बन्दाबन्दीमा नारायण रायमाझी

  • 285
    Shares
0

डा. भीमलाल गौतम

बन्दाबन्दीको पचासौं दिनमा मैले नेपाली लोक संगीतका पुराना र सदावहार पात्र नारायण रायमाझीका गीतहरु सुनेर मनोरञ्जन गरें। मेरो बाल्यकाल लोकसंगितमै हुर्केको हुनाले फुर्सत पाउँदा म प्राय लोकगीतहरु सुन्ने गर्छु। नारायण रायमाझी पाल्पामा जन्मेर हुर्केका पुराना गायक हुन्। नेपाली लोकगायनमा उनको पृथक परिचय छ। उनले हालसम्म सयौं गीतहरु गाएका छन्। पुराना गायक लोकबहादुर क्षेत्रीको सहयोग र प्रेरणाले गायन क्षेत्रमा प्रवेश गरेका नारायणका गीतहरुमा पाल्पाली लोकसंगीतको भरपुर मनोरञ्जन पाइन्छ।

कौरा, बालन, रोधीजस्ता नेपाली लोकसंगीतका स्थापित परम्पराहरुलाई मीठो स्वरमार्फत् मनोरञ्जन दिन पल्केका नारायण रायमाझी पछिल्लो समयमा चलचित्र निर्माण र स्कृप्ट लेखनमा पनि ब्यस्त देखिन्छन्। मन भित्र लुकेका कतिपय माया, प्रेम, मिलन, बिछोड र सामाजिक तथा सांस्कृतिक यथार्थताका भावनाहरुलाई लयात्मक रुप दिई प्रस्तुत गर्नु नै लोक गीतको सबैभन्दा महत्वपूर्ण पाटो हो। मुखले झट्ट भन्न नसकिने शब्द/भावहरुलाई स्वर, भाका र लय मिलाई बिभिन्न थरीका लोक बाजाका साथमा भनिँदा सहज र सरल ढंगले आशय बुझिन्छ। यो छोटो लेखमा नारायण रायमाझीका बिबिध लोकगीतहरुको बारेमा केही चर्चा गरिन्छ।

(क) राम्दी पुलः

नेपाली लोकगीतलाई अलिकति गहिरिएर हेर्ने हो भने धेरैजसो गीतहरु कुनै जम्काभेट हुने महत्वपुर्ण स्थानलाई आधार बनाएर रचिएको पाइन्छ। नारायण रायमाझीका केही कालजयी गीतहरुमा पनि राम्दीपुल देखिन्छ। कालीगण्डकी नदीमा बनेको राम्दी पुल स्याङ्जा र पाल्पा जिल्ला जोड्ने मुख्य द्वार हो, छुट्याउने सीमाना र त्यो भेगको एउटा जिउँदो लोक सभ्यता हो। लाहुर जाँदा त्यो बाटो भएर जाने मानिसहरुले यो पुल नतरी हुन्न र मनले चिताएको पुगोस् भनेर आउँदा जाँदा फूल र पैसा गुडिरहेको बसबाटै कालीगण्डकीमा फाल्ने चलन पनि छ।

राम्दी पुल तर्दा साथ गाउँघरको याद आउने भएर होला र राम्दी तरेका गीतहरु अरु नेपाली लोक गायक गयिकाहरुबाट पनि गाएको पाइन्छ। राम्दी पुल सिद्दार्थ राजमार्गको महत्वपूर्ण ठाउँ हो, जहाँबाट तराई अथवा कुनै समयमा परदेश लागेको सन्देश प्राप्त हुन्थ्यो। “संगै बस्न कहिले नि जुटेन, तिम्रो फोटो साथैमा टुटेन। राम्दी पुल तर्ने, बाँचे त हुम्ला भेट मरे के गर्ने ?” गीतमा उनले  मरणपछिको चिन्ता ब्यक्त गरेका छन् भने उनकै अर्को गीत “राम्दी पुल तरने बित्तिकै, बाँचे भेट मरे त यतिकै”मा पुललाई जीवनको अन्तिम बिदाइको रुपमा पनि लिएको पाइन्छ।

(ख) चाडपर्वः

नारायण रायमाझीका धेरै गीतहरुमा नेपालका मौलिक चाडहरुको बिशेष महत्व दिएको पाइन्छ। आफ्नै दाजु लक्ष्मण रायमाझीको शब्दमा बनेको “नमुछे आमा दहीमा टिका नछरे जमरा, दैवले पर्दा उठायो आमा आउँदिन फर्केर” गीत कुनै समयमा चर्चित बन्यो। यो बियोगान्तक गीतले तत्कालीन नेपालको लाहुरे संस्कृतिभित्र आमाको माया कति छ भन्ने कुराको उजागर गरेको छ। यस्तै अर्को नारायण रायमाझीले शान्ति श्री परियारसित गाएको “धनलाई जीवन होइन दाजु धन हो जीवनलाई, फर्कि चाँडै आउ दाजु घर बुढीआमा रोइरहिछिन् धरधर” भन्ने गीतले बिदेशिएका धेरै नेपालीहरुलाई चाडपर्वमा गाउँघरको माया कति हुन्छ भन्ने कुराको जानकारी गराउँछ। उनले गायिका देवी घर्तिसँग गाएको “भो म त जान्छु ससुरा बाजे माइतिलाई भेटन, रहर मेटन…” भन्ने गीतले नेपाली समाजमा महिलाले गर्नुपर्ने कर्तब्य र बिहा गरेर गएकी चेलीलाई आफ्नो माइती कति प्यारो हुन्छ भन्ने देखाएको छ।

(ग) मायाप्रेमः

नारायण रायमाझीका धेरै गीतहरुमा मायाप्रेमको कुरा देखिन्छ। “बाला जोवन गंगाको पानी बैंश जोवन पूर्णेको जुनजस्तै, हाँस्दा बोल्दा बसेको प्रिति, रहिछौ नानी नम्बरी सुन जस्तै” होस् कि “केहीमा तिम्रो छैन मन बुझेको मलिन मुहार परेली रुझेको, जोवन कर्जामा तिम्रो नाम लेखिसके मेरो दिलको लालपूर्जामा” जस्ता गीतहरुमा वास्तविक मायाप्रिति कस्तो हुन्छ भन्ने देखाउन खोजिएको छ। आधुनिक लयको

 “प्यारी तिमी रुंदी हौ पलपलमा,

घाँसको भारी नैना रेशम बोकेर जंगलमा

बाँचे तिम्रो मरे देउताको

जुनी जुनी नैना रेशम म तिम्रो हुन पाम

जुनी जुनी तिमी एउटाको” भन्ने गीतमा प्रेमको समर्पण देखाइएको छ। प्रेमलाई ख्याल ठट्टा मान्नु हुन्न भन्ने कुरा नारायण रायमाझीले “आँधीखोले दाई माया पैंचो नदेउ साँइली छोडी जानेलाई” भन्ने गीतमा निक्कै मीठो गरी गाएका छन्।

(घ) लाहुरेः

नारायण रायमाझीका अधिकांश गीतहरुमा लाहुरे संस्कृतिको झल्को पाइन्छ। “मन छ आज तिमीसँग रुन, यतिखेर भोलि त नौतुना तिमी कता म कता भोलि त बसौं आज साथैमा” होस् कि “रेलमा छौ कि कि त छौ गाडीमा, कि त पुग्यौ अरबको खाडीमा” जस्ता गीतले परदेशिन लागेको आफ्नो प्रेमीलाई ब्यक्त गरेका गुनासाहरु भेटिन्छन्। उनले शर्मिला गुरुंगसँग गाएको “जाने बेला भैनर भाले बासे नर मायालु, रातैभरि दोहोरी र लैबरीको भाका मायालु, छाडी जान मन त छैन गाजलु ति आँखा मायालु” जस्ता गीत मात्र होइन प्रशस्त कौडा, सालैजो, बालन जस्ता लोकगीतहरुमार्फत् गाउँले परिवेशको माया पिरतिलाई चित्रित गरेका छन्।

(ङ) देशप्रेमः

नारायण रायमाझी एउटा सफल गायक मात्र नभएर देशप्रेमी नागरिक हुन् भन्ने कुरा रमेश बिजीको रचनामा भर्खर रिलिज भएको राष्ट्रिय गीत

“लिपुलेक कालापानी सुस्ता मेरै थियो

भन्थे बरै पुर्खाले अझ धेरै थियो

निमोठेर खायो चिमोटेर खायो

आज आफ्नै छिमेकीले उठीबास लायो

आमा तिम्रो छातीको पाटो

छिमेकीले बनायो मुलबाटो”

जुन उनले चर्चित गायिका शान्तीश्री परियारसँग गाएका छन्। यो गीतले छिमेकी मित्र भारतले कालापानीमा सिमा मिचेको कुरालाई सबिस्तार बर्णन गरेको छ। लोकगीतको उद्गम स्थल मानिने गण्डकी, धौलागिरि र लुम्बिनीको सेरोफेरोलाई आफ्नो कर्मक्षेत्र मानेका नारायण रायमाझीले कोरोना कहरसँगै हरेक नेपालीमा उत्रेको देशप्रेमको भावनालाई गीतमार्फत् पस्केका छन्। सुमधुर स्वरका धनी नारायण रायमाझीका अरु धेरै गीतहरु सुन्न पाइयोस्। मातृभुमी र देशप्रेमले ओतप्रोत भएका यस्ता गीतले बिदेशिएका नेपाली दाजुभाइहरुमा घर फर्कने वातावरण बनाउन सफल हुनेछ र कोरोनाले फेरिएको हाम्रो चिन्तनमा देशप्रेमको भावना बढ्ने छ।

Comments
Loading...
You might also like