ओली-प्रचण्डबीच छलफल जारी

prchnda -n oli
  • 26
    Shares

काठमाडौं। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अहिले बालुवाटारमा छलफल भइरहेको छ। बुधबारसम्म लगातार तीन पटक एक्लाएक्लै वार्तामा बसेका अध्यक्षद्वको वार्ता ६ दिनपछि फेरि सुरू भएको हो।

पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको यो छलफललाई चासोपूर्वक हेरिएको छ। पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ। बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ। यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन्।

जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहो¥याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन्। तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ। मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ।

मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन्। त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ। तर त्यसमा पनि ओली सहमत हुन सकेका छैनन्।