‘कालोबजारीलाई पाँच जना साक्षी राखेर काटिदिए हुन्छ’

  • 39.6K
    Shares
0

काठमाडौं। वि.सं. १९९० को विनाशकारी महाभूकम्पपछि तत्कालीन अवस्थालाई हेरेर तत्कालीन श्री ३ जुद्ध शमशेर राणाले भनेका थिए, ‘राष्ट्रिय संकटको घडीमा कसैले कालाबजारी गरेको थाहा भएमा मलाई भन्नु पर्दैन र प्रशासन धाउनु पर्दैन, पाँच जना साक्षी राखेर काटिदिए हुन्छ।’

यति मात्र होइन, जुद्ध शमशेरले थुप्रै सुधारका कार्य गरेका थिए। जुद्धशमशेरले औद्योगिकरणको नीति लिए। उनले आफूले पनि उद्योगमा लगानी गरे र अरु मानिसलाई पनि उद्योगमा रकम लगानी गर्न प्रेरित गरे। उनले वि.सं. १९९२ मा उद्योग परिषदको स्थापना गरे। उद्योगको संरक्षणको लागि औद्योगिक कानूनको व्यवस्था गरे।

वि.स. १९९३ मा कम्पनी कानुन, वि.सं. १९९४ मा नेपाल बैंक लिमिटेड , १९९३ मा विराटनगर जुट मिल, १९९५ मा द जुद्ध म्याच फ्याक्ट्री, १९९९ मा कटन मिल्स, २००० मा नेपाल प्लाइउड एण्ड बबिन फ्याक्ट्री, मोरङ विद्युत, नेपाल माइका कम्पनी, नेपाल चामल र मैदा कारखाना, १९९२ मा नेपाल केमिकल इन्डष्ट्रिजहरूको स्थापना गरे। त्यस्तै स–साना उद्योगहरूमा सेरामिक्स फ्याक्टरी, कागज कारखाना, साबुन कारखाना, खानी उद्योग, नर्सिङखोला नुन उद्योग, फर्निचर उद्यो, भाँडा उद्योग, जस्ता उद्योगहरू खुले।

नेपालमा कुटिर उद्योगका निम्ति जुद्ध शमशेरले घरेलु इलम प्रचार अड्डामार्फत् कतुवा, चर्खा, तान, धागो र प्रविधि सम्बन्धी तालिम दिने व्यवस्था मिलाए। वि.सं. १९९४ जेठमा नेपालमा १२ दिन उद्योग प्रदर्शनी आयोजना गरियो। १९९६ मा र २००१ मा पनि त्यस्ता प्रदर्शनी भएका थिए। त्यस्ता प्रदर्शनीमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको थियो। सर्वप्रथम नेपालमा सदर मुलुकी खानाबाट कागजी नोट छाप्ने चलन पनि श्री ३ जुद्धकै समयबाट भएको थियो। वि.सं २००० सालमा सर्लाही जिल्लामा जुद्ध नहरको निर्माण भयो।

सेनामा जागिर खाने मानिसलाई नगद तलब दिने, निवृत्तभरण, सैनिक द्रव्यकोष (हालको कर्मचारी सञ्चय कोष), अवकाशको व्यवस्था पनि भयो। निजामती कर्मचारी र प्रहरी सेवामा पनि केही सुधारहरू भए। चिडियाखाना, सङ्ग्राहलाय, जन्म मृत्यु दर्ता, खानी अड्डा, समाचार सङ्ग्रह, वनस्पति अड्डा, वनविभाग, व्यापारिक समाचार सङ्ग्रह गर्ने व्यवस्था श्री ३ जुद्धशमशेरले गरे।

राणाहरूले आपसमा जति अन्याय गरे पनि रैतीलाई स्वच्छ न्याय प्रदान गर्दथे। त्यस काममा श्री ३ जुद्ध शमशेर एक पाइला अगाडि बढेर ८ जिल्लामा पुनरावेदन अदालत खोली केन्द्रमा प्रधान न्यायालयको स्थापना गरे। वि.सं. १९९७ साल श्रावण १ गते प्रधानमन्त्री श्री ३ जुद्द शमशेरको पालामा नै एक सनद जारी भई नेपालमा प्रधान न्यायालयको स्थापना भएको थियो। सो सनद बमोजिम न्यायाधीश जनरलको निर्वाचन भई बहादुर शमशेर जवरा न्यायाधीश जनरल पदमा निर्वाचित भएको पाइन्छ। सोभन्दा पहिले प्रधानमन्त्रीले नै न्याय निसाफ समेतको कार्य गर्ने व्यवस्था रहेको थियो।

जुद्ध शमशेरले शिक्षामा समेत राम्रो योगदान पुर्याएका थिए। वीरगञ्ज, गौर, काठमाडौंं जस्ता ठाउँमा उनले पब्लिक स्कुलहरूको स्थापना गराए। विद्यार्थीहरूलाई पढाइमा अभिमुख गराउन पुरस्कार, निशुल्क र तत्कालै जागिर दिने बन्दोबस्त मिलाए। वि.सं. १९९१ देखि नेपालमा म्याट्रिक जाँचको केन्द्र स्थापना गरी शिक्षा मन्त्रालयले त्यसको जिम्मा लियो। त्यो कामबाट नेपाली विद्यार्थीले जाँच दिन बाहिर जानु परेन। शारदा र उद्योग जस्ता साहित्यिक पत्रिका चलाउने श्री ३ जुद्धले गोरखापत्र साप्ताहिकलाई हप्तामा दुई अङ्क प्रकाशनको आरम्भ भयो। प्रयोगशाला, हुलाक टिकट, छापाखानाको विकास पनि राम्ररी गरियो।

सामाजिक सुधारका क्षेत्रमा पनि जुद्धशमशेरले धेरै काम गरे। सामाजिक चाडपर्वमा कम खर्च गर्न र विवाहका निम्ति दुवैको उमेर तोकेर बालविवाह र अनमेल विवाह रोके। त्यस्तै आशौच, देउकी प्रथा, काजकिरिया, व्रतबन्धजस्ता कुरामा सुधार गरे। आगलागीका घटनाबाट पाठ सिक्दै उनले जुद्ध वारुण यन्त्रको स्थापना गरे। सदर चिडियाखानाको स्थापना वि.सं. १९८९ मा प्रधानमन्त्री जुद्ध शमसेरले निजी चिडियाखानाको रुपमा सदर चिडियाखाना स्थापना गराएका थिए।

वि.सं. १९९० साल माघ २ गतेका दिन दिनको २ बजेको महाभूकम्पमा प्रधानमन्त्री जुद्ध शमशेरले भूकम्प पिडितोद्वार संस्था र कोषको स्थापना गराई स्वयंसेवी सेवा, निव्र्याजी ऋण सुविधा दिई तत्कालीन राष्ट्रिय विप्लवबाट पार पाउने प्रयास गरेका थिए।

विसं १९९० चैत ०१ जुद्ध शमशेरले सी क्लासका राणाहरुलाई चार भञ्ज्याङबाट कटाउने कटु निर्णय लिए। उनीहरुलाई रोलक्रमबाट पनि झिकियो। तदनुसार कमाण्डर इञ्चीफ रुद्र शमशेरलाई पाल्पाको तैनाथवाला, हिरण्यशमशेर वीरगञ्ज, प्रतापशमशेर इलाम, रामशमशेर जलेश्वर लघारिए। त्यसैगरि जनरल तेजशमशेर, रामशमशेर, महावीरशमशेर, सुवर्णशमशेर लगायतका राणाहरू सपरिवार उपत्यकाबाट चैत्र ५ गते लस्कर साथ टिस्टुङको बाटो बाहिरी पाटो लागे।

वि.सं. १९९३ मा नेपाल प्रजा परिषद्को स्थापना भयो। वि.सं. १९९७ सालमा राणा शासन विरुद्ध पर्चा छरेपछि २ सयजना जति पक्राउ परे। वि.सं. २००७ सालको क्रान्तिको आधारभूमि तयार पार्ने ५ जना युवाहरू, टंकप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा र जीवराज शर्मा थिए। १९९७ माघमा शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइयो।

वि.सं. २००२ मार्ग ४ गते बृहद् भारदारी सभामा आफ्नै हातले श्रीपेच झिकी पद्मशमशेरलाई लगाइदिए। नेपालको इतिहासमा स्वेच्छाले पदत्याग गर्ने प्रथम प्रधानमन्त्री समेत हुन्। उनी भन्दा अधिका प्रधानमन्त्रीहरुको पदमै रहदा हत्या, मृत्यु वा दबाबमा राजीनामा आएको थियो। उनी अर्घेलीबाट देहराधुन भारत पसे, जहाँ वि.सं २००९ मार्ग ८ गते उनको निधन भयो।

स्रोत : विकिपिडिया

Comments
Loading...
You might also like