सभापति देउवाद्वारा ज्ञवालीको निधनप्रति दुःख व्यक्त

  • 16
    Shares
0

काठमाडौं। नेपाली कांग्रेसका पूर्व सांसद भागवत ज्ञवालीको निधन भएको छ। उनको उपचारका क्रममा ललितपुर अवस्थित अल्का अस्पतालमा निधन भएको हो। उनी केही समयदेखि अल्सर रोगबाट पीडित थिए।

ज्ञवाली नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति हुन्। २०४८ सालको आम निर्वाचनमा उनी तत्कालीन गुल्मी निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभामा बिजयी भएका थिए। पूर्व सांसद ज्ञवाली त्यस समयमा मानव अधिकार तथा परराष्ट्र समितिका सभापति समेत भएका थिए।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरेका छन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ। उहाँले नेपालको प्रजातान्त्रिक/लोकतान्त्रिक आन्दोलनहरू तथा नेपाली कांग्रेसको संगठनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो। उहाँको निधनबाट पार्टीले एक निष्ठावान् नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ।’

‘उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु। साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु,’ जारी विज्ञप्तिमा भनिएको छ।

Comments
Loading...
You might also like