दुई नाबालक छोरालाई विष खुवाएर हत्या गर्ने आमालाई जन्मकैद

  • 10
    Shares
0

दैलेख, २९ पुस। आफ्ना दुई नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरेकी कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ। हत्या गरेको कसुरमा महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई दैलेख जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ।

घटना प्रकृति र घटना सम्बन्धमा प्राप्त प्रमाणहरुका आधारमा कसुर गरेको ठहर भएकोले जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले यस्तो फैसला गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए।  वि.ंसं २०७५ कात्तिक १० गते दिउँसो भुटेको भातमा मेटासिड घोलेर खुवाएपछि उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा सात वर्षीय जेठो छोरा आयुष नेपाली बाटोमा र तीन वर्षीय कान्छो छोरा अमित नेपालीको उपचारको क्रममा ज्यान गएको थियो।

विष लागेको थाहा पाएपछि स्थानीयको पहलमा अस्पताल ल्याउँदै गर्दा आयुषको बाटोमै र अमितको भने उपचारको क्रममा २०७५ कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा ज्यान गएको भनि जिल्ला प्रहरी कार्यालय दैलेखमा कात्तिक १६ गते ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो ।

आयुषको कात्तिक १० गते दैलेख जिल्ला अस्पतालमा र अमितको कात्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा शव परीक्षण भएको थियो । शव परीक्षण प्रतिवेदनमा ती दुवै बालकको विषको कारण ज्यान गएको उल्लेख छ ।

आरोपित कल्पनालाई प्रहरीले २०७५ कात्तिक २० गते हिरासत अनुसन्धान सकेर दैलेख जिल्ला अदालतमा मङ्सिर १० गते दर्ता गराएको थियो । त्यही दिन अदालतले पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा राखेको थियो ।

२०७५ भदौ १ गतेदेखि लागू भएको ‘मुलुकी फौजदारी कसुर र सजाय ऐन २०७४’ को दफा १७७ बमोजिम ज्यान मारेको ठहरेको र त्यही ऐनको दफा ४१ बमोजिम खाद्यवस्तुमा विष हालि मारेको खुलेको कारण जन्मकैद गरिएको फैसलामा उल्लेख छ ।

ऐनको उपदफा ४२ ले जन्मकैद भनेको २५ वर्ष कैद हुने प्रस्ट्याएको छ। ‘मुलुकी फौजदारी कसुर र सजाय ऐन २०७४’ अनुसार दैलेख जिल्ला अदालतले ज्यान मारेको कसुरमा जन्मकैद भएको यो पहिलो फैसला हो। कल्पनाले आफ्नो श्रीमान् गाउँबाट बिहानै रक्सी खाएर आएको विषयमा सामान्य विवाद भएको झोकमा तीन वटै छोरालाई भुटेको भातमा मेटासिड घोलेर खुवाए पनि ५ वर्षीय माइलो छोरा अमृतले भने नराम्रो गन्ध आएको भन्दै खाने कुरा छोडेका थिए ।

Comments
Loading...
You might also like