अँध्यारो वृन्दावन (कविता)

Pratha-2
  • 204
    Shares

– प्रथा

उसबेला
साझा नै थियो
मान्छेले टेक्ने यो धर्तीको माटो
साझा नै थियो
मान्छेले सोच्ने विचारको तरङ्ग
र साझा नै थियो
मान्छेले बजाउने प्रेमको सितारा पनि !
सायद,
साझा नै थियो
मान्छेले तर्ने आफ्नै आँसुको नदी
र साझा नै थियो होला
मान्छेले गाउने स्वतन्त्रताको गीत पनि !
……….

जब झाङ्गिन थाल्यो
मस्तिष्कको पोखरीभरि – जलकुम्भी झार
तब सुक्न थालेको हो
मान्छेभित्र करूणा र प्रेमको सिमसार !
मान्छे मालिक बन्यो
र लेख्न थाल्यो – लुटको नूतन दर्शनशास्त्र
मान्छे दास बन्यो
र घुट्क्याउ‌न थाल्यो – धर्म र इश्वरको बासी कुंडो !
मान्छे भक्त बन्यो
र निभाउन थाल्यो – ज्ञानको त्यो आदिम ज्योति
फेरि, मान्छे भगवान पनि बन्यो
र मुण्डन गर्न थाल्यो – विज्ञानको तार्किक शीर पनि !
……….

मालिकहरू –
मन्दिरभित्र छिर्दैनन्
तर मसानघाटजस्तो मन्दिर बनाउँछन् !
गुम्बाको आँगन टेक्दैनन्
तर बधशालाजस्तो गुम्बा ठड्याउँछन् !
मस्जिद फर्केर ढोग्दैनन्
तर पागलखानाजस्तो मस्जिद उभ्याउँछन् !
गिर्जाघर पनि जाँदैनन्
तर कोठीजस्तो गिर्जाघरमा लगानी गर्छन् !
श्रम गर्दैनन् उनीहरू
तर श्रमचोर बनेर जूनिभर मोज गरिरहन्छन् !
र धार्मिक पनि बन्दैनन् उनीहरू
तर धर्मभिरू बन्न सहस्र भ्रमहरू पैदा गरिरहन्छन् !
………..

उनीहरू पढ्दैनन्
भोकको शास्वत ब्याकरण
तर पढ्न लगाउँछन् – शास्त्रका मूर्दा श्लोकहरू !
उनीहरू लेख्दैनन्
जीवनका उदात्त गीतहरू
तर लेख्न लगाउँछन् – मृत्युका लम्पट कहानीहरू !
उनीहरू सुन्दैनन्
सिर्जनाका सुमधुर धुनहरू
तर सुन्न लगाउँछन् – अफिम मुछिएका भजनहरू !
किनकि –
उनीहरूलाई थाहा छ
धर्म त्यस्तो खतरनाक अस्त्र हो
जसको प्रहारबाट मान्छे सजिलै दास बन्न सक्दछ !

……….

पीडाको आहालमा डुबाएर
उनीहरू सिकाउँछन्
कम्युनिस्ट मेनिफेष्टोको बिरोध गर्न !
गीताका पटवारी श्लाेक घोकाएर
उनीहरू विवश पार्छन्
दासहरूलाई श्रमको मूल्य लिलाम गर्न !
पूर्वजन्मका किंवदंती सुनाएर
उनीहरू भत्काउँछन्
यो जन्मका सपनाका शार्दुल लयहरू !
र यो उज्यालो रानीवन जलाएर
उनीहरू लैजान्छन्
मान्छेहरूलाई शास्त्रै-शास्त्रको अँध्यारो वृन्दावन !
………

हातमा तराजु बोकेर
रङ र भूगोलको आधारमा
प्लटिङ गर्ने ठेकेदार हुन सक्छ – तिम्रो भगवान !
प्रेमको धागो टुटाएर
घृणाको भट्टीमा पृथ्वी जलाउने
खतरनाक जल्लाद हुन सक्छ – तिम्रो भगवान !
ह्रदयको करूणा मारेर
गुम्बा, मस्जिद र मन्दिरभित्र
मानवता रेट्ने बगरे हुन सक्छ – तिम्रो भगवान !
र कुटिलताको बर्को ओढेर
संवेदनाको तरलता खरिद-बिक्री गर्ने
मुनाफाखोर दलाल हुनसक्छ – तिम्रो भगवान !
……….

यतिखेर म,
भयको खास्टो ओढाएर
धर्मशास्त्रको अँध्यारो विन्द्रावनभित्र
जिउँदै पुरिएका
करोडौं कंकालहरूमाथि ठिङ्ग उभिएको छु !
………………..

माफ गर प्रियजन !
आफ्नै दियालो निभाएर
अब म गुम्बामा छ्योमे सल्काउँदिनँ !
आफ्नै शीरमा कुल्चिएर
अब म भगवानको कामुक लिङ्ग ढोग्दिनँ !
आफ्नै खुसीको पूर्णचन्द्र मेटाएर
अब म अन्धविश्वासको त्यो अर्धचन्द्र हेर्दिनँ !
र आफ्नै श्रमको मूल्य लुटाएर
अब म गिर्जाघरभित्र दशांस चढाउन जाँदिनँ !

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्