पुलिस र संकटाको सुखद अन्त्य

  • 10
    Shares
0

काठमाडौं । बिहीबार भएका खेलमा विजयी हुँदै नेपाल पुलिस क्लब र संकटा क्लबले सुखद अन्त्य गरेका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका १३ औं तथा अन्तिम चरणका खेलहरुमा  पुलिस र संकटाको सुखद अन्त्य भएको हो ।

पुलिसले फ्रेन्ड्स क्लबलाई ३–० ले हरायो । पुलिसलाई जिताउनेक्रममा जुमनु राईले ‘ह्याट्रिक’ गरेका थिए । लिगको आफ्नो अन्तिम खेलमा पुलिसलाई जिताउन भेट्रान्स स्ट्राइकर जुमानु नायक बने। पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको पुलिसलाई जुमानुले नै दोस्रो हाफमा उद्घार गरेका थिए।जुमानु ४९औं मिनेटमा हेमन्त श्रेष्ठको स्थानमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। उनले मैदान प्रवेश गर्नासाथ खाता खोलेका थिए। दोस्रो हाफमा सशक्त प्रदर्शन गरेको पुलिसले ५६औं र ८५औं मिनेटमा दुई गोल थपेको थियो।

त्यस्तै, संकटा क्लबले सरस्वती युथ क्लबलाई ६–२ को फराकिलो अन्तरले हरायो । संकटाका लागि मेसोउकेले दुई तथा सुवास गुरुङ, टिकाराज गुरुङ र रोशन पहाडीले एकरएक गोल गरे । सरस्वतीका पूर्णबहादुर श्रेष्ठले एक आत्मघाती गोल गरेका थिए । सरस्वतीका लागि दुवै गोल काजिम बुसारीले गरेका थिए ।यसपटक कमजोर प्रदर्शन गरेको सशस्त्र प्रहरीको एपीएफ क्लबले अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लबसँग १–१ गोलको बराबरी खेल्यो । सशस्त्रका आशिष लामाले ४४औं मिनेटमा गोल गरे पनि अन्तिममा सम्हालिन नसक्दा ‘इन्जुरी’ समयमा विजय गुरुङले गोल गर्दै बराबरी गरे।

शुक्रबार पनि तीन खेल हुनेछन् । बिहान पौने ९ बजे हिमालयन शेर्पा क्लबले न्यूरोड टिम एनआरटीसँग, दिउँसो सवा १२ बजे थ्रीस्टार क्लबले च्यासल युथ क्लबसँग र दिउँसो साढे ३ बजे मनाङ–मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबसँग खेल्नेछ । सबै खेल कम्प्लेक्सको मैदानमा हुनेछन् । जारी लिगको अन्तिम खेल शनिबार दशरथ रंगशालामा हुनेछ । दिउँसो साढे १ बजे हुने त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीचको खेलबाटै यसपटकको लिग विजेता छानिने छ ।

लिग तालिकामा अहिलेसम्म आर्मी २९ अंकसहित पहिलो, मच्छिन्द्र २८ अंकसहित दोस्रो, मनाङ २५ अंकसहित तेस्रो र थ्रीस्टार २३ अंकसहित चौथो स्थानमा रहेका छन् । सबै खेल खेलेको पुलिस २० अंकसहित पाँचौं, एक खेल कम खेलेको जावलाखेलको १९ तथा सबै खेल खेलेको संकटाको १८ अंक भएको छ । च्यासल र एनआरटीको समान १५ अंक छ । फ्रेन्ड्सको १४ तथा हिमालयनको ११ अंक छ । सबै खेल खेलेका सशस्त्र र बीबीसीको समान ९ तथा ‘रेलिगेसन’मा परेको एकमात्र टिम सरस्वतीको ४ अंक छ ।

Comments
Loading...
You might also like