महराले सफाइ पाएको फैसलामा के छ ?

  • 518
    Shares
0

काठमाडौं। पूर्वसभामूख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेसँगै उनी डिल्लीबजार कारागारबाट घर फर्कदैँछन्।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेसँगै महरा १ सय ३४ दिनपछि कारागारबाट घर फर्कने छन्। जिल्ला अदालतको फैसलामा महरालाई सफाइ दिनुका मुख्य दुई कारण उल्लेखित छन्।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले उक्त दिन महरा आफ्नो कोठामा नआएको बयान दिएपछि अदालतले मुख्य आधार यसैलाई बनाएर महरालाई सफाइ दिएको हो। महराले पनि उक्त दिन रोशनीको कोठा तीनकुने नगएको बयान दिएका थिए।

‘उनी (महरा) कोठामा नगएको भन्ने तथ्य जाहेरवाला (रोशनी) ले बयानका क्रममा पुष्टि गरिदिएकोले अभियोग दाबी बमोजिम प्रतिवादी कृष्णबहादुर महरालाई सफाइ पाउने ठहर गर्छ,’ अदालतले फैसलामा उक्त कुरा उल्लेख गर्दै महराका वकिल मुरारी सापकोटाले भने।

यस्तै पीडित भनिएकी महिलाको कोठामा भेटिएका रक्सीका बोतल लगायतका सामग्रीसँग महराको फिंगरप्रिन्ट परीक्षणबाट तुलनात्मक रुपमा नमिलेको फैसलामा उल्लेख छ। संसद सचिवालयकी महिला कर्मचारीमाथि दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामूख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

असोज १९ गते सभामूख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए। उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो।

Comments
Loading...
You might also like