‘ठूलो डिजाइनमा महरा फसाइएको थियो, न्याय पाउनुभयो’ : रमन श्रेष्ठ

  • 19.3K
    Shares
0

काठमाडौं। पूर्व सभामुख कृष्णबहादुर महराको तर्फबाट अदालतमा वकालत गरेका अधिवक्ता एवं नेपाल बार एसोसिएनका पूर्व महासचिव रमनकुमार श्रेष्ठले ढिलै भए पनि महराले न्याय पाएको प्रतिक्रिया दिएका छन्। जिल्ला अदालत काठमाडौंबाट महराले सोमवार सफाइ पाएपछि प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता श्रेष्ठले महरामाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका हुन्।

‘उहाँ (महरा) लाई ठूलो डिजाइनअनुसार फसाइएको थियो, राजनीतिक प्रतिशोधले फसाइएको भनेर मैले बहसमै भनेको थिएँ। मिसक्यारिज अफ जस्टिस (न्यायको विचलन) भएको थियो,’ श्रेष्ठले भने, ‘उहाँलाई फसाउन देशभित्रबाट मात्र होइन, विदेशीको पनि हात थियो।’ अभिवक्ता श्रेष्ठले थपे– ‘राजनीतिक करिअर भएको नेतालाई ५ महिनासम्म ठूलो मानसिक यातना दिने काम भयो।’

सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महरा भने सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई अदालतबाट बाहिरिएका छन्। न्यायाधीश अम्बरराज पौडेलको इजलासले निर्दोष ठहर गरेसँगै महरा जेलमुक्त हुँदैछन्। गत कात्तिकदेखि महरा डिल्लीबजार कारागारमा थुनामा थिए।

बबरमहलस्थित जिल्ला अदालतबाट सिधै डिल्लीबजार कारागार प्रस्थान गरेका महरालाई अदालतको फैसलासम्बन्धी पत्र प्राप्त भएपछि रिहा गरिने कारागार प्रशासनले जनाएको छ। संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए।

बलात्कार प्रयासजस्तो गम्भीर आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए। महरा पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा अघि बढेको थियो। मुद्दाको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन कात्तिक १८ गते आदेश दिएको थियो।

Comments
Loading...
You might also like