चीनमा नयाँ देखिएको कोरोना भाइरस के हो, यसबाट कसरी बच्ने ?

  • 205
    Shares
0

काठमाडौं। पहिलो पटक देखिएको एक प्रकारको भाइरसका कारण चीनको वुहान शहरमा दुई जनाको मृत्यु भएपछि नेपालमा पनि त्यसबारे चिन्ता व्यक्त गर्न थालिएको छ।

वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई भर्ना गरी पाँच दिनदेखि चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले शुक्रवार बीबीसी न्यूज नेपालीलाई बताए।

‘ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएका उनलाई ज्यानुअरी १३ देखि भर्ना गरिएको हो,’ पुनले थपे। पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको सङ्ख्या बढिरहेको पृष्ठभूमिमा बेलैमा सजग हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।

चन्द्रमान पात्रो अनुसारको नयाँ वर्ष मनाउनका लागि आउँदा हप्ताहरूमा चीन र अरू एशियाली मुलुकमा लाखौँ मानिसको चहलपहल हुने भएकोले यो भाइरस फैलिन सक्ने डर छ। वुहानको भ्रमण गरी स्वदेश फर्किएका आफ्ना केही नागरिकमा सो भाइरसको सङ्क्रमण देखिएको थाइल्यान्ड र जापानले बताएका छन्।

चिनियाँ अधिकारीहरूका अनुसार नयाँ प्रकारको कोरोनाभाइरसका कारण पछिल्लो पटक मृत्यु हुनेमा गत महिनाको अन्त्यतिर बिरामी परेका एक ६९ वर्षीय वृद्ध रहेका छन्। चिकित्सकहरूका टोलीले सो भाइरसबारे बुझ्ने प्रयासलाई तीव्र पारेको चिनियाँ अधिकारीहरूले बताएका छन्। ‘सीफूड’ विक्री हुने एउटा बजारमा पहिलो पटक नयाँ भाइरस देखिएको ठानिएको छ।

जोखिम कति ?

पछिल्लो समय नेपाल आउने चिनियाँ पर्यटक र चीन जाने नेपालीको सङ्ख्या बढिरहेको पृष्ठभूमिमा बेलैमा सजग हुन आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ। चिनियाँ पर्यटकको आगमन र चीनमा पढ्न जाने विद्यार्थीको संख्यात्मक वृद्धिले नेपालमा पनि संक्रमणको जोखिम बढाएको चिकित्सक बताउँछन्।

यस भाइरसको संक्रमण थाइल्यान्ड, जापान र फ्रान्समा समेत देखिएको छ। मध्यपूर्वी मुलुकमा मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मर्स) र चीनमा सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) भाइरसले सताएको पृष्ठभूमिमा नयाँ भाइरसका रूपमा नोबेल कोरोना भाइरस देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार पछिल्ला भाइरस पनि यसैको सदस्य हो।

कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो। डा. पुनका अनुसार सात वर्षअघि पत्ता लागेको मर्स कोरोना भाइरसको मृत्युदर उच्च छ। तर, मर्सको तुलनामा सार्स भाइरसको मृत्युदर न्यून मानिएको छ। अहिलेको भाइरस नयाँ भएकाले यसको नामकरण पनि नोबेल कोरोना भाइरस राखिएको डा. पुनले बताए।

‘जनावरबाट मान्छेमा भाइरस सरेको हो। मान्छेबाट मान्छेमा कति छिटो सर्छ भन्नेमा अध्ययन/अनुसन्धान भइरहेको छ’, उनले भने। संक्रमण फैलिएको क्षेत्रमा आवतजावत भएमा जोखिमको सम्भावना बढ्ने डा. पुनले बताए।

के हो कोरोना भाइरस ?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (MERS) र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (SARS)जस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो।

नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन। कोरोना भाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो। पहिचान भएका थुप्रै प्रकारका कोरोना भाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका छैनन्।

लक्षण
विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।

  • ज्वरो आउनु र खोकी लाग्नु
  • छिटोछिटो सास फेर्नु
  • श्वासप्रश्वासमा कठिनाइ हुनु
  • गम्भीर भएमा निमोनिया हुनु
  • सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु
  • मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

जोगिने उपाय
यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

  • नियमित रूपमा हात सफा गर्ने
  • खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
  • मासु र अण्डा राम्रोसँग पकाएर खाने
  • संक्रमित व्यक्तिबाट टाढा रहने
Comments
Loading...
You might also like