कालापानी, लिपुलेक तथा लिम्पियाधुरा र सुस्तासहितको नक्सा सार्वजनिक

  • 232
    Shares
0

काठमाडौं, २९ पुस। कालापानी र लिम्पियाधुरासमेत समावेश गरी नेपालको नक्सा सार्वजनिक गरेको सीमा बचाऔँ अभियानले आज सुस्तासहितको नेपालको नक्शा सार्वजनिक गरेको छ। आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेपालको सम्पूर्ण भू-भाग समावेश गरी नक्सा सार्वजनिक गर्दै अभियानले सरकारसँग आधिकारिक नक्सा सार्वजनिक गर्न माग गरेको छ।

अभियानले नयाँ नक्सालाई देश व्यापी बनाउने जानकारी दिएको छ। तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नक्सा हस्तान्तरण गरी कुटनीतिक पहलबाट समस्या समाधान गर्न अनुरोध गर्ने निर्णयसमेत गरिएको जानकारी दिए। सार्वजनिक गरिएको नक्सालाई विश्वविद्यालय र विद्यालयका विद्यार्थी माझ वितरण गरिने अभियानले जनाएको छ।

अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्सा जारी गर्न माग गरे। ‘कि त हामीले तयार पारेको नक्सा बेठिक भन्नुप¥यो कि सार्वजनिक गर्नु पर्‍यो,’ रिसालले भने, ‘देशको अतिक्रमित भ-भाग समावेश गरी राज्यले तत्काल नक्सा सार्वजनिक गरोस्।’ वर्तमान सरकारले आफ्नै देशको भू-भाग समेटेर नक्शा सार्वजनिक गर्न अलमलगरिरहेको भन्दै आलोचना गरे ।

उनले प्रश्न गरे, ‘देशको नक्सा सार्वजनिक गर्न सरकारलाई के ले रोक्यो ?’ सरकारले नक्शा सार्वजनिक गर्न आनाकानी गरेमा देशव्यापी अभियान चलाउने चेतावनी दिए। सरकारलाई जनस्तरबाट व्यापक दबाब सृजना गर्न आग्रहसमेत गरे। यस विषयलाई लिएर गाँउगाँउमा कार्यक्रम गर्ने योजना बनाएको जानकारी दिए।

पूर्व सचिव द्धारिका डुंगेलले सरकासँगतत्काल अतिक्रमित भूभाग समावेश गरी नक्शा सार्वजनिक गर्न माग गरे। नगरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजनिक गर्न माग समेत गरिसकेको बताए। नापी विभाग सार्वजनिक गर्न स्वीकारे पनि भूमि सुधार मन्त्रालयले नमानेको कारण अहिलेसम्म नक्सा सार्वजनिक नभएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा आली र भारतीयप्रधानमन्त्री नरेन्द्र मोदीबीचभएको कुराकानीले वैज्ञानिक आधारबाट सीमाको समस्या समाधान गरी निष्कर्षमा पुर्‍याउने भनिएकोमा त्यसबारे अझै कुनै ठोस पहल किन भइरहेको छैन ?’ परराष्ट्र मन्त्रालय तहबाट दुवै देशबीच भएको पत्राचारलाई अहिलेसम्म सरकारले प्रकाशित नगरकोमा प्रश्न गरे। सीमा बचाउने र आफ्नै नक्सा जारी गर्ने मामलामा सरकार उदासिन रहेको भन्दै आलोचना गरे।

दार्चुलास्थित व्यास गाउँपालिकामा देशभित्रबाट नै पुग्ने बाटो नभएर भारतीय भूमी प्रयोग गर्नुपर्ने वाध्यात्मक अवस्था आउँदा भारतीय सेनाले अप्ठ्यारो पार्ने गरेको भन्दै तत्काल बाटो निर्माणको माग गरे। यसबारे गृहमन्त्रालयलाई आग्रह समेत गरिएको उनको भनाइ थियो। प्रा.डा नरेन्द्र खनालले अभियानले जारी गरेको नक्सा सरकारलाई सार्वजनिक गर्नु पर्ने बताए। नेपाल र भारतबीचको सीमानामा रहेको सुस्ता ठूलो क्षेत्रफलको रहेको बताए। मेची क्षेत्रको सीमाविवादमा भारतले मानी सकेको उनको भनाइ थियो। तर, पश्चिममा महाकाली क्षेत्रको सीमाविवाद र सुस्ताको विषय अझै समाधान नभएको बताए।

कालापानी र सुस्ताको विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। सीमा बचाऊ अभियानको कदमले सरकारमाथि दबाब बढ्ने बताए। वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले सरकारले नक्सा सार्वजनिक नगरे देश व्यापी अभियानमा जाने बताए। देशको अतिक्रमित भूभाग सहितको नक्साका लागि देशव्यापी आन्दोलनमा जान वाध्य हुने बताए। देशको भूमी एक इञ्च पनि अतिक्रमित हुन् नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भू-भागसहितको नक्सा सरकारले जारी गर्नुपर्ने बताए।

अभियानको नक्सा समितिका सदस्यकमल बरालले तत्काल सरकारले कालापानी, लिम्पियाधुरा र सुस्तासहितको नक्सा सार्वजनिक गर्नुपर्ने बताए। देशको भूभाग अतिक्रमणमा परेको छर्लंंग हुँदा पनि प्रतिरोध गर्न नसकेको भन्दै सरकारको आलोचना गरे। भारतले नक्शा, भूमि अतिक्रमण हुँदै प्रशासनिक अतिक्रमण गरी तीन तरिकाले अतिक्रमण गरेको भन्दै नेपाल सरकारले पनि यसरी नै तीन तरिकाले प्रतिरोध गर्नुपर्ने बताए। नक्सा अतिक्रमणको प्रतिरोधमा नक्सा सार्वजनिक गर्नुपर्ने, भूमि अतिक्रमणको विरुद्धमा सेना परिचालन गर्नुपर्ने र प्रशासनिक अतिक्रमणको प्रतिरोध गर्न विकास निर्माणको काम गर्नुपर्ने माग गरे। आफ्नो भू-भागमा विकास गर्न भारतसँग सोध्नु नपर्ने भन्दै तत्काल काम अगाडि बढाउन माग गरे।

Comments
Loading...
You might also like