जापानमा पत्रकार थापा र पूर्वखेलाडी साहानी सम्मानित

  • 31
    Shares
0

टोकियो, ३ माघ। एक दशकदेखि पत्रकारिता र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष पत्रकार थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ। घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरक्रिया भेटघाट तथा सम्मान कार्यक्रममा थापालाई सम्मान पत्र, उपहार र खादा ओडाएर सम्मान गरिएको शाखाले जनाएको छ।

एक महिने जापान भ्रमणको सिलसिलामा राजधानी टोकियोमा रहेका अध्यक्ष थापालाई सामाजिक संस्थामार्फत् समृद्व समाज निर्माण अभियान अन्तर्गत समाज परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मान गरिएको हो। त्यस्तै सो अवसरमा संस्थाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वखेलाडी जीवन साहानीलाई सम्मान गरिएको छ। केन्द्रीय समितिमा रहेर सामाजिक गतिविधी र खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै उपाध्यक्ष साहानीलाई सम्मान गरिएको हो।

साहानी एक महिने भ्रमणको क्रममा अहिले जापानमा रहेका छन्। कार्यक्रममा बोल्दै घुम्टे युवा परिवारका केन्द्रीय अध्यक्ष थम्मन थापा सन्देशले प्रदेशी भूमिमा संस्थाले प्रदान गरेको अपार माया र सम्मानले सामाजिक उत्तरदायित्व बहन गर्न थप प्रेरणा प्रदान गरेको बताए। उनले विदेशबाट हुने आर्थिक, भौतिक नैतिक सहयोगलाई नेपालमा सहि सदुपयोग गर्न केन्द्रीय समिति र शाखाबीच सहकार्य र समन्वय भइरहने बताए। अध्यक्ष थापाले संस्थाले गरेका गतिविधी, सामाजिक विषयवस्तु र आगामी दिनमा संस्थाले गर्न लागेका भावी कार्ययोजनाहरुको बारेमा जानकारी समेत गराएका थिए।

त्यस्तै उपाध्यक्ष जीवन साहानीले अब केन्द्र र शाखाबीच समन्वय गरेर अक्षयकोष स्थापना गरी सामाजिक कार्यमा अगाडि बढनु पर्ने बताए। उनले समय, अनुशासन र मेहनत के हो भन्ने कुरा जापानबाट सिकेर समृद्व समाज निर्माणमा सबै युवाहरु एकजुट हुनुपर्ने धारणा राखे। कार्यक्रममा शाखा अध्यक्ष दिल बहादुर थापा रामुले शाखाले गरेका गतिविधी र आगामी दिनको कार्ययोजनाको बारेमा जानकारी गराएका थिए।

त्यस्तै शाखा अध्यक्ष थापाले केन्द्रका अध्यक्ष र उपाध्यक्षलाई जापानमा स्वागत गर्न पाउँदा आफूहरु हर्षित भएको बताए । वि.सं २०७५ भदौमा जापानमा संस्थाले शाखा स्थापना गरेको थियो । शाखा स्थापना भएपछि गाउँमा हुने विभिन्न सामाजिक कार्यहरुमा आर्थिक नैतिक भौतिक सहयोग प्राप्त हुँदै गइरहेको छ। स्थापनाको छोटो समयमा शाखाले थुप्रै उदाहरणीय कामहरु सम्पन्न गरेको छ। अतिथि रेष्टुरेण्ट मोतोयावाता टोकियोमा आयोजित उक्त कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका कार्य समिति पदाधिकारीहरु, सल्लाहकारहरु, आजीवन सदस्यहरु, शुभेच्छुकहरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो।

Comments
Loading...
You might also like