विश्व बैंकको निष्कर्ष : ओली सरकारको कार्यकालमा असाधारण उपलब्धि भएका छन्

  • 40
    Shares
0

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा नेपालले असाधारण उपलब्धि हासिल गरेको विश्व बैंकले आफ्नो निष्कर्ष सुनाएको छ। नेपालको सबैभन्दा ठूलो विकास साझेदार विश्व बैंकले ओली सरकार गठनपछि नेपालमा यस्तो उपलब्धि हासिल भएको आफ्नो निष्कर्ष सुनाएको हो।

नेपालको पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा प्रत्यक्ष योगदान दिँदै आएको विश्व बैंकको राष्ट्रिय प्रबन्धकका रूपमा विगत दुई वर्षयता काम गरिरहेका फारिस एच हदाद जर्भोसले यस्तो बताएका हुन्। ‘विश्व बैंकको आँखाबाट हेर्दा नेपालमा पछिल्ला दुई वर्षमा असाधारण उपलब्धि भएको छ, सत्य कुरा के हो भने हामीले यो दुई वर्षमा नेपालमा प्रगति भएको देखेका छौँ,’ ओली सरकारका उपलब्धिबारे एक अनलाइनसँगको अन्तरवार्तामा जर्भोसले भनेका छन्।

उनले सोही अन्तर्वार्तामा भनेका छन्, ‘नेपालमा बलियो आर्थिक विकास भएको छ। विगतका केही वर्ष नेपाल ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदरको हाराहारीमा अल्झिएको थियो। गत वर्ष ७.१ प्रतिशतको वृद्धिदर हासिल भएको छ। चालु वर्ष ६.४ प्रतिशतको हाराहारीमा रहने हाम्रो मोटामोटी अनुमान छ। हामी भविष्यमा पनि यस्तै उच्च आर्थिक वृद्धिको सम्भावना देखिरहेका छौँ।’

नेपाल र विश्व बैंकले पाँच वर्षे कन्ट्री पार्टरनसिप फ्रेम वर्क भित्र बसेर काम गरिरहेको उल्लेख गर्दै उनले बितेका दुई वर्षमा धेरै काम गर्नका लागि आधार तयार गरेको बताए। ‘आधुनिक नेपालको ऐतिहासिक दुई वर्षमा हामीबीचको सहकार्यमा धेरै काम अघि बढे भन्ने मलाई लाग्छ,’ जर्भोसले भने।

उनका अनुसार नेपाल अहिले नयाँ संरचनामा प्रवेश गरेको छ। नेपालमा नयाँ संविधान बनेको छ। सङ्घीयता कार्यान्वयन भएको छ। संविधानको कार्यान्वयनमा नेपालले ठूलो प्रगति गरेको अनुभव उनले सुनाए। ‘नेपालमा सङ्घीयताको कार्यान्वयन भएको छ। वित्तीय सङ्घीयताको व्यवस्थापन नेपाल अघि बढेको छ। स्थानीय र प्रदेश तहका सरकार र संसदले काम अघि बढाएका छन्। उनीहरूले सेवा प्रवाह गरिरहेका छन्। बजेटको कार्यान्वयन अघि बढेको छ। सङ्घीयताको संक्रमणकाल असाध्यै जटिल र लामो समयसम्म रहिरहने विषय हो। यसले दशकौँ र शताब्दीसम्म समय लिन सक्छ,’ उनले भनेका छन्।

उनका अनुसार विश्व बैङ्कले नेपालमा धेरै परिवर्तन भएको देखेको छ। ‘नेपालको आर्थिक परिदृश्यहरूमा परिवर्तन भइरहेका छन्। अबको मुख्य विषय भनेको अहिलेको आर्थिक वृद्धिलाई कसरी दिगो बनाउने र भविष्यमा यसको निरन्तरता कसरी दिने भन्ने हो। सरकारको प्राथमिकता निजी क्षेत्रको भूमिका बढाउने र विकास प्रक्रियालाई तीव्रता दिने भन्ने छ। अर्को कुरा अहिले आर्थिक क्रियाकलाप काठमाडौँ उपत्यकामा मात्रै छैनन्, देशको सात वटा कुनामा फैलिएको छ। नेपालले हासिल गरेका महत्त्वपूर्ण र विशिष्ट परिवर्तन यिनै हुन,’ जर्भोसले भनेका छन्।

Comments
Loading...
You might also like