राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकद शालिक निर्माण गरिने

  • 3
    Shares
0

थम्मन थापा

बागलुङ। बगाले थापाहरूको बाहुल्यता रहेको गलकोट नगरपालिका ७ मल्ममा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको शालिक निर्माण हुने भएको छ। आगामी चैत दोस्रो हप्ता गलकोटमा हुन लागेको राष्ट्रिय बगाले थापा सम्मेलनलाई लक्षित गरी शालिक निर्माण गर्न लागिएको बगाले थापा समाजका केन्द्रीय प्रतिनिधि छुम बहादुर थापाले जानकारी दिए।

मल्म सानोखोला देखि बगाले थापा कुल मन्दिर, राम्चे ढुङगा हुँदै पर्यटकीय स्थल घुम्टे जोडने अमरसिंह पदमार्गमा शालिक निर्माण कार्य सोमबार देखि शुभारम्भ भएको छ। शालिक निर्माण गर्नको निमित्त बगाले थापा समाज बेलायतले नगद १ लाख ७० हजार सहयोग उपलब्ध गराएको गलकोट नगरपालिका ७ मल्म निवासी समाजका सदस्य राम बहादुर थापाले जानकारी दिए।

चैत १३ र १४ गते सात सय बगाले थापा समाजको आयोजनामा हुन गइरहेको राष्ट्रिय बगाले थापा सम्मेलनमा देशभरका बगाले थापाहरूको गलकोटमा जमघट हुँदै छ। बगाले थापाहरुको इतिहास, राष्ट्रिय विभूतिहरूको योगदान लगायतका विषयवस्तु माथि बहस अन्तरक्रिया तथा छलफल गरिने बताइएको छ। बडाकाजी अमरसिंह थापा नेपालका एक राष्ट्रिय विभूति हुन।

बगाले समाज बेलायतले बगाले थापाहरुको उद्गम थलो म्याग्दीको धौलागिरी गाउँपालिका स्थित ताकम धारापानीमा निर्माण भएको निशान कालिका मन्दिरलाई समेत यसअघि झन्डै ४ लाख सहयोग गरेको थियो। अहिले बगाले थापाहरूको राष्ट्रिय सम्मेलन सफल पार्न देशव्यापी भेटघाट अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेको छ।

Comments
Loading...
You might also like