मार्क्सवादी स्कुल : के हो अराजकतावाद ?

  • 2.7K
    Shares
0

कानूनमा धेरैवटा धाराहरु हुन्छन्। कानूनका विद्यार्थीले पास हुनका लागि ती धाराहरु घोकेर कण्ठ पारे पनि लामो समय प्रयोगमा आएन भने ती बिर्सन्छन्। कुनै मुद्दा पर्‍यो भने र ती धारा प्रयोग गरेर बहस गर्‍यो भने कुन धारामा के लेखेको छ, जीवनभर कहिल्यै बिर्सिन्नँ। पार्टी जीवनमा पनि खास खास मोडमा खासखास प्रवृत्तिले दुःख दिन्छ। त्यो प्रवृत्तिमाथि विजयी पाउन त्यसका विशेषताहरुको अध्ययन गरेर पार्टीमा पनि बहस हुने गर्छ र ती प्रवृत्तिहरुसँग गरिएका बहस लामो समयसम्म दिमागमा ताजा भएर बसिरहन्छ। यसलाई पार्टी शुद्धिकरण वा रुपान्तरण अभियान पनि मान्न सकिन्छ।

पार्टी शुद्धिकरण अभियान चलाउदा दोष निवारण कार्यक्रम चलाइन्छ । सन् १९४२ मा चिनियाँ कम्युनिष्ट पार्टीले यस्तै दोष निवारण कार्यक्रम चलाएको थियो। अध्यक्ष क. माओको नेतृत्वमा चलाएको कार्यक्रमले कम्युनिष्ट पार्टीलाई थप बलियो र मजबुत बनाएको थियो। अहिले नेपाली कम्युनिष्ट आन्दोलनमा अराजकतावादको समस्या देखा परेको छ।

निरन्तरतामा क्रमभंग भएर विधान र व्यवस्था भंग भएर एउटा विद्रोह र अव्यवस्था खडा भएको समय हो यो। कुनै कुरा बुझ्नु र त्यसलाई आत्मसाथ गर्नु, सोही अनुसार आचरण गर्नु र व्यवहारमा लागु गर्नु फरक कुरा हो। एउटा अव्यवस्था र गन्जागोलले अर्को अव्यवस्था सिर्जना गर्दछ। निम्न पूँजीवादी प्रवृत्ति हावी भएको समाजमा सन्तुलित व्यवहार पाउन कठिन हुन्छ। कि दबिनु, कि दबाउनु, समानताको व्यवहार गर्न र पाउनै गाह्रो। कि नोकरशाही केन्द्रीयता कि अतिजनवाद, जनवादी केन्द्रीयताको ठीक अभ्यास पाउनै गाह्रो।

सुत्रमा जनवादी केन्द्रीयताका पाँच वटा नियम भन्न र कण्ठ पार्न जति सजिलो छ, जीवन व्यवहारमा ठीकसँग त्यसलाई उतार्न निकै कठीन छ। कसैले यो सर्वहारा जनवादलाई दर्शन, विचार, सिद्धान्त र राजनीतिभन्दा माथि राखेर विश्व ब्रम्हाण्ड नै यही हो भनेर सिद्धान्त प्रर्दशन गर्छन्। न कसैले दर्शन, विचार, सिद्धान्त र राजनीतिमा आधारभूत सहमति हुँदाहुँदै पनि विधान नमानेर विधान भनेको तोड्नकै लागि भन्ने अपब्याख्या गर्छन्।

नेपाली कम्युनिष्ट आन्दोलन यतिबेला टुटफुट, अव्यवस्था, अविश्वासको चरणबाट गुज्रिरहेको छ। गठन, विघटन, पुर्नगठन र पुनर्निर्माणको चरणबाट गुज्रिरहेको छ। यस्तोमा मूल समस्या अराजकताको हुन्छ। हामी एउटा श्रद्धावादबाट उछिट्टिएर शंकावादको भुंग्रोमा खसेका छौं। आफूले सापेक्षित रुपमा विश्वास गरेको पार्टी नीति र नेतृत्वप्रति विरोधी पार्टीलाई जत्तिकै आरोप लान्छना र आक्रमण गर्छौ भने हाम्रो पार्टी प्रतिवद्धता कहाँ रह्यो, हामी पार्टीमा हुनु र नहुनुको भेद कहाँ रह्यो ? अराजकतावादको मुख्य समस्या कहाँ हो भने कुनै पनि अनुशासन, नीति र नेतृत्व नमान्ने, सत्ता नमान्ने, स्वतन्त्र हुने हो।

साम्यवाद एउटा स्वतन्त्रता हो। मानिस पंक्षीझै स्वतन्त्र हुन्छ। जहाँ शोषक र शोषित हुँदैनन्, देशको सीमाना हुँदैन, सेना पुलिस हुँदैन। क्षमताअनुसार काम र आवश्यकता अनुसारको माम हुन्छ। के भविष्यको सत्यलाई हामीले वर्तमानमा लाद्न सक्छौं, यसबारे राज्य र क्रान्तिमा लेनिनले विस्तृत व्याख्या गर्नुभएको छ। र, राज्यसत्ता भनेको विरोधी वर्गलाई दबाउने हतियारबाहेक केही होइन भन्नुभएको छ। त्यसैगरी वर्गसंघर्षलाई जसले सर्वहारा अधिनायकत्वमा पुर्‍याउँदैन, ऊ कम्युनिष्ट हुन सक्दैन भन्नुभएको छ।

समाज विकासको छैंटौं खुड्किलोको साम्यवादलाई हामीले वर्तमान नेपाली समाज, अर्धसामन्ती एवं अर्ध नवऔपनिवेशिक अवस्थामा रहेको तेस्रो खुड्किलामै प्रयोग गर्न सक्दैनौं। नयाँ जनवाद हुँदै साम्यवादसम्म पुग्दा त्यस किसिमको भौतिक वातावरण बन्छ र त्यही उन्नत चेतनाले मात्र हामीले साम्यवादी व्यवस्था लागू गर्न सक्दछौं। केही मानिसहरु के ठान्छन् भने अराजकतावाद दक्षिणपन्थी अवसरवाद, सुधारवाद, संशोधनवाद, नव संशोधनवाद र संसदवादजस्ता खराब प्रवृत्तिभन्दा राम्रो हो। यसलाई सच्याउन सकिन्छ र लिकमा हिँडाउन सकिन्छ भन्ने गर्छन्। अराजकतावाद भनेको एउटा निश्चित प्रवृत्ति होइन।

क्रान्तिकारी मार्क्सवादका ३ वटा शत्रु प्रवृत्ति वाम, मध्य र दक्षिणपन्थी। यी तीन प्रवृत्तिमा यो अराजकतावाद पाइन्छ। मानिसहरुले सोचेजस्तो अराजकतावादी प्रवृत्ति, उग्रवामपन्थी प्रवृत्तिमा मात्र पाइने प्रवृत्ति होइन। कम्युनिष्ट आन्दोलनभित्रका गलत प्रवृत्तिहरुका अनुयायीहरुले पनि आफ्नो सोच विचार र नीति अनुरुपको पार्टी र नेतृत्वलाई सम्मान र स्थापित गर्दछन्। अराजकतावादले साम्यवादमा सत्ता विलोपिकरण हुने हुँदा कुनै पनि मियो सत्ता, पार्टी नेतृत्वलाई मान्दैन र फुक्का कार्ल मार्क्सको भाषामा जंगी घोडाजस्तै दौडिन्छ। पहिलो अन्तर्राष्ट्रियमा मार्क्स र एंगेल्सलाई कसैले दुःख दिएको थियो भने ती हुन् अराजकतावादी बाकुनिन र प्रुधोहरु। उनीहरुले अनुशासन नमानेकै कारण पहिलो अन्तर्राष्ट्रिय नै विघटन गर्नुपरेको थियो।

पेरिस कम्युनमा विद्रोहको तयारी अझ पुगेको छैन भनेर भन्दा भन्दै प्रुधो, बाकुनिकहरुले विद्रोह सुरु गरिहाले। यद्यपि मार्क्स र एंगेल्सले विद्रोह सुरु गरेपछि भने पुरै समर्थन गरेका थिए। निम्न पुँजीवादी प्रवृत्तिको बोलवाला भएको नेपाली कम्युनिष्ट आन्दोलनमा वीर, पूँजीवादी दृष्टिकोण अधिक हुने हुँदा आकाशको पानी पनि इन्द्र देवताले पारिदिन्छन् र घाम पनि सूर्यदेवताले लगाइदिन्छन् भनेर विश्वास गर्ने हुँदा सामूहिक नेतृत्वमा कम विश्वास हुन्छ। वीरको नाममा व्यक्तिको नाममा सजिलै संगठित हुने प्रवृत्ति विद्यमान हुन्छ। हामी कम्युनिष्ट आन्दोलनमा भर्खरभर्खर लाग्दा एउटा हल्ला चलेको थियो। नेपालमा एउटा यस्तो कम्युनिष्ट नेता छ रे, जसको घरको तलामा घोडा जान्छ रे, आफ्नै बाबुको तमासुक च्यातेर कम्युनिष्ट आन्दोलनमा लागेको रे भनेर।

त्यो नेताको नाम सुन्दै रोमाञ्चित हुने र त्यो पार्टीमा लाग्न पाए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो। त्यो नेता अरु कोही नभएर मोहनविक्रम सिंह थिए। कैयौ युवाहरु २०३६/०३७ सालको आन्दोलनबाट उत्पादन भएकाहरु पार्टी चौंथो महाधिवेशनमा भर्ना भएर देशको सबैभन्दा बलियो भूमिगत कम्युनिष्ट पार्टी बनेको थियो। यो कुरा बेग्लै हो कि उनै मोहनविक्रमले अन्तरवार्ता दिएर तमसुक च्यातेको कुराको खण्डन गरे। भावनाबाट उत्प्रेरित भएर पार्टीमा लाग्ने र विचार र राजनीतिबाट सम्मृद्ध हुने हो।

नश्यन्ती ‘नश्यन्ती अनायका, विनश्यन्ती बहुनायक’ अर्थात् ‘नेता भएन भने नासिन्छ र धेरै नेता भए भने झन विनास हुन्छ’ भनेजस्तै एउटा व्यक्तिलाई अत्याधिक माथि उठाउँदा व्यक्ति पूजाको स्तरमा पुर्‍याउँदा र उसले धोका दिँदा सबै नेता उस्तै हुन्छ भनेर आम विश्वास हुन्छ। पेरुमा अमेरिकी समाजशास्त्रीले लामो अध्ययन गरेर सिद्धान्त, पार्टीको कार्यक्रमभन्दा गोञ्जालोको नाममा मानिस बलिदान दिन तयार हुने निचोडसहित लाखौं मानिस मार्नुभन्दा एउटा गोञ्जालो गिरफ्तार गर्नु बढी फाइदा हुने रिपोर्ट दिएपछि अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा पुलिस हेडक्वार्टर ‘डेन्कोट्रे’को प्रत्यक्ष संलग्नतामा गोञ्जालोलाई गिरफ्तार गरेपछि पेरुको आन्दोलन ध्वस्त भयो। त्यसकारण व्यक्ति ठीक हुँदासम्म नेतृत्वलाई स्थापित गर्ने मियोझै अरुको वरिपरि गोलबन्द हुने र पार्टी र क्रान्तिको कामलाई निरन्तर अघि बढाउनु नै द्वन्द्ववाद हो।

उदाहरणका लागि आफ्ना महान गुरु प्लेखानोबको किताब नपढिकन कोही कम्युनिष्ट हुन सक्दैन भनेर लेनिनले भन्नुभयो। तर, जब १९०५ को सशस्त्र विद्रोह रुसमा असफल भयो र प्लेखानोबले हतियार उठाउनु हुँदैन थियो भनेर आन्दोलनको विरोध गरे। लेनिनले आफ्नो गुरुको भण्डाभोर गर्नुभयो र हतियार उठाउनुमा होइन दह्रोसँग उठाउन नसकेर विजयमा पुर्‍याउन नसकेर चाँहि गल्ती भयो, अब राम्रोसँग तयारी गरेर झन ठूलो विद्रोह गर्नुपर्छ भनेर १२ वर्षको तयारी गरेर १९१७ को अक्टोबर क्रान्तिमार्फत् सोभियत सत्ता आफ्नो हातमा लिनुभयो। त्यसकारण वीरपूजा र व्यक्तिपूजा प्रवृत्ति पनि गलत हो।

नेतृत्व ठीक रहुञ्जेल नेतृत्वलाई केन्द्रीकरण गर्ने, स्थापित गर्ने काम नगर्नु पनि गल्ती हो। हाम्रोजस्तो निम्न पूँजीवादी प्रवृत्ति भएको समाजमा एकपटक नेतृत्वलाई स्थापित गरिसकेपछि उसले गल्ती गर्दासमेत ऊ नभई क्रान्ति र पार्टीको काम अघि बढ्न सक्दैन भन्नु र उसको फेरसमेत समातेर पिछलग्गु बनिरहने खतरा हुन्छ। मानिस जन्मदा स्वतन्त्र जन्मन्छ र ऊ स्वतन्त्र हुन चाहन्छ। पंक्षीजस्तै आकाशमा कावा खाँदै उड्न चाहन्छ। यो त उसको कल्पित चाहना हो। तर ऊ आवश्यकताको डोरीले बाँधिएको हुन्छ। आवश्यकता र स्वतन्त्रताको द्वन्द्ववाद नबुझ्दा वा बुझ पचाउँदा मानिस अराजकतावादी फन्दामा फँस्छन्। मानिसले आफूले भनेको अनुसार भएन भने स्वतन्त्रताको धक्कु लगाउँदछ। विगतमा माओवादी पार्टीमा यस्तै भएको थियो।

सत्ताको महत्व राम्रोसँग बुझेका बाबुरामलाई पहिलोपटक, जब सत्ता र संघर्षको साधन संयुक्त मोर्चा, तत्कालीन संयुक्त जनमोर्चाबाट हटाएर पम्फा भुसाललाई त्यसको अध्यक्ष बनाइयो। बाबुराम पार्टीबाट स्वतन्त्र भएर विद्यावारिधिको थेसिस गर्न (लेख्न) जान्छु भनेर घुर्की लगाए। दोस्रोपटक जब २०६१ सालमा नेतृत्व केन्द्रीकरणको नाममा पार्टी सत्ता (संयुक्त मोर्चा) र सेना ३ वटै जादुगरी हतियारको जिम्मा प्रचण्डले आफ्नो हातमा लिए। बाबुरामले फेरि स्वतन्त्रताको नारा घन्काउँदै सर्वसत्तावादको डम्फु बजाएर पार्टी र क्रान्ति चौतर्फी घेराबन्दी र अप्ठ्यारोमा परेको बेला कडा भूमिगत अवस्थामा पनि चार बुँदे र १३ बुँदे पत्रमार्फत् आफ्ना स्वतन्त्रताका विचार प्रतिक्रियावादी सञ्चारमाध्यममा सार्वजनिक गरे। पार्टीमा भीषण दुई लाइन संघर्ष चल्यो।

आफूले भनेको भएन भने, आफ्नो प्रवृत्ति अनुसारको नीति र नेतृत्व भएन भने मानिसले त्यो पार्टी र नेतृत्वलाई मान्दैन। त्यही नै अराजकतावाद हो। बाबुरामलाई कम्युनिष्ट आन्दोलनमा सुधारवादी र दक्षिणपन्थी अवसरवादीको रुपमा चिनिथ्यो। त्यसकारण अराजकतावादी प्रवृत्ति वाम, मध्य र दक्षिणपन्थी जुनसुकै प्रवृत्तिमा पनि देखा पर्दछ। कहिले त्यो वाम खोलमा त कहिले मध्य र दक्षिणपन्थीको रुपमा देखा पर्दछ। त्यस्तो कठिन अवस्थामा चलेको दुई लाइन संघर्षमा क. किरणले आफ्नो प्रसिद्ध लेख ‘आवश्यकता र स्वतन्त्रताको द्वन्द्ववाद’मा लेख्नुभएको थियो।

मानिस स्वतन्त्र हुन चाहन्छ। तर ऊ आवश्यकतामा बाँधिन्छ। मानिलिउँ, एउटा नदी तर्नु छ भने कि पौडी खेल्ने सीप चाहिन्छ, कि डुंगा चाहिन्छ, कि पुल चाहिन्छ। स्वतन्त्रताको जतिसुकै दुहाई दिए पनि यी आवश्यकता पूरा भएनन् भने नदी तरेर पारी जान सकिँदैन भनेर लेख्नुभएको छ। यस युगदेखि सुरु भएको राज्यसत्ता साम्यवादमा नपुगुञ्जेलसम्म दुवै वर्गलाई चाहिन्छ, शोषकलाई पनि र शोसितलाई पनि। शोसक वर्गलाई सत्ता (सेना, पुलिस, अड्डा अदालत, नोकरशाही तन्त्र) यस कारण चाहिन्छ कि विरोधी वर्गलाई दबाउन र आफ्नो लुटको स्वर्ग बचाइराख्न शोषित चाहिन्छ। शोषित वर्गलाई सत्ता यसकारण चाहिन्छ कि विरोधी वर्गलाई अधिनायकत्व लगाउँदै सत्ताको विस्तारै विस्तारै विलोपीकरण गर्दै सत्ताविहीन साम्यवादमा पुग्न।

त्यसैकारण ‘राज्यसत्ताबाहेक सबै भ्रम हो’ भनिएको हो। शोसक वर्गले आफ्नो राज्यसत्तामा आँच नआउञ्जेल, सत्ताको अंगमा चोट नलागुञ्जेल बढो संयम भएको नाटक गर्दछ र राज्यसत्तामा जब प्रहार हुन्छ, तब ऊ बहुलाएर विरोधी वर्गमाथि जाइलाग्छ। हवाई मैदान खन्ने धादिङका निहत्था चेपाङलाई पनि शत्रु ठानेर कालिकोटको कोठवाडामा ७५ जनाको एउटै चिहान बनाउँछ। राज्यसत्तामा आँच नआउदा जुझारु, अर्थवादी क्रियाकलाप गरेर करोडौं सामन्त र दलालबाट उठाएर क्रान्तिको नाममा आफ्नो वर्ग उठाउँदा उसलाई खासै ठाउँको दुखाइको विषय हुँदैन। महान् लेनिनले भनेझै वर्गसंघर्ष र सत्ताको संघर्षमा सर्वहारा वर्गसँग ‘संगठनको बाहेक अरु कुनै हतियार हुँदैन’ भनेर सर्वहारा वर्गको पार्टीले आधारभूत विचार र सिद्धान्त मिलुञ्जेल जनवादी केन्द्रीयताको राम्रोसँग पालना गर्नुपर्दछ। सही कुराको विरुद्ध विद्रोह गर्नु मार्क्सको भाषामा नराम्रो कुरा हो।

गलत चीजको विरुद्ध विद्रोह गर्नुमात्र राम्रो कुरा हो। पार्टीलाई सच्याउन आफूलाई लागेको कुरा आफू बसेको सबैभन्दा माथिल्लो कमिटिमा निर्भिक रुपमा राख्ने र तल र बाहिर पार्टीको आधिकारिक निर्णयलाई दृढतापूर्वक प्रतिरक्षा र लागु गर्नुपर्छ। भुलेर पनि आफ्नो कुरा तल्लो कमिटि र बाहिर गर्नु हुँदैन। झन् नितान्त सिद्धान्त र राजनीतिक महत्वसँग प्रत्यक्ष नजोडिएका तत्कालीन कार्यनीतिक खालका निर्णयहरुमा त दुईलाइन संघर्षको विषय बनाउनु पनि हुँदैन। आफ्नो क्षमता र योग्यताले भ्याएसम्म निर्णय कार्यान्वयन गर्न भरमग्दुर प्रयास गर्नुपर्दछ। सबै निर्णयहरु वैज्ञानिक हुन्छन् भन्ने छैन। त्यसको उपयुक्त समयमा समीक्षा हुँदै जान्छ। आफ्नो तर्फबाट पुरै कोशिस भएको कुरामा आफू विश्वस्त हुनुपर्दछ र आफूले औला उठाउने र आलोचना गर्ने ठाउँ राख्नु हुँदैन। यही नै सांगठनिक अराजकता उत्पन्न हुन नदिने उत्तम उपाय हो।

(चन्द्रहरि सुवेदी ‘अटल’, मुलबाटोबाट)।
Comments
Loading...
You might also like