किरातको इतिहास : को हुन् किरात राई ?

  • 298
    Shares
0

डा. भक्त राई

नेपालको विभिन्न आदिवासी जनजातिमध्ये किरात जात पनि मूल बासिन्दाका रूपमा परिचित छन्। किरातभित्र कुन–कुन जातिहरू पर्दछन् भन्ने विषयमा मतैक्यता पाइँदैन। जनकलाल शर्माका अनुसार किराती भन्नाले मूल रूपमा राईलाई मानिन्छ र यदाकदा यिनीहरूलाई जिम्दार पनि भनिन्छ। ‘किराती’ शब्दको प्रयोग यदाकदा अपवादका रूपमा लिम्बूका लागि पनि नभएको होइन।

किरात जातिका बारेमा इमानसिंह चेम्जोङ भन्छन्, वर्तमान समयमा लिम्बू र राई मात्र किराती भनी प्रख्यात भएको भए तापनि गुरुङ, मगर, थकाली, सुनुवार, नेवार, तामाङ, शेर्पा, कागते, लाप्चे, मेचे कोचे, धिमाल, थारू, दनुवारसमेत किरात हुन्। यसैगरी, नेपालबाहिर आसामका ताई र भियतनामी जाति, फिलिपाइनका खम्बोज जाति र युनानी चिनिया जाति पनि किरात हुन्।

यसै क्रममा अर्का अनुसन्धानदाता डोरबहादुर विष्टका अनुसार किरातका सन्तानहरूमा आफ्नो मातृभाषाका रूपमा तिब्बत बर्मेली भाषाहरू बोल्ने राई, लिम्बू, सुनुवार, जिरेल, कोयू, गुरुङ, मगर, थकाली, मेचेकोचे र काठमाडाैका पहिलेका नेवारहरू हुन्।

तुलसी दिवसका अनुसार धिमाल जाति आफूलाई किराती मान्दछन्। ईसापूर्व १००० वर्षभन्दा धेरै पहिले भारतीय उपमहाद्वीपको उत्तरी र पूर्वी हिमालय क्षेत्रमा आएर बसेका किरातीहरूको एक शाखा धिमालहरू पर्दछन्। किरातका बारेमा हर्षबहादुर बुढामगर भन्छन्, ‘हिमालयका विभिन्न ठाउँमा बसोबास गर्ने मगर, गुरुङ, लिम्बू तामाङ, चेपाङ, नेवार आदि किरातहरू हुन्। रामकुमार पाँडेका अनुसार किरातहरू लिम्बू, राई, सुनुवार, नेवार, मगर, कुमाले, तामाङ, गुरुङ, भोटे, थारू, याख्खाका रूपमा विकास भएका हुन्।

यसैगरी, किरातभित्र कुन कुन जातिहरू पर्दछन् भन्ने विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखक अनुसन्धाताहरूले अर्काथरी धारणाहरू पनि सार्वजनिक गर्दै आएका छन्। यिनीहरूमध्ये ऐडेन मान्सिटाइका अनुसार खास अर्थमा राईहरू मात्र किराती हुन्। सही रूपमा यसको प्रयोग (खुम्बू) राईहरूका लागि मात्र हुनुपर्दछ। जर्ज ग्रियर्सनको भनाइ अनुसार याख्खा र लिम्बूहरूलाई प्रायजसो किराती भनिँदैन।

यसरी हेर्दा के देखिन्छ भने एकथरी विद्वान्हरूले खम्बू अर्थात् राईलाई मात्र किराँती भन्ने गरेको देखिन्छ भने अर्काथरि विद्वान्हरूले किरातीभित्र अन्य जातिहरू पनि पर्दछन् भन्ने धारणा व्यक्त गरेका छन्। वस्तुतः किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। किरात भन्नाले एउटै मात्रै जातिलाई नबुझाई विभिन्न जातिहरूलाई बुझाउने समुच्च अथवा समष्टि रूप हो। यो विभिन्न जातिहरूको माला हो अर्थात् विभिन्न जातिहरूको साझा पहिचान हो।

यसरी किरात राई जातिभित्र कुन कुन जातिहरू पर्दछन् भन्ने विषयमा लामो समयदेखि नै विभिन्न किसिमका फरक–फरक धारणाहरू आइरहेका छन्। तापनि, हाल आएर राई, लिम्बू, सुनुवार र याख्खा जातिले आफू किरात भएको स्वीकार गरेका छन्। त्यसैले, वर्तमान समयमा किराती भन्नाले यिनै चार जातिहरू राई, लिम्बू, सुुनुवार र याख्खालाई बुझ्ने गरिन्छ। यिनै चार जातिमध्ये राई जाति किरातको प्रमुख जातीय सम्प्रदाय हो। प्रस्तुत आलेखमा यिनै राई जातिको संक्षिप्त परिचय प्रस्तुत गरिएको छ।

जनसंख्या तथा बसोबास क्षेत्र

मूल रूपमा पूर्वी नेपालको पहाडी जिल्लाहरूमा छरिएर बसोबास गर्ने किरात राईहरू हाल आएर नेपालका पूर्वी तराईका जिल्लाहरू खासगरी झापा, मोरङ, सुनसरी, उदयपुर तथा काठमाडांै उपत्यकामा समेत बसोबास गर्दछन्। वैदेशिक रोजगारीका क्रममा खास गरेर ब्रिटिस सेनामा कार्यरत किरात राई जातिका कतिपय मानिसहरू बेलायत, हङकङ, बु्रनाई तथा अमेरिकामा समेत बसोबास गर्न थालेका छन्। यसका साथै छिमेकी राष्ट्र भारतका सिक्किम, पश्चिम बंगाल, अरुणाचल, उत्तर प्रदेश तथा भुटानमा समेत किरात राईहरूको बसोबास पाइन्छ।

यिनीहरूको वास्तविक तथ्यांक नआउनुमा जनसंख्या संकलन गर्ने क्रममा गणकलाई जात लेखाउँदा ‘राई’ नेलेखाई थर (पाछा) लेखाएको देखिन्छ। जस्तै, राईको सट्टामा बान्तवा, साम्पाङ, कुलुङ, थुलङ, चाम्लिङ आदि। यसैगरी, जनसंख्या गणकहरूलाई उचित तालिम र सामग्री उपलब्ध नगराइनु तथा गणकहरूको अनुगमन नहुनाले वैज्ञानिक तरिकाले जनसंख्या गणना हुन नसेककाले पनि किरात राईहरूको वास्तविक जनसंख्या तथ्यांकभन्दा बढी हुन सक्ने अनुमान गर्न सकिन्छ।

थर तथा उपथर (पाछा)

किरात राई जातिभित्र विभिन्न थर तथा उपथर (पाछाहरू) रहेका छन्। किरात राई जातिमा सुरुमा दसथरी राई मात्र थियो भन्ने भनाइ रहेको पाइन्छ। किराती राई जातिमा थरहरूका बारेमा जनकलाल शर्मा भन्छन्, ‘किरात जातिमा भएका दसथरी राईहरू हुन्, १. आठपहरे २. बान्तवा राई ३. चाम्लिङ ४. कुलुङ ५. लोहरुङ ६. नेवाहाङ ७. नेपाली ८. साङपाङ ९. थुलुङ र १०. चौरसिया।’ यसरी हेर्दा के प्रस्ट हुन्छ भने यिनै राईका पुराना थरहरूबाट विभाजित हुँदै टुक्रिँदै र फैलिँदै जाँदा अनगिन्ती थर तथा उपथरहरू देखिँदै आएका छन्, जुन अद्यापि कायमै छ।

यसरी किरात राई जातिमा जातका रूपमा राई र थरका रूपमा साम्पाङ, कुलुङ, थुलुङ, बाम्बुले, खालिङ, नाछिरिङ, दुमी, कोयु, फमा, याम्फू, मेवाहाङ, आठपहरिया, लिङखिम, फाङदुवानी, बेल्हारे, लम्बिछोङ, चाम्लिङ, बाहिङ, बान्तवाजस्ता विभिन्न थरहरू रहेका छन् भने यी थरभित्र पनि आ–आफ्नै पाछा रहेका हुन्छन्। जस्तै, साम्पाङ थरभित्र मालु, बाली, राना, हिराङ आदि। त्यसैगरी, बान्तवाभित्र माङपाङ, मुकारुङ, छाङछा, इसारा आदि अनेकौं पाछाहरू रहेका छन्। यसरी किरात राई जातिको थरअनुसारको आ–आफ्नै भाषा समेत छ।

भाषिक अवस्था

किरात राई जातिका विभिन्न थरहरूको आ–आफ्नै प्रकारका भाषा छन्। कतिपयका भाषा लोप भइसकेका छन् भने कतिपयको लोपोन्मुख अवस्थामा पुगेका छन्। सरकारी एकल भाषिक नीति, बसाइँसराइ मिश्रित सामाजिक संरचना, अन्तरजातीय तथा अन्तरथरीय विवाह, आर्थिक विपन्नता, अन्तर्राष्ट्रिय प्रभाव आदिका कारण अधिकांश राईहरूको भाषिक अवस्था लोपोन्मुख अवस्थामा पुगको देखिन्छ। कतिपय राईहरू जस्तै बाहिङ, कोयू, हायू, याम्फू, याम्फे, छिलिङ, लोहारुङ, मेहवाङ आदि थरी राईका भाषा लोपोन्मुख अवस्थामा पुगिसकेको देखिन्छ।

यसरी किरात राईहरूको जनसंख्या वृद्धिसँगै बसाइँसराइ हुने क्रममा ठाउँअनुसारको संस्कार, संस्कृति र भाषिकाहरूको विकास भई भाषिक विविधता भएको देखिन्छ। वर्तमान परिस्थितिमा नेपालको अवस्था यहाँसम्म आइपुग्दा भने कतिपय किरात राई भाषीहरूले आफ्नो भाषामा पाठ्यपुस्तक, पत्रपत्रिका तथा साहित्यिक रचनाहरू समेत प्रकाशन गर्न थालेका देखिन्छन्। तर, अधिकांश राई भाषाभाषीहरू लोप हुने खतराको नजिक पुगिसकेका छन्।

(लेखक त्रिविविबाट राई जातिका प्रचलित लोकगीतमा विद्यावारिधि हुन्।)

Comments
Loading...
You might also like