पूर्वसभामूख कृष्णबहादुर महरा निर्दोष ठहर

  • 45.9K
    Shares
0

काठमाडौं। पूर्वसभामूख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेको छ। लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले सोमवार फैसला सुनाएको हो।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, ‘अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।’ दशैँको ठिक अगाडि संसद् सचिवालयमै कार्यरत महिला कर्मचारीलाई डेरामा गएर दुर्व्यवहार गरेको अभियोग लागेपछि पुर्पक्षका लागि थुनामा राखिएका महरा अदालतको फैसला गरेपछि रिहा हुनेछन्।

महराका पक्षमा वरिष्ठ अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले बहस गरेका थिए।

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि दुर्व्यवहार गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो। तर महराले आफ्नो सचिवालयमार्फत् उनले लगाएका आरोपहरूको खण्डन गरेका थिए। अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने भएका छन्।

पूर्वसभामूख महराले आफूमाथि दुर्व्यवहार गरेको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए। असोज १९ को साँझ, जतिखेर दशैँको अष्टमी पर्व परेको थियो, महरालाई प्रहरीले सरकारी निवासबाटै पक्राउ गरेर लगेको थियो। जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामूख महरालाई दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

तत्कालीन नेकपा माओवादीबाट दाङ क्षेत्र नं २ बाट संसदीय निर्वाचन जितेका ६० वर्षीय महरा तत्कालीन नेकपा एमाले र मा‌ओवादीको समर्थनमा सभामूख बनेका थिए। यी दुई पार्टीको एकीकरणपछि नेकपाको गठन भएको थियो। महराले पदबाट राजीनामा दिएदेखि लामो समयसम्म सभामूखको पद रिक्त रहेको थियो। दुई साता अगाडि सत्ताधारी नेकपाका भित्र पूर्व माओवादीकै नेता अग्नि सापकोटा नयाँ सभामूख छानिएका छन्।

Comments
Loading...
You might also like