प्रचण्ड : प्रगतिशील राष्ट्रवादका नायक

  • 1.7K
    Shares
0

– मनहरि तिमिल्सिना

चुनौतिसँग खेल्न अभ्यस्त सर्वहारा वर्गका नेता माओत्सेतुङ भन्थे, ‘शिखर चढ्ने आँट गर्छौ भने कठिनाई भनेको केही होइन।’ माओत्सेतुङको यही प्रेरणाले लालसेनाले कठिनतम् लम्बे अभियानको चुनौतिलाई पनि सहजताका साथ स्वीकार गर्‍यो। त्यही चुनौतिको प्रतिरोधले चीनमा नयाँ जनवादी क्रान्ति मात्र सम्पन्न भएन, आजको दिनसम्म आइपुग्दा विश्वमै मौलिक मोडेलको समाजवाद र विश्वकै दोस्रो अर्थतन्त्रको विकास पनि सम्भव भयो।

द्वन्दात्मक भौतिकवाद मार्क्सवादको प्राण हो। द्वन्दवादले भन्छ, ‘इतिहासको विकास क्रममा आकस्मिकता र अनिवार्यताको एक–अर्काबीच अन्योन्याश्रित सम्बन्ध हुन्छ। इतिहासको आवश्यकताका जगमा नै मानव जातिले वैज्ञानिक, आविस्कारक, दार्शनिक र राजनीतिक नेताहरुको जन्म हुने गर्दछ। तर, को मान्छे नेता हुन्छ ? त्यो चाहिँ नेतृत्वको अनिवार्य जन्मको जगमा उभिएको आकस्मिकता हो। विश्व इतिहासका विख्यात दार्शनिक, चिन्तक एवं राजनेताहरु त्यसको अपवाद छैनन् र हुन पनि सक्दैनन्।

मानव जातिको इतिहासमा नेतृत्वको जन्म त्यही ऐतिहासिक आवश्यकताले हुने गर्दछ। नेपालको राजनीतिक इतिहास र नेतृत्व विकासको श्रृङ्खला पनि त्यसकै वरिपरि केन्द्रित रहँदै आएको छ। ब्रिटिस साम्राज्यवादले नेपालको राष्ट्रिय स्वाधीनतामाथि धावा बोलिरहेको प्रतिकूल परिस्थितिमा नेपालका भुरेटाकुरे शक्तिहरुलाई एउटै केन्द्रमा ल्याउने कुरा ऐतिहासिक आवश्यकता थियो। त्यही आवश्यकताको जगमा गोरखाका राजा पृथ्वीनारायण शाह देखा परे।

आफ्नो देशमा सम्पूर्ण नेपाल गाभ्ने उद्देश्यसहित ब्रिटिसले नेपालमाथि धावा नबोलेको भए राष्ट्रिय भावना त्यति शक्तिशाली हुन सम्भव थिएन, जति ब्रिटिस हस्तक्षेपले राष्ट्रिय भावना जागृत गर्‍यो। त्यही जगमा राज्य बिस्तारको आकांक्षा राख्ने पृथ्वीनारायण शाह जनआकांक्षाको प्रतिनिधित्व गर्दै अगाडि आए। त्यो एक ऐतिहासिक आकस्मिकता थियो। पृथ्वीनारायण शाहले नेतृत्व नगरेको भए पनि कोही न कोही नेतृत्वमा अगाडि आउथ्यो, यद्यपि छिटो वा ढिलोको सवाल मात्र थियो।

बाइसी चौबीसी राज्यहरु नभएको भए र ब्रिटिसले नेपालमाथि रणनीतिक उद्देश्यसहित हमला नगरेको भए पृथ्वीनारायणको मनोगत आकांक्षाले मात्र राज्य बिस्तार अभियानले सफलता प्राप्त गर्न सम्भव थिएन। त्यो ऐतिहासिक परिस्थितिमा पृथ्वीनारायण शाहको जन्म भयो। नेपालको राज्य बिस्तार अभियान र ब्रिटिस साम्राज्यवाद विरुद्धको सङ्घर्ष नै नेपालको राजनीतिक इतिहासको सबैभन्दा ठूलो युद्ध थियो। नेपालको इतिहासमा सबैभन्दा राजनीतिक लडाइँ पनि त्यही थियो।

नेपालको राजनीतिक इतिहासमा दोस्रो ठूलो सङ्घर्ष थियो २०५२–२०६३ सम्म चलेको महान् जनयुद्ध। १० वर्षसम्म चलेको जनयुद्ध नेपालको भौगोलिक र भावनात्मक एकीकरणको प्रतीक थियो। राष्ट्रियता कुनै भूगोल वा सीमानाको कुरा मात्र होइन, सामाजिक मनोविज्ञान, जातिहरुको विकास र उनीहरुको आत्मस्वाभिमानसहित राज्यको मूल प्रवाहमा समाहीकरण हो। यस अर्थमा जनयुद्ध एक ऐतिहासिक पहलकदमी मात्र नभएर युगान्तकारी परिवर्तनको द्योतक पनि हो, जसको नेतृत्व गर्ने अवसर कमरेड प्रचण्डलाई प्राप्त भयो।

जनयुद्धले राज्यको मुल प्रवाहबाट विमूख श्रमजीवी वर्ग, मजदुर–किसानलाई राजनीतिक जागरण मात्र गराएन, विपन्न वर्गबाट राजनीतिक आन्दोलनको नेतृत्व गर्ने परिस्थितिको निर्माण गर्‍यो। महिला, दलित, जनजाति, सीमान्तकृत वर्ग र समुदायबाट निकै ठूलो राजनीतिक जागरण र सबै वर्ग, जाति, लिंग र समुदायको राज्यमा समान अवसरको अभूतपूर्व वातावरण सिर्जना भयो। यथार्थमा जनयुद्धले पृथ्वीनारायण शाहले गर्न बाँकी भावनात्मक राष्ट्रिय एकीकरणको कार्यभारलाई माथि उठायो।

प्रचण्ड तिनै नेता हुन्, जसले उत्पीडनका सबै रुपहरुका विरुद्ध धावा बोल्दै राष्ट्रिय एकताको नयाँ वैचारिक जग बसाले। खस भाषा, जाति र संस्कृति नै नेपाल हो भन्ने महेन्द्रमालीय मान्यताबाट माथि उठेर उनले नेपाली सीमाभित्र बस्ने हरेक जाति, भाषिक समुदाय र सबै संस्कृति नेपालका लागि उत्तिकै महत्वपूर्ण भएको व्यवहारिक मान्यताको जग बसाले। यस अर्थमा प्रचण्डलाई वास्तविक अर्थमा राष्ट्रिय एकताका सुत्राधार मान्न सकिन्छ।

राष्ट्रियता भूगोल, सीमाना, तारबार र पर्खाल मात्र होइन। बरु, जाति, भाषा, धर्म, समुदाय र नागरिकको बलियो आत्मिक एकता पनि हो। तर, नेपालको महेन्द्रमालीय स्कूलबाट आएको एउटा शक्ति देशभित्रको आन्तरिक एकतालाई रछ्यानमा मिल्काएर भूगोललाई मात्र राष्ट्रियता ठान्दछन्, जुन कुरा नेपालका सन्दर्भमा मात्र नभएर विश्वभरि नै एउटा अतिवादका रुपमा विस्फोटक अवस्थामा पुगेको छ।

उनीहरु राष्ट्रियताको मामिलामा निकै ठूलो भ्रममा छन्। राष्ट्रियताको सवाल भूगोल र सीमानाको सवाल मात्रै होइन, यो त बृहत्तर भावनात्मक र आत्मिक एकताको सवाल पनि हो। राष्ट्रियताका दुई आयाममध्ये यो पक्षले एउटा मात्रै आयाममा उभिन खोजेको छ, जुन प्रयत्न लङ्गडो हुन्छ। देशभित्रका राजनीतिक र सामाजिक शक्तिहरुको बलियो एकता र सहकार्यबिना बाह्य चुनौतिको सामना गर्न सकिन्न। राष्ट्रियता भूगोल, सीमाना, तारबार र पर्खाल मात्र होइन। बरु, जाति, भाषा, धर्म, समुदाय र नागरिकको बलियो आत्मिक एकता पनि हो। तर, शक्तिहरु जनताको अवमूल्यन गरी भूगोलको पहिचानलाई नै सर्वोपरि ठान्दछन्।

तात्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता प्रक्रिया सम्पन्न भएर नेकपाको गठन भएपछि पनि प्रचण्ड लगातार राष्ट्रिय एकताका पक्षमा देखिएका छन्। उनले संविधानको प्रगतिशील कार्यान्वयनमा मात्र जोड दिएका छैनन्, सबै जातीय, भाषिक र सांस्कृतिक शक्तिहरुको एकतावद्ध प्रयत्नको पनि नेतृत्व गरिरहेका छन्। तर, त्यसलाई मण्डले राष्ट्रवादको मात्र आँखाले हेर्नहरु राष्ट्रिय एकता कमजोर बनाउने प्रयत्न गरेको ठान्दछन्। यो कुनै व्यक्तिको दोष नभएर अतिवादी चश्माले हेर्ने राजनीतिक स्कूलकै दोष हो।

प्रचण्डसँग रणनीतिक दृढता र कार्यनीतिक लचकताको अद्भूत गुण छ। त्यसकारण उनी कहिलेकाहीँ सङ्घर्षको उत्कर्षसम्म पुग्न सक्छन्, अनि त्यहीमार्फत् कार्यनीतिक लचकताको नयाँ सुत्र खोज्छन् र राजनीतिक गत्यावरोधको गाँठो फुकाउँछन्। एससीसी सम्झौता र सभामूखको निर्वाचन प्रक्रियामा प्रचण्डको भूमिका पनि त्यसैको वरिपरि देखिन्छ। किनकि, उनी राजनीतिक मुद्दालाई प्राथमिकता दिन्छन् र त्यो मुद्दा बोक्नसक्ने नेताको खोजी गर्छन्। वर्तमानमा नेकपाभित्र जुन समझदारी बनेको छ, त्यो पनि राष्ट्रिय स्वार्थप्रतिको प्रचण्ड निष्ठाकै परिणाम हो।

राष्ट्रियता भूगोल पनि हो, जनता पनि। भूगोल र जनताको सही संयोजनले मात्रै प्रगतिशील राष्ट्रवादको प्रवद्र्धन गर्न सकिन्छ, राष्ट्रिय स्वार्थका पक्षमा दृढतापूर्वक उभिन सकिन्छ, राष्ट्रिय एकता र हितका पक्षमा सबै जाति, भाषा, संस्कृति र समुदायलाई एकतावद्ध गर्न सकिन्छ। यसले मात्र हाम्रो आन्तरिक एकता मजभूत पार्न सकिन्छ, आन्तरिक एकता जति मजभूत बन्छ, बाह्य हस्तक्षेपका विरुद्ध पनि त्यति नै शक्तिशाली रुपमा उभिन सकिन्छ।

अमेरिका सहायताका रुपमा नेपाल भित्रिन लागेको एमसीसी सम्झौताका सन्दर्भमा पनि प्रचण्डले प्रगतिशील राष्ट्रवादको अडान लिएका छन्। हाम्रो संविधानले विदेशी सहयोग र सहायतालाई स्वीकार गर्दछ। तर, त्यहाँ राष्ट्रिय हितको मुद्दा प्रमूख भएर आउँछ। कुनै सहायताले राष्ट्रिय हित र स्वार्थमा दख्खल दिन्छ भने त्यो सम्झौता स्वीकार गर्न सकिँदैन। होइन, त्यसले देशको सार्वभौमसत्तामा दख्खल गर्दैन भने विदेशी सहायता लिनै हुँदैन भन्ने पनि छैन।

नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तका पक्षमा छ। एमसीसी अमेरिकी सुरक्षा रणनीति इण्डोप्यासफिकको अंग हो वा होइन, भविष्यमा अमेरिकाले नेपाललाई इण्डोप्यासफिकको छातामुनि बस्न दवाव दिन्छ वा दिँदैन ? यो कुरा मूख्य हो। सहयोग दोस्रो कुरा हो। एमसीसी सम्झौता र यसका प्रावधानहरुले हाम्रो राष्ट्रिय नीतिलाई दख्खल दिँदैन भने त्यो नेपालका लागि मान्य हुन्छ। तर, राष्ट्रिय हितमा दख्खल दिन्छ भने त्यो नेपालले स्वीकार्न सक्दैन, हुँदैन पनि। त्यस्तो परिस्थितिमा एमसीसीले आफ्ना शर्तहरुमा पुनर्विचार गर्न तयार हुनुपर्छ। तयार नभए नेपालले एमसीसी सम्झौता रद्द भएको घोषणा गर्नुपर्छ।

यही प्रष्ट मान्यताका साथ प्रचण्डले नेकपा र वामपन्थी सरकारलाई प्रगतिवादको पक्षमा उभ्याउने कोशिस गरिरहेका छन्। यसमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री पनि सकारात्मक सोंचका साथ प्रस्तुत हुँदै स्वाधीनताका पक्षधरहरुको मनोबल बढेको छ। देशभित्रका सबै नागरिकलाई वैचारिक, भावनात्मक रुपले एकतावद्ध बनाएर छिमेकी राष्ट्र र शक्ति केन्द्रसँग राष्ट्रिय हितका पक्षमा बलियो कुटनीतिक सम्बन्ध कायम गर्ने कुरा नै वास्तविक अर्थमा राष्ट्रवाद र स्वाधीन विचार हुन सक्छ, जसका लागि प्रचण्ड निरन्तर प्रयत्नशील छन्।

२०७६ माघ ६, काठमाडौं।

Comments
Loading...
You might also like