साझेदारी र अपनत्व हुनुपर्ने बताएकी हुन्।

Renu 1

चार सय वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने दुई तले भवनमा अत्याधुनिक सुविधाहरु समेत रहनेछन्। सो भवन आगामी मंसिरभित्र सम्पन्न गर्नेगरि ७८ लाख ६२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनीयर रत्न लामिछानेले जानकारी दिए।

त्यस्तै, महानगर प्रमूख रेनु दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २५ मा रहेको जनज्योति माध्यमिक विद्यालयको चार कोठे भवन तथा विज्ञान प्रयोगशाला भवनको शिलान्यास गरेकी छिन्। सोमबार शिलान्यास भएको सो भवन भरतपुर महानगरपालिका, डीएलपीआई र प्रदेश सरकारको ९४ लाख रुपैयाँ लगानीमा सम्पन्न हुनेछ।

janajyoti

सो भवन शिलान्यास गर्दै महानगर प्रमूख दाहालले विकासमा पछाडि परेको वडा नम्बर २५ लाई आफूले प्राथमिकतामा राखी ठूला आयोजनाहरु सञ्चालन गरेको बताइन्। वडा नम्बर २५ मा सहरीविकास मन्त्रालयको बजेटबाट प्रचण्ड मार्ग, लिङ्क रोडको काम सम्पन्न हुने चरणमा रहेको समेत बताइन्।

लेखकको बारेमा

लाेकपाटी न्यूज