हुनेवाली श्रीमतीलाई प्रेमपत्र

  • 191
    Shares
0

यो अपजस हुन सक्छ। म कल्पनामा डुब्ने बहुतै ईच्छा राख्दै छु। सायद मलाई वर्तमानका क्रिया प्रतिक्रियाप्रति घिन लागेको हुन सक्छ। तिमी अर्थात् मेरी हुनेवाली श्रीमती जता छौ जहाँ छौ, मेरो भविष्यको श्रीमतीको रुपमा पदभार ग्रहण गर्न सक्छौ। तिमीले यो सम्बन्धलाई अझ सुमधुर पार्न सक्छौं। तिमी भन्ने शब्द नै आकाशमा हराएको ताराजस्तै लाग्छ, कल्पनामा मात्र धिपधिप चम्किदिन्छ। अनि शपथ ग्रहणको निम्तो दिएर खै झिसमिसेमा हराइदिन्छ। तिमी यस्ती हौ,उस्ती हौ, सायद म अन्दाज गर्न सक्छु, यकिनका साथ ठोकुवा त गर्न सक्दिनँ। तर, जे–होस्, तिमी जे भएर आउ, म मेरा आचारण अहिले नै खुलस्त पार्न सक्छु। भन्न सक्छु, स्पष्टीकरण दिन सक्छु बिना कुनै कारण।

भविष्यकी मेरी राजकुमारी, जिन्दगी छोटो छ। म यति कामना गर्न सक्छु, तिम्रो संगतमा मैले बिताउने एक–एक पल अविस्मरणीय लाग्नेछन्, फेरि फर्कौं, फर्कौं लाग्नेछन्। सम्बन्धका गराहरुमा धान झुलाउँ झुलाउँ लाग्नेछन्। तिमी यस्तो बनेर आउ म हेरिरहूँ, जसरी मानिस आधा आकाशमा उदाएको जून हेरिरहन्छ। तिमी यसरी आउ र म बोलाइरहूँ, जसरी चैतमास हल्लिएका पातहरुले बोलाइरहन्छ आफ्नो स्पर्शलाई। तिमी यसरी उदाउ, जसरी ललाटमा उदाउँछ रातो टीका छाप बनेर एउटा चिनारीको, अटुट सम्बन्धको। तिमी अकस्मात् जादुमय तरिकाले प्रकट हुनु पनि पर्दैन, भगवानका अपर्झट लीलाहरुले मलाई झस्याङ्ग मात्र बनाउँछन्। तिमी सुस्तरी आउ, आएपछि ठेकीमा दही जमाएजस्तै जमाउ एउटा पारिवारिक सम्बन्ध, जसलाई मथेपछि नौनीजस्तै कोमल हृदयहरुप्रति उत्पादन गरिरहन सकून्। मलाई आज तिम्रो जरुरत त छैन, त्यसैले त प्रतीक्षा गर्दैछु भोलिको। तिमीप्रति धेरै आशा छ ममा। त्यसलाई अझ जगाउ, जिन्दगीका कायापलटमा सदैव साथ त दिई नै हाल्छु नि म तिम्रो।

मेरी हुनेवाली श्रीमती, तिमी आउँदा दैलो टेकेरै आउ। गोबर र रातो माटोले लिपेका पिढींहरुमा तिम्रा सौभाग्यका पदचापहरु छोड्दै आउ। लाजले ढकमक्क घुम्टो ओढेरै आउ, उजाडिएको शिरिषको हाँगोलाई देखेर त चराचुरुङ्गी पनि तर्सिन्छन्। मर्यादाको पहिरनले सजिएर आउ। मुस्कानको अलङ्कारमा लछप्पै भिजेर आउ। कस्तुरीझै आफ्नो हृदयको प्रेमिल चाहना खोज्दै रनबन तिमी कदापि भाग्नुपर्ने छैन। जे हुनेछ, बुवाआमाको मञ्जुरीमा हुनेछ। यज्ञको सात फन्कोमा हुनेछ। तिम्रो सिउँदोको रातो अलङ्कार, मेरो दिलको पुरस्कारद्वारा विभूषित गर्न आतुर छ मलाई। आउँदा न्यानो माया दाइँजोमा लिएर आउनु। संगै एउटा देउता लिएर आउनु, मनको मन्दिरमा दियो जगाएर आउनु। दोधारमा पर्दा कतै, वर माग्नुपर्दा कतै तिम्रो देउताले तिमीलाई रक्षा गर्नेछन्। र, म आफूलाई सधै तिनै देवताको नाममा भाकल गरिरहनेछु नमरुञ्जेलसम्म।

रातको विछ्यौनामा सँगै सुत्नु नै मात्र श्रीमतीको परिभाषा कहाँ हो र ? जुठो थालमा चिसो गाँस निल्नु खुट्टाको पानी खानु, सधै निहुरिएर श्रीमानको सत्कारमा लाग्नु, आफ्नो राय विचार गुम्साएर राख्नु, यी त सबै अत्याचारहरु हुन्, विवाहपश्चात् समय सान्दर्भिक भएर एक अर्कालाई नबुझ्ने जोडीहरुका लागि। तर, हामी जरुर एउटा अपवाद भएर यही समाजमा टुसाउँनेछौं। विवाहलाई प्रेम बन्धनमा बाँधेर मित्रताको साइनोलाई सधै निरन्तरता दिनेछौं। यो प्रण छ ममा, तिमी आँट गर, विवाहका समयानुकूल परिभाषाहरुमा पक्कै बदलाप ल्याउने छौं हामी। हजारौं कोश पर जाँदासमेत एउटा कुनामा बसेर समाज तर्साइरहनेछ हामीलाई। आफ्ना निधारभरि प्रश्नवाचक चिन्ह खडा गरी समाज दोषारोपण गरिरहनेछ हामीलाई। तर, हामी निर्धक्क युगको नौलो बिस्तारमा हुनेछौं।

आजको महंगा महंगा सम्बन्धमा गाँसिएका प्रेमिल सम्बन्धबाट विरक्त छु म। फिक्का उपहारहरु, बाइकको सयर, ज्यान दिने वाचाहरु, म्यासेञ्जरका च्याट र भिडियो कलहरु, फेसबुकका फोटाहरु कति धेरै आकर्षणयुक्त, तर खोक्रा छन्। मलाई यस्ता सम्बन्धहरु देखेर उदेक लाग्छ। यी माया जालहरु अपरिपक्व पूँजीवादका उपजहरु हुन्। तर, मलाई यी तमाम चीजहरुप्रति वास्ता छैन। म त तिमीलाई कृतिमता र भौतिक लोभ र मोहभन्दा फरक देख्न चाहन्छु। मेरो मुटुका भेन्ट्रिकल्समा अडिएका मायाका झुप्पाहरु मित्रताको धागोमा उनेर तिमीलाई उपहारस्वरूप दिन सक्छु। सम्पूर्णमा जे छ, त्यसैमा तिमीलाई चित्त बुझाउन सक्छु। जे छैन, त्यसमा अलिकति आशा जगाउन सक्छु। अभावको घडीलाई एउटा दिगो चुम्बनले मेटाउन सक्छु।

तिमीले भाँडा माझ्दा म पानी हाल्न सक्छु। लुगा धुँदा तिमीले म पखालिदिन सक्छु। तिमी हात मात्र बढाउ, तिम्रो हातमा जरुर हात थमाउन सक्छु। तिमीले भात तरकारी पकाउँदा, चाखेर त्यसको मिठास बढाउन सक्छु। तिमीसँगै रातभरि बोरिङ सिरियलहरु हेरेर बिताइदिन सक्छु। मेरा क्रिकेटका म्याचहरु छुट्दा ममा छुट्टै अपजसहरु हुन सक्लान्। तर, तिमीसँगै हाँस्दै रुँदै सिरियल हेर्नुले ठूलो मूल्य राख्न सक्छ। फकीर मलाई मेरो जन्मदिनको त्यति वास्ता हुने छैन। तर, तिम्रो जन्मदिनमा म तिम्रै लागि लाखौं शुभकामनाहरु तिम्रै कोल्टाभरि भर्न सक्छु। तिमीलाई थाहा पनि नहोस्, तिमीलाई मनपर्ने कुराहरु म संगालेर राख्नेछु, मुटुभरि अनि ठट्टामा तिम्लाई आफ्नै पासोमा पारी जित्नेछु घरिघरि। तिम्रा यादगार परिकारहरु म भरथेग प्रयास गरेर जरुर तिमी कार्यालयबाट आउँदा पकाई राख्नेछु। तिम्रो थकाई मेटाउन म मेरो अग्रसरतालाई बढाउनेछु। घरमा सँगै बस्दा आमाबुवाका कत्ति कुराहरु चित्त नबुझ्दा, म सम्झाउने छु तिमीलाई, म फकाउने छु तिमीलाई। कुरा काट्ने भन्दा कुरालाई सकारात्मक निचोडमा पुर्याएर जीवनमा खुशीका रंगहरु जरुर भेट्टाउन प्रयास गर्नेछौं हामी।

छोरा होस् वा छोरी सन्तानको उचित व्यवस्थापनमा म तिम्रो भन्दा मेरो जिम्मेवारीलाई बढी महसुस गर्नेछु। मैले चेत पाउनेछु, तिमी एउटा नारी हौ र दुःखको भण्डार भरथेग गरिरहेकी हुनेछौ। सन्तानलाई नौ महिना कोखमा राखेर हुर्काएकी तिमी मासिक महिनावारीसँगै समाजको वस्तुस्थितिबाट समेत पुरुषको दाँजोमा तल्लो श्रेणीमा राखिनेछौ। तर, म तिमीलाई सम्झाउनेछु, नारी शक्ति आफैमा उर्जाशील शक्ति हो, एउटी आमा हुनु, बुहारी हुनु र असल श्रीमती हुनु तिम्रा लागि सौभाग्यहरु हुन्। कमजोरी कम र अवसर ज्यादा हुन्।

यसलाई उपयोग गर्दै नारी हुनुको गर्वमा सम्पूर्ण परिवारमा खुशी ल्याउन तिम्रो अहम् भूमिका हुने नै छ। उमेर, पढाई, धन सम्पत्ति, जात कुनै पावन्दी होइन, एउटा असल आचरण, व्यवहारसहित कर्तव्यनिष्ठ इमान्दार श्रीमती हुन मन छ भने, म सँगसंगै जीवन हाँक्न सक्ने आँट छ भने म तिम्रै स्वागतमा हरदम आँखाहरुमा दीपावली गरेर बस्नेछु। तिम्रै प्रतीक्षामा हप्तौं, महिनौं र वर्षौं कुरिरहनेछु।

उही तिम्रो, डा. अच्युतशाली घिमिरे

Comments
Loading...
You might also like