काव्यशास्त्रमा कान्ट र हेगलको दर्शन के हो ?

  • 110
    Shares
0

१. कान्ट :– कान्ट इतिहासका प्रकृतिवादी व्याख्याता हुन्। तर उनको ऐतिहासिक प्रकृतिवाद दुई किसिमको छ, (१) विवेकहीन मान्छेहरुको समूहको इतिहास चाहिँ पूर्णतः कारण र परिणामका खटनले चल्ने प्राकृतिक नियमहरुकै वशमा हुन्छ, तर (२) विवेकशील व्यक्तिहरुका समूहले त्यस्ता प्राकृतिक नियमबाट चल्ने सामाजिक गन्तव्यलाई विवेकशील उन्नति र प्रगतितिर लैजाने हुनाले परिणाममा प्रकृतिले नै विवेकशील उन्नतितिर इतिहासलाई अघि बढाउन प्रेरणा दिन्छ। यसरी कान्टका विचारमा इतिहास एकातिर कारण–परिणाममय हुन्छ भने अर्कातिर इतिहास विवेकशील गन्तव्यनिष्ठ हुन्छ।

तर कान्टले यी दुवै किसिमका इतिहासलाई परस्पर सम्बद्ध ठहराएका छन्, किनभने सर्वसाधारण बहुसङ्ख्यक मान्छेको भीड त स्वार्थ, होड, युद्ध र तानातानको प्राकृतिक नियमले नै चल्छ। तर दुर्घटना र सर्वनाशमा टुङ्गो लाग्ने त्यस्तो प्राकृतिक इतिहासको दुष्परिणामलाई विवेकले छेकारो लगाउँछ र इतिहास विवेकका खटनमा प्रगति पथमा अघि बढ्छ। यसरी कान्ट (Kant, Idea for a Universal History with a Cosmopolitan Purpose 41-53) को इतिहास दर्शनमा एकातिर प्रकृति र संस्कृतिको द्वन्द्वात्मक समन्वय पाइन्छ भने अर्कातिर प्राकृतिक नियमले चल्ने सामूहिकता र प्रबुद्ध व्यक्तिहरुका खटनमा चल्ने कला, साहित्य, दर्शन, विवेक र नैतिकताको विजय भएर विश्वभरकै इतिहास दीर्घकालमा सधैँ अग्रगामी हुन्छ भन्ने सकारात्मक र आशावादी प्रज्ञापन्थी र प्रकृतिवादी काव्यशास्त्र पाइन्छ।

२. हेगल – (McCarney; Hegel, Lectures on the Philosophy of History; Hegel, HegelÚs Phenomenology of Spirit [1807] : कान्टले इतिहासलाई सार्वभौम र शाश्वत नियम अनुसार चल्ने ठहराए भने हेगलले चाहिँ इतिहासलाई द्वन्द्वात्मक एकाइका रूपमा चिनाए। हेगलको द्वन्द्वात्मकता अन्तरक्रियात्मक थियो र उनको इतिहास दर्शन समसामयिक जर्मनीमा प्रचलित तुलनात्मक भाषाशास्त्र अथवा ऐतिहासिक भाषा विज्ञानको तुलनात्मक ऐतिहासिक पुनर्निर्माणको शोध विधिबाट प्रभावित थियो। टीएस इलियट र अक्सटको इतिहास दर्शनमा पनि हेगलमा परेको तुलनात्मक भाषा शास्त्रको शोध विधिकै प्रभाव देखिन्छ। इतिहासले अतीतको वास्तविकतालाई समेटेको हुन्छ भन्ने मान्यताका आधारमा भाषा शास्त्रको तुलनात्मक विधिको उपयोग गरिएको हो।

ऐतिहासिक भाषा विज्ञानमा उच्चारण र अर्थ झन्डै मिल्ने एउटै परिवारका अनेक भाषाका शब्दहरुमा ध्वनि परिवर्तनको नियमका आधारमा ती विश्लेषण गरिएका सबै भाषाहरुको तुलनात्मक पारिवारिक इतिहासको पुनर्निर्माण गरिन्छ। पहिले दुइटा शब्दको मात्र तुलना गरेर एउटामा भएको अर्कामा नभएको ध्वनिको अभिलक्षण छुट्याएर ती दुइटा शब्दको तुलनात्मक इतिहासको निर्णय गरिन्छ। त्यस शोध विधि अनुसार दुइटा शब्दको ध्वनिको अभिलक्षणमा चाहिँ व्यतिरेकी द्वन्द्वात्मकताको खोजी गरिन्छ अनि नियम फेला परेपछि ती दुइटै शब्द जुन–जुन भाषाका छन्, ती दुइटै भाषाहरु एउटै परिवारका ठहर्छन्। जसरी वंशावलीका वंश वृक्षमा हाँगा व्यतिरेकी अनेकता र द्वन्द्वात्मकतातिर र फेद एकात्मकता र समन्वयतिर हुन्छ यस्तै द्वन्द्वात्मक एकता मानव दर्शनमा अर्थात् ज्ञानको बुझाइमा पनि हुन्छ भन्ने हेगलको धारणा छ।

तुलनात्मक भाषा शास्त्रको अनुसन्धानमा तेस्रो शब्द भेटिए पछि त्यसलाई समेत समेट्ने गरी अघिका दुइटा शब्द जोडेर निष्कर्ष निकाल्दा थपिन आएको नयाँ शब्द दुइटा शब्द मात्रका आधारमा गरिएको निर्णयमा द्वन्द्वात्मक भएर तेर्सिन्छ। त्यस शब्दलाई नियमले समेट्ता अगाडिको नियम समेत खज्मजिन्छ र संशोधित नयाँ नियम बन्छ। नयाँ भाषा फेला पर्‍यो भने, नयाँ अभिलेख भेटियो भने, व्याख्या गर्ने नयाँ सिद्धान्त बन्यो भने त्यसलाई समेट्नका लागि अगाडि ठडिएको निष्कर्षमा परिमार्जन हुन्छ र ज्ञान समन्वयात्मक रूपमा अघि बढ्छ।

हेगलको इतिहास दर्शन कान्टको ”प्रज्ञा’ भनेको के हो ?’ (Kant, Idea for a Universal History with a Cosmopolitan Purpose 41-53) भन्ने विचारबाट प्रभावित छ। कान्टझैँ हेगल पनि इतिहास अग्रगामी र विवेकशील मार्गमा अघि बढ्ने मान्छन्। हेगल विश्वभरका मानव जातिको इतिहासलाई द्वन्द्वात्मक, अन्तरक्रियात्मक र निश्चित सार्वभौम ढाँचामा अघि बढ्ने ठान्छन्। इतिहासमा जुन मानव समुदायले विवेकशील आत्मनिर्णय गर्छ, त्यो अग्रगामी, विजयी र स्वतन्त्र हुन्छ, अनि जुन समुदाय चाहिँ आत्मनिर्णय गर्न सक्तैन, त्यो पराजित र परतन्त्र हुन्छ। यसरी इतिहास भनेको मानव समुदायका उत्तरोत्तर विवेकशील निर्णयका द्वन्द्वात्मक परिणामको एकीकृत आख्यान हो भन्ने हेगलको विचार छ।

टीएस इलियट (Eliot 47-59) ले हेगलको यसै विचारबाट प्रभावित भएर ‘परम्परा र व्यक्तिगत प्रतिभा’ भन्ने लेखमा के लेखेका छन् भने कुनै कविले आज एउटा कविता लेख्ता त्यस कविताले होमरदेखि आज सम्मका ऐतिहासिक र समसामयिक सबै कविका कविताहरुसँग मिल्न र बेग्लै हुन होड गर्नुपर्छ। त्यो कविता समग्र परम्परामा नौलो हुन सकेन भने, कवितै हुन सक्तैन। यसरी आज लेखिएको एउटा नयाँ कविताले एकातिर परम्परालाई नै खल्बल्याई दिन्छ र परम्परागत र समसामयिक सबै कविताको स्थापित मूल्यलाई पुनर्मूल्याङ्कन गर्नुपर्ने अवस्थामा पुर्‍याइदिन्छ।

यसो हुँदा आज लेखिएको नयाँ कविता र परम्परामा लेखिएका कवितासित द्वन्द्वात्मक र अन्तरक्रियात्मक समन्वय हुन्छ, परम्पराले आजको नौलो कविताको मूल्यको खटन गर्छ भने आज लेखिएको नौलो कविताले पनि परम्परागत र समसामयिक समग्र आदर्श कविताहरुका मूल्यको पुनर्विन्यास गरी दिन्छ। इलियटले यसरी व्यक्तिगत प्रतिभा र परम्पराका बिचमा द्वन्द्वात्मक अन्तरक्रियात्मक साइनो हुने कुरो हेगलको इतिहास दर्शनका आधारमा स्थापित गरेका छन्। कवि र कलाकारको निर्वैयक्तिकताको सिद्धान्त पनि इलियटले यसै विचारका आधारमा प्रस्तावित गरेका छन्।

Comments
Loading...
You might also like