युगीन रूपान्तरणको यात्रामा प्रदेश सरकारः मन्त्री भण्डारी

  • 122
    Shares
0

उपेन्द्र न्यौपाने
सिञ्जा। आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश युगीन रूपान्तरणको अभियानमा रहेको बताए। आइतबार जुम्ला पुगेका मन्त्री भण्डारीले पत्रकार भेटघाट कार्यक्रममा गरिबी, अशिक्षा, बेरोजगारी, पछ्यौटेपन जस्ता समस्याको समाधानका लागि सङ्घीयता व्यवस्था उपयुक्त भएको जिकिर गरे।

‘सङ्घीय व्यवस्था निर्विकल्प हो। यसले समाज रूपान्तरण गर्नेछ,’ उनले भने, ‘आदेश दिने सरकार सक्षम भइसक्दा पनि कार्यान्वयन गर्ने निकाय कर्मचारीतन्त्रको अलमलका कारण जनताले परिवर्तनको महसुस गर्न पाएका छैनन्। तर अब चाँडै त्यो दिन आउने छ।’

उनले अहिले राजनीतिक सङ्क्रमण समाप्त भए पनि कर्मचारीतन्त्रको सङ्क्रमण अन्त्य नभइसकेकोले समस्या आएको बताए। सङ्घीयता नयाँ व्यवस्था भएकाले कार्यान्वयनमा केही जटिलता देखिए पनि बिस्तारै ती समस्या समाधान हुने उनले दाबी गरे। मन्त्री भण्डारीले कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरी गठनका लागि तयारी गरिरहेको बताए।

उनले प्रदेश प्रहरी गठन भएपछि अपराध नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निभाउनेमा सरकार विश्वस्त रहेको बताए। ‘यस विषयमा स्टेक होल्डरहरुबीच छलफल चलाउने तयारी गरिरहेका छौँ। अबको मन्त्रीपरिषद्को बैठकले हिउँदे अधिवेशन बोलाउनेछ र यसले प्रदेश प्रहरीको ढोका खोल्नेछ,’ उनले भने।

उनले सरकारले चलाएको छोरी सुरक्षा खाता र बिमा कार्यक्रम प्रभावकारी बनाइरहेको दाबी गरे। उनले जुम्लामा जडान हुन लागेको एक मेगावाटको सोलार प्लान्ट निर्माणको अन्तिम चरणमा पुगेको जानकारी गराए। त्यस्तै प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठले विकास निर्माणका सवालमा सत्ता पक्ष र प्रतिपक्ष नरहेको बताए।

‘हामी सबै माननीय मन्त्री लगायत सबैको स्वर एउटै छ। यसमा सत्ता र प्रतिपक्ष भन्ने छैन,’ उनले भने, ‘योजनामा हामी गुणस्तर र प्रभावकारितालाई पनि ध्यान दिइरहेका छौँ। हाललाई योजना कार्यान्वयन मुख्य विषय बनेको छ।’

उनले बजेट ठूलो भए पनि खर्च निकै कम भएको बताए। आर्थिक वर्ष आधा गुज्रिदा पनि खर्च एक दुई प्रतिशत भन्दा बढी हुन नसकेकाले यो विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। हामी राजनीतिक स्वार्थभन्दा अगाडि बढेर विकास निर्माणमा सबैको ध्यान गएको उनको भनाइ छ।

Comments
Loading...
You might also like