डिप्रेसन भएको कसरी थाहा पाउने ?

  • 69
    Shares
0

काठमाडौं। दिनभरमा हामी कुनै न कुनै कुराले चिन्तित हुन्छौं। करियरको कुराले, पैसाको कुराले, विफलताको कुराले, साथीभाईको कुराले, शारीरिक रोगको कुराले, छोराछोरीको कुराले, परिवारको कुराले।

मानविय जीवनमा चिन्ता हुनु स्वभाविक हो। हामी चेतनशिल छौं, चिन्ता हुन्छ नै। तर, जब चिन्तालाई व्यवस्थापन गर्न सक्दैनौं, त्यसले हामीलाई मानसिक रोगी बनाउँछ। किनभने चिन्ता एक किसिमको मानसिक विकार हो।

नेपालीमा उखान नै छ, चिन्ताले चितामा पुर्‍याउँछ। अर्थात चिन्ताले शरीरलाई जिर्ण र रोगी बनाउँछ। यसले हामीलाई सामाजिक जीवनबाट अलग गराउँछ। के विश्लेषण गरिएको छ भने, अबको केही बर्षपछि विश्वको सबैभन्दा ठूलो शारीरिक समस्यामा चिन्ता वा डिप्रेसन देखापर्नेछ।

चिन्ताको गहिरो रुप डिप्रेसन हो। डिप्रेसन मानसिक समस्या हो। न यसको उपचार औषधीले मात्र संभव छ। न शल्याक्रिया गरेर नै। किनभने मानसिक व्यवस्थापन नै यसको सबैभन्दा प्रभावकारी विधि हो। तर, चिन्ताग्रस्त व्यक्तिलाई मानसिक रुपले ठिकठाक आवस्थामा ल्याउन सजिलो भने छैन।

के हो डिप्रेसन ?

व्यक्तिको भावना वा सोचमा नकारात्मकता आउनु वा उदासीपन आउनु डिप्रेसन हुनु हो। पछिल्लो समय डिप्रेसन साझा समस्याका रूपमा देखिएको छ। यो जुनसुकै उमेर समूहमा हुन सक्छ।

बदलिँदो जीवनशैली, विभिन्न दबाब आदि कारणले पछिल्लो समय मानिसहरुमा डिप्रेसन देखिने गरेको छ। डिप्रेसनको परिबेश त्यतिबेला हुन्छ, जब हामी जीवनका हरेक आयामहरुलाई नकारात्मक दृष्टिकोणले सोच्न थाल्छौं। जब यो चरम अवस्थामा पुग्छ, मानिसलाई आफ्नो जीन्दगी बेकार लाग्न थाल्छ र बिस्तारै विस्तारै मानिस डिप्रेसनको स्थितिमा पुग्छ।

चिन्ता र तनावका कारण शरीरमा कति हार्मोन्सको तह बढ्छ, जसमा एडि्रनलीन र कार्टिसोल प्रमूख छन्। लगातार तनाव र चिन्ताको स्थिति बिस्तारै डिप्रेसनमा परिणत हुन्छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मानिसलाई ‘डिप्रेसन’ हुन्छ।

डिप्रेसन भनेको मनको रोग हो। नैराश्यता हुनु भनेको नै मानसिक रूपमा कमजोर हुनु हो। मानिसलाई सामाजिक रूपमा अशक्त बनाउने रोगमध्ये दोस्रो नम्बरमा डिप्रेसन पर्छ। पुरुषलाई भन्दा महिलालाई बढी डिप्रेसन भएको पाइएको छ।

डिप्रेसन भएको कसरी थाहा पाउने ?

कहिलेकाहीँ उदास हुनु, दिक्क लाग्नु डिप्रेसन होइन। यसलाई ‘मुड डिसअडर’ भनिन्छ। डिप्रेसन मनको रोग हो। नैराश्य भएर मन कमजोर हुनु नै डिप्रेसन हो। मन कमजोर हुँदा सुख र आनन्द महसुस हुन सक्दैन।

धेरैजसो समय दुःखी भएर बस्ने, लगातार २ हप्ताभन्दा बढी दुःखी हुने, नैराश्य भइराख्नु, कुनै कुरामा खुसी हुन नसक्नु, आफूले भनेजस्तो नहुँदा ससानो कुरामा रिसाउने, झिजिने, आत्मबल कमजोर हुने डिप्रेसनका लक्षण हुन्। डिप्रेसन बढ्दै जाँदा भोक–निद्रा लाग्दैन, यौन इच्छामा कमी आउँछ। जुन चिजमा रमाइलो लाग्थ्यो, त्यो कुरामा इच्छासमेत जाग्दैन।

सामूहिक रूपमा गरिएका कुराकानीहरु आफूप्रति नै लक्षित हो कि भनेजस्तो ठान्छन्। यी कुरा लगातार २ हप्तासम्म भए डिप्रेसन भएको हो भनेर थाहा पाउन सकिन्छ। डिप्रेसन पीडितले सम्पूर्ण कुरामा आशा मार्छ।

जिन्दगी बेकार छ भन्ने महसुस हुन्छ र आत्मबल कमजोर हुने भएकाले किन बाँच्ने, केका लागि बाँच्ने भन्नेजस्ता कुरा मनमा खेलाउन थाल्छ। यस्तो अवस्थामा आफ्नो दैनिक नियमित कामसमेत गर्न नसक्ने अवस्थामा पुग्छ।

डिप्रेसनका लक्षण

रुन मन लाग्ने, निराश हुने, एक्लै बस्न रुचाउने, झर्को लाग्ने, दिक्क मान्ने, बोल्न मन नलाग्ने, छटपटी हुने, हातखुट्टा झमझम गर्ने, पैताला पोल्ने, तालु पोल्ने, मुख सुक्ने, आत्मग्लानि हुने, नकारात्मक सोचाइ, निद्रा कम पर्ने, खानामा रुचि नहुने, आफूलाई निकम्मा सम्झने, मर्न पाए हुन्थ्यो भन्ने, बारम्बार रुने, शंका लाग्ने, कानमा आवाज आएको अनुभूति हुने लगाएतका लक्षण देखिने गर्छन्।

कतिलाई भने जो मानिस देख्यो उही पागलजस्तो लाग्ने हुन्छ भने कतिलाई आफूलाई मानसिक समस्या छ जस्तो अनुभूति हुन्छ। मनोविश्लेषक आचार्यका अनुसार कतिपय मानिस आफैँ डिप्रेसनमा गएँ कि भन्दै उपचार गर्न आइपुगेका पनि छन्।

भर्खरै मात्रै गुगलले नौ प्रश्न सोधेर डिप्रेसन छ या छैन पत्ता लगाउने एप्लिकेसन तयार पारेको छ। यस एप्लिकेसन नेपालमा प्रयोगमा भने आइसकेको छैन। अमेरिकीहरुमाझ प्रयोगका लागि यो तयार पारिएको हो।

बच्ने उपाय

डिप्रेसनको अवस्थामा मनमा एउटै कुरा घुमाइरहनु हुँदैन। बरु मन परिवर्तन गर्नुपर्छ। कुनै नराम्रो अनुभव मनमा लिइरहँदा मस्तिष्कमा समेत असर पुर्‍याउँछ। त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने। मन भुलाउने प्रयत्न गर्नुपर्छ।

त्यस्तै निन्द्रालाई नियमित राख्ने, स्वस्थ खाना समयमै खाने, तनाव सबैलाई हुन्छ तर यसलाई कसरी कम गर्न सकिन्छ त्यसबारे सोच्ने, आफूले जति सकिन्छ त्यति नै महत्वाकांक्षा राख्ने, परिवारसँग बस्ने, आफ्नो काममा व्यस्त र मस्त रहने गर्नुपर्ने आचार्य बताउँछन्।

Comments
Loading...
You might also like