अमेरिका-इरान तनावपछि समुन्द्रमा युद्धतोप

  • 52
    Shares
0

एजेन्सी। अमेरिकी नेतृत्वको सैनिक गठबन्धनलाई सहयोग गर्न अष्ट्रेलियाको एक युद्धपोतले करिब दुई सय जलसैनिक लिएर स्टेट अफ हमर्जको जलमार्गको सुरक्षाका लागि पश्चिमी अष्ट्रेलियाको यात्रा सुरु गरेको छ।

अमेरिका र इरानबीचको तनावपछि सिपिङ च्यानलको सुरक्षाका लागि एच एम ए एस टुउम्वा नामक जहाजले अमेरिकी नेतृतत्वको गठबन्धनलाई सहयोग गर्ने बताइएको छ। अमेरिकाले इरानका सैनिक कमाण्डर कसिम सोलेमानीको हत्या तथा इरानबाट अमेरिकी सैन्य शिविरमा गरेको मिसाईल आक्रमणका बीच अष्ट्रेलियाको युद्धपोत सो यात्रामा निस्केको हो।

मध्यपूर्वमा बारम्बार भइरहेका घटनाले जहाजबाट हुने व्यापारमा अवरोध आउन थालेपछि गत वर्ष नै अष्ट्रेलियाले तेल आपूर्तिको सुरक्षा गर्नका लागि जलसैनिक तैनाथ गर्ने बताएको थियो। मध्यपूर्वका विश्लेषक अमिन साइकालले प्रधानमन्त्री स्कट मोरिसनले अघिल्लो वर्ष जलसैनिक तैनाथ गर्ने घोषणा गरेको भन्दा अहिलेको अवस्था अझै खतरनाक रहेको बताए।

‘अष्ट्रेलियाको जहाज र जलसैनिकलाई सहजै निसाना बनाइन सक्छ त्यसैले युद्धपोतको तैनाथी खतरापूर्ण छ,’ उनले भने। अष्ट्रेलियाले गल्फमा रहेको समुन्द्रवर्ती क्षेत्रको सुरक्षा र स्थीरताका लागि ६ महिनाका लागि दुईसय सैनिक खटाइएको बताइएको छ।

विदेशमन्त्री मरिसे पायनेका अनुसार जलसैनिकको सुरक्षालाई लिएर निगरानी बढाइने छ। उनले इराकमा भइरहेको आतंकवादविरुद्धको लडाइँमा अष्ट्रेलियाको सहयोग रहेको बताए। स्टेट अफ हर्मज विश्वकै एक तनावग्रस्त जलमार्गको रूपमा रहेको छ भने, अमेरिका र इरानबीचको सम्बन्धले यसलाई थप तनावग्रस्त बनाएको छ।

लेवर पार्टीका रक्षा सम्बन्धी प्रवक्ता रिचार्ड मार्लेसले एक रेडियोलाई ‘तनावका बाबजुद पनि अष्ट्रेलियाको जलसैनिकको तैनाथीको समर्थन रहेको जनाउदै समुन्द्री तटको रक्षा गर्नु अष्ट्रेलियाको राष्ट्रियतासँग जोडिएको बताए।’

Comments
Loading...
You might also like