नेपालमा सशस्त्र संघर्ष नगर्ने पार्टी र मूख्य नेता छैनन् : प्रचण्ड

  • 863
    Shares
0

राजेन्द्र न्यौपाने/गोरखा, २ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्ल मार्क्सको भनाइ उद्धृत गर्दै परिवर्तन चाहने, न्याय चाहने, स्वतन्त्रता चाहने पार्टी र नेताहरुले या कार्यकर्ताहरुले इतिहासको चिहानमा गाडिएका क्रान्तिकारीहरुका लासलाई उधिन्नुपर्ने, त्यहाँबाट खोतल्नुपर्ने तत्काल शासन गर्ने अत्याचारीहरुका विरुद्ध, इतिहासको गहिराइमा दवाइएका शवहरु उत्खनन गरेर उनीहरुका अस्थिपञ्जर एकचोटी देखाउनुपर्ने बताएका छन्।

गोरखा जिल्लास्थित सहिद लखन गाउँपालिकाको आयोजनामा भएको प्रथम सहिद लखन थापा र जैसिङ चुमी रानाको १४३ औं स्मृतिमा बुँकोटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। कार्यक्रममा बोल्दै प्रचण्डले भने,“ कार्ल मार्क्सले एक पटक जर्मनको क्रान्ति र प्रतिकान्ति, फ्रान्सको क्रान्तिका सन्दर्भमा भन्नुभएको थियो। म कार्ल मार्क्सको त्यस भनाइबाट प्रभावित भएँ। अब लखन थापाको इतिहासलाई खोतल्नुपर्छ। लखन थापाको के ऐतिहासिक महत्व हो ? कामी बुढाको के महत्व हो, भीमदत्त पन्तको विद्रोहको के महत्व हो, झापा विद्रोहको के महत्व हो अरु पनि थुप्रै त्यस्ता महान सहिदहरु जो गुमनाम बनाइएका थिए, जसका बारेमा चर्चा परिचर्चा गर्न पनि मानिसहरुले छोडेको जस्तो थियो, ती सबै अन्यायका विरुद्ध लड्ने र बलिदान गर्ने सहिदहरुलाई जीवित पार्नुपर्छ भनेर सुरु गरिएको थियो।’

प्रचण्डले थपे, ‘म आज तपाई यस लखन गाउँपालिका र वरिपरिका तमाम समुदाय र पार्टीका साथिहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मलाई गर्व छ, सहिद लखन थापा नेपालको प्रथम सहिद घोषित हुुनुभयो। २०५१ सालमा लखन थापा नेपाली इतिहास महान सहिद हुन् भनेर दस्तावेजमा लेखेको स्मरण गर्दे अहिले उहाँलाई प्रथम सहिदको रुपमा पाउनु आफूलाई गर्व लागेको छ।”

‘नेपालको एउटा विचित्रको स्थिति के छ भने यहाँ जति पनि पार्टीहरु प्रमुख पार्टीको रुपमा जति छन्, उनीहरुले एउटा कालखण्डमा हतियार उठाएकै छन्, सशस्त्र संघर्ष गरेकै छन्’ प्रचण्डले भने, ‘२००७ सालमा राणा शासन विरोधी आन्दोलन गर्ने क्रममा नेपाली काँग्रेसले उठाएको हतियारका कारण धेरै सहिद भए। सबैभन्दा पहिले नेपाली काँग्रेसले २००७ सालमा हतियार उठाएकै हो, लडाइबाट नै सत्ता कब्जा गर्न खोजेकै हो।’

‘२०२८ सालमा तत्कालिन कोअर्डिनेशन केन्द्रका नाममा झापाका क्रान्तिकारी युवाहरुले सशस्त्र संघर्षको उदघोष गरेकै हुन् र त्यो क्रममा थुप्रै होनाहार क्रान्तिकारी योद्धाहरुले सहादत प्राप्त गरे’ प्रचण्डले भने, ‘तपाई हामीलाई थाहा छ, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, रत्नकुमार बान्तवा लगायत होनाहार युवाहरुको सहादत त्यतिबेला भएको थियो। त्यही क्रमको पछिल्लो कडीको रुपमा २०५२ सालबाट माओवादीको नेतृत्वमा जनयुद्धको उदघोष भने भने यी सबै सशस्त्र संघर्षहरु र शान्तिपूर्ण जनआन्दोलनको परिणामस्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेका छौं।’

प्रथम सहिद लखन थापालाई राष्ट्रिय विभूति र जैसिङ चुमी रानालाई सहिद घोषणा गर्न आफू सकारात्मक भएको उनले बताए। उनले सहिदहरुको सम्मान गरेर मात्र समाजवादी क्रान्तिको बाटोमा हिँड्न सकिने बताए।

सहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नं.–१ का सांसद हरीराज अधिकारी, गण्डकी प्रदेशका मन्त्रीहरु रामशरण बस्नेत, लेख बहादुर थापा लगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा सहिद वेपत्ता परिवारहरुलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रथम सहिद लखन थापा स्मृति कपमा विजयी खेलाडीहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो।

Comments
Loading...
You might also like