सिन्धुपाल्चोकको बाह्रबिसेमा कर्फ्यू आदेश जारी

  • 67
    Shares
0

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा सडक मिचेर बनाइएका घरटहरा भत्काउँदा स्थानीयवासीले अवरोध गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।

शान्ति सुरक्षाामा खलबल पार्ने गतिविधि बढेकाले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको सिन्धुपाल्चोककी प्रमूख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्।

प्रदर्शनकारीहरुले आज जुलुससहितको विरोध गर्ने पूर्व सूचना पाएपछि अप्रिय घटना हुन नदिन कर्फ्यू लगाइएको सुरक्षा स्रोतले जनाएको छ। बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटासहितको चार किल्लाभित्र निषेधाज्ञा जारी गरिएको छ।

नगरपालिकाले सडक तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेपछि ४ माघमा केही व्यक्तिले बाह्रबिसे नगरपालिकाको कार्यालयमा तोडफोड र ताला लगाएको मेयर निमफुन्जो शेर्पाले बताए।

‘नगरपालिकामा सर्वपक्षीय सहमति अनुसार नै संरचना हटाउन थालेका थियौं। केही व्यक्तिहरुको सीमित स्वार्थका कारण विदाको दिन कार्यालय तोडफोड गरेर अराजकता देखाइयो’, नगर प्रमुख भने। प्रजिअ चेम्जोङले नगरपालिकामा लगाइएको ताला प्रहरीले फोडेर कार्यालय सञ्चालनमा ल्याइएको बताएकी छन्।

‘कार्यालयको गमला पनि फुटाइएको छ, भरेसम्म स्थिति सामान्य भएन भने भोलि पनि कर्फ्यू लम्बिन सक्छ’, उनले भनिन्। ४ माघमा प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडपसमेत भएको थियो।

Comments
Loading...
You might also like