अम्बिकालाई अली मियाँ पुरस्कार

  • 14
    Shares
0

पोखरा, ८ फागुन। साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई यस वर्षको अली मियाँ प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ। अली मियाँ लोक वाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गरेको पुरस्कारको राशि नगद २० हजार, सम्मानपत्र र दोसल्ला रहेको छ।

प्रतिष्ठानका सचिव पद्यराज ढकालको संयोजकत्वको प्रतिभा छनोट समितिले भण्डारीलाई पुरस्कृत गर्न सिफारिस गरेको थियो। लोकसाहित्य र लोकगीतमा भण्डारीको करिव १ दशकको क्रियाशीलतालाई मूल्यांकन गरी पुरस्कृत गर्न लागिएको ढकालले जानकारी दिए। कास्कीको अन्नपूर्ण गाउँपालिका २ ठूलाचौरमा जन्मिएकी अम्बिका सप्तरंगी साहित्य समाज गण्डकी प्रदेश अध्यक्ष र नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष हुन्।

अनेक संघ, संस्थाबाट सम्मानित भण्डारीका २ कविता संग्रह, १ खण्डकाव्य र १ मुक्तक संग्रह प्रकाशित छन्। नेपाली मौलिक गीतलाई महत्व दिने उनले पछिल्ला केही वर्षका हरेक तीजमा मौलिक खालका नयाँ तीजगीत बजारमा ल्याउने गरेकी छन्।

यसअघि यो पुरस्कारबाट पद्यराज ढकाल, सोम बज्राचार्य, धनबहादुर गायक, सकुन ज्ञवाली, भीष्म बास्तोला, ऋतु लामा लगायत सम्मानित भइसकेका छन्। पुरस्कार लोककवि अली मियाँको जन्मदिन फागुन १५ गते हुने विशेष समारोहमा वितरण गरिने प्रतिष्ठानले जनाएको छ।

Comments
Loading...
You might also like