अन्नपूर्ण बेस क्याम्पको हिमपहिरोमा ७ जना पुरिएको आंशका

  • 27
    Shares
0

काठमाडौं, ३ माघ। अन्नपूर्ण बेस क्याम्पमा हिम पहिरो जाँदा ७ ना पुरिएको बताइएको छ। अन्नपूर्ण बेस क्याम्पको देउराली नजिकै हिम पहिरो गएको हो।

हिमपहिरोमा परी ४ जना कोरियाली पर्यटक र ३ जना नेपाली श्रमिक गरी ७ जना पुरिएको बताइएको छ। यद्यपि ७ जना पुरिएको विषयमा पुष्टि भने हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय कास्कीले भने अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ अन्तर्गत पर्ने अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा गएको हिम पहिरोमा अहिलेसम्म १ जना व्यक्ति पुरिएको सूचना प्राप्त भएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमूख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले हिम पहिरोमा पुरिएर १ जना व्यक्ति बेपत्ता भएको खबर आएको जानकारी दिए । ‘पहिरो गएको कुरा सत्य हो । तर, त्यसमा कति व्यक्ति परे भन्ने विषयमा विभिन्न हल्ला आइरहेका छन्,’ एसपी कार्कीले भने, ‘हामीलाई प्राप्त सूचनामा अहिलेसम्म पहिरोमा पुरिएर १ व्यक्ति बेपत्ता भएका भन्ने सूचना आएको छ ।’

एसपी कार्कीका अनुसार अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा पर्ने एउटा प्रहरी चौकी छ। तर, उक्त प्रहरी चौकीबाट पहिरो गएको ठाउँमा पुग्न पैदल हिँडेर २ दिन लाग्छ। मौसम खराबीका कारण हेलिकोप्टरमार्फत् पनि घटनास्थल जान नसकिएको एसपी कार्कीले बताए। एसपी कार्कीले अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा अलपत्र परेका ५ जना पदयात्रीको भने उद्दार गरिएको बताए।

Comments
Loading...
You might also like