गोरखा जिल्ला : एक संक्षिप्त परिचय

  • 2.4K
    Shares
0

नेपालमा रहेका ७५ जिल्लाहरुमध्ये गोरखा गण्डकी प्रदेशको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्व बोकेको जिल्ला हो। भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टिले महत्वपूर्ण छ। यो जिल्लाले ३६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। समुद्र सतहबाट २२८ मिटरदेखि ८१६३ मिटर उचाइमा अवस्थित तथा २७०१५’ देखि २८०१५’ अक्षांश र ८४०२७’ देखि ८४०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, समशितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाइन्छ।

राजनीतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई संघका २ निर्वाचन क्षेत्र, प्रदेशका चार निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ। त्यसैगरि २ नगरपालिका र ९ गाउँपालिकामा विभाजन गरिएको छ, ती हुन्, गोरखा नगरपालिका, पालुङटार नगरपालिका, अजिरकोट गाउँपालिका, आरूघाट गाउँपालिका, गण्डकी गाउँपालिका, चुमनुव्री गाउँपालिका, धार्चे गाउँपालिका, भीमसेन गाउँपालिका, सहिद लखन गाउँपालिका, सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका।

यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन), पश्चिम सीमानामा तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिव्वत (चीन), उत्तर सीमानामा तिव्वत (चीन) तथा दक्षिण सीमानामा चितवन, तनहुँ र धादिङ जिल्ला पर्दछन्। विसं. २०६८ को जनगणनाअनुसार महिला १५००२० र पुरुष १२१०४१ गरी गोरखा जिल्लाको जम्मा जनसंख्या २७१०६१ रहेको छ।

Gorkha-Nepal

गोरखा दरवार, गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक सम्पदास मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा, कल्छुमन ताल, कालाताल नारदकुण्ड, दुधपोखरी जस्ता ताल तथा पोखरीहरु, मनास्लु, हिमालचुली जस्ता हिमचुचराहरु, विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु यहाँका मुख्य आकर्षणहरु हुन्।

ऐतिहासिक पृष्ठभूमि

नेपाल राज्यको एकीकरण गर्ने श्रेय गोरखा जिल्लालाई दिने गरिन्छ। तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरुले राज्य गर्ने गर्दथे। त्यहाँ प्रत्येक वर्ष विजयादशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो। त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रुपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे। लिगलिगकोटमाथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन। द्रव्य शाह निकै महत्वाकांक्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन। भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरुले उनको उत्साहलाई बढाइरहेका थिए। द्रव्य शाहका सैनिकहरु थापा, भुसाल, मास्के, रानाहरु समेतले गोरखाका राजाको दरवारलाई घेरी आक्रमण गरे। द्रव्य शाहको हतियारबाट खड्का राजाले वीरगति प्राप्त गरे। यस प्रकार वि.सं. १६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए।

द्रव्य शाहले पछि गोरखा राज्यमा उनका वंशजहरु पुरन्हर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, पृथ्वीपति शाह र नरभूपाल शाहले राज्य गरेको पाइन्छ। राजा नरभूपाल शाह र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रको रुपमा वि.सं. १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म भयो। तत्कालीन अवस्थामा नेपाल बाइसी, चौबिसी गरी ५२ भन्दा बढी स–साना राज्यमा विभाजित भएको थियो। यी राज्यहरुबीच एक आपसमा शत्रुताको व्यवहार, मत्स्य न्यायको अवस्था थियो। अर्कातिर भारतमा ब्रिटिस साम्राज्य फैलिसकेकोले तिनीहरुको आँखा नेपालमा परेको थियो। पृथ्वीनारायण शाह सानैदेखि दुरदर्शी, परिश्रमी, लगनशील, दृढ प्रतिज्ञाका भएकाले उनलाई अन्य राजकुमारहरुलाई जस्तो सुख सुविधा, भोग विलास भन्दा त्यस्तै खालको शिक्षा दिक्षा दिइएको थियो। पिताको शासनकालमा उनले राज्य सञ्चालन गतिविधिबारे नियालेर सुक्ष्म अध्ययन गरेका थिए।

ligligkot

वि.सं. १७९९ मा २० वर्षको कलिलो उमेरमा राजा भएका पृथ्वीनारायण शाहले आफ्ने एकमात्र उद्देश्य जे–जसरी हुन्छ टुक्रिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी विशाल नेपाल राज्यमा गाभ्ने अठोट लिए। तद्नुरुप वि.सं. १८०१ मा नुवाकोट, १८९९ मा मकवानपुर, १८२२ मा किर्तीपुर, १८२५ मा कान्तिपुर, ललितपुर, १८२६ मा भक्तपुर विजय गरी गोरखा राज्यबाट विशाल नेपाल राज्यको एकीकरण गरे र देशको राजधानी पनि काठमाडौं बनाए। त्यसपछि उनका वंशज खासगरी प्रतापसिंह शाह, बहादुर शाह, राजेन्द्रलक्ष्मी एवं तत्कालीन भारद्वाज कालु पाण्डे, वंशीधर पाण्डे, भीमसेन थापा, अमरसिंह थापाले एकीकरण विस्तार गरी वर्तमान स्वरुपमा ल्याइपुर्‍याए।

यसरी वर्तमान नेपाल राज्यको उत्पत्ति गोरखा राज्यबाट भएको इतिहासमा वर्णित छ। गोर्खालीहरु वीर बहादुर र परिश्रमी भएकोले तत्कालीन अवस्थामा नेपाल राज्यको एकीकरणमा उनीहरुले पुर्‍याएको ठूलो योगदान एवं नेपाल अंग्रेजबीज वि.सं. १८७१ देखि १८७३ सम्म भएको युद्धमा नेपाली सैनिकहरुले देखाएको अदम्य साहस र वीरताको कदर गर्दै अंग्रेजहरुले भारतमा नेपालीहरुलाई भर्ती गराए। पहिलो र दोश्रो विश्व युद्धमा नेपालले बेलायतलाई साथ दिई युद्धमा भाग लिएको थियो। गोर्खाली सैनिकहरुको वीरगतिको कदर गर्दै जर्मन सम्राट कैजार विलियमले “म मेरा सैनिकहरुलाई संसारका कुनै सेनासंग लडाउन रत्तिभर पनि डर मान्दिनँ। तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ” भनेका छन्। बेलायतकी महारानी एलिजवेथ दृतीयाले “गोरखा सैनिकले इतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन्” भनेकी छिन्।

जिल्लाको नामाकरण

गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट गाइको रक्षा (गो रक्षा) गरिने ठाउँ भएकोले सोही आधारमा यो ठाउँको नाम “गोरखा” रहेको मानिन्छ। नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदा हुँदै गोरखा भएको मानिन्छ। यो जिल्ला अन्तरत घाँसका ठूला ठूला फाँटहरु र खर्कहरु छन्। लिच्छवीकालमा पनि गोरखाको बारेमा चर्चा गरिएको छ। जयदेव द्धितीयको शिलालेखमा वर्णन भएअनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो। यहाँको एक ठाउँमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ। यस जिल्लाको उत्तरी भागमा अवस्थित गुरुङ् र घलेहरुको वस्तीले पर्यटकहरुलाई आकर्षण गरिहरेको छ।

houses-of-barpak-village-nepal

गोरखा जिल्ला नेपालको चौथो ठूलो जिल्ला हो। धादिङ, चितवन, तनहुँ र लमजुङ यस जिल्लाका छिमेकी जिल्लाहरू हुन्। यसको उत्तरी क्षेत्र चीनको तिब्बतसंग जोडिएको छ। पहाडी भू–धरातल रहेको यस जिल्लामा बुढीगण्डकी, मस्र्याङदी, दरौदी जस्ता नदीहरू, मनास्लु, बुद्धिहिमाल, श्रृङगी हिमाल जस्ता हिम श्रृङ्खलाहरू, विभिन्न झरनाहरू, भञ्ज्याङहरू, टारहरू रहेका छन्। यहाँ नेपालमा पाइने प्राय सबै प्रकारको हावापानी पाइन्छ।

गोरखामा वि.सं. १७७९ मा पृथ्वीनारायण शाहको जन्म भएको थियो। गोरखामा जगतमाता भगवती कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ। यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूराको लागि आउने गर्छन्। साथै प्रत्येक अष्टमीका दिन बलि पूजा चढाइन्छ। दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ। कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ। साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो।

manakamana-cable-car

मनकामना मन्दिर, गोर्खा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थीत छ। यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहूको आबुखैरेनीदेखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ। समुद्री सतहदेखि १३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतिर महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ। मन्दिर प्रांगणबाट दुवै समयमा सूर्योदय सूर्यास्तको मनमोहक दृष्य देख्न सकिन्छ।

मनकामना मन्दिर नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो। आफ्नो मनले चिताएको कामना अर्थात् मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहिआएको छ। सोही जनविश्वासका कारण मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफूले चिताएको काम पूरा होस भनि भाकल गर्दछन् र वर्षेनी विभिन्न शुभ साइत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा आउँछन्।

Comments
Loading...
You might also like