लुम्बिनी विश्वविद्यालयको रजिष्टारमा आचार्य

  • 121
    Shares
0

बुटवल, ७, चैत। लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टारमा डा. तिलकराम आचार्य दोहोरिएका छन्। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आचार्यलाई दोस्रो कार्यकालका लागि रजिष्टारमा नियुक्त गरेका हुन्।

विश्वविद्यालयमा पदाधिकारी दोहोरिएको यो सम्भवतः पहिलो पटक हो। उनको पदावधि चार वर्षको छ।

आचार्यले आफ्नो पहिलो कार्यकालमा गरेको कार्यसम्पादनको मूल्यांकन गर्दै दोस्रो कार्यकाल दिइएको हो। बुटवल निवासी आचार्यको पहिलो कार्यकाल फागुन मसान्तमा सकिएको थियो। चैत १ गतेदेखि नै लागू हुने गरी उनले दोस्रो कार्यकालका लागि नियुिक्त पाएका हुन्।

विश्वविद्यालयको शैक्षिक एवं भौतिक प्रगतिमा महत्वपूर्ण काम गरेका उनलाई पुन रजिष्टारमा दोहोर्‍याइएको हो। नवनियुक्त रजिष्टार आचार्यले विश्वविद्यालयको विकास आफ्नो पहिलो काम रहेको बताए। ‘लुम्बिनी बौद्ध विश्वविद्यालय देखिने स्थितिमा आएको छ, अब यसलाई अन्य विश्वविद्यालयको प्रतिष्पर्धी बनाउने मेरो योजना छ’ उनले भने।

२०६३ सालमा लुम्बिनी केन्द्रीय कार्यालय हुने गरी स्थापना भएको विश्वविद्यालय करिव एक दशकपछि लुम्बिनीमा आएको थियो। स्थापनाको दश वर्ष काठमाडौंमा सीमित रहेको विश्वविद्यालय आचार्य रजिष्टार बनेसँगै पदाधिकारीसहित लुम्बिनीमा सरेको थियो। आचार्य नै विश्वविद्यालयको पहिलो स्थानीय पदाधिकारी हुन्। विश्वविद्यालयको विकासका लागि स्थानीय पदाधिकारी हुनुपर्ने बताउँदै आइएको छ।

विश्वविद्यालयका ११ वटा भवन निर्माण, शैक्षिक कार्यक्रम बिस्तार, विद्यार्थी संख्यामा बृद्धि, अन्र्तराष्ट्रिय विश्वविद्यालयसँग सहकार्य, विश्वविद्यालयका जग्गा प्राप्तिको काम आचार्यले पहिलो कार्यकालमा सकेका थिए। विश्वविद्यालय बेरुजु फस्र्याैटमा उत्कृष्ट बन्दै पुस्कृतसमेत भएको थियो।

आचार्यले गुणस्तरीय शिक्षा र बौद्ध शिक्षाको केन्द्रका रुपमा विश्वविद्यालयलाई स्थापित गर्ने आफ्नो योजना रहेको बताए। ‘बौद्ध विश्वविद्यालयबाट राष्ट्रलाई नै चिनाउने अवस्थामा पुर्‍याउने मेरो योजना छ’ उनले भने।

 

रजिष्टारमा आचार्यलाई दोहोराउन विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा पदाधिकारीको समेत जोड रहेको थियो। निर्विवाद रुपमा दोस्रो कार्यकालका लागि नियुक्त भएका आचार्य विश्वविद्यालमै प्राध्यापक समेत हुन्। यसअघि विश्वविद्यालयमा अन्य विश्वविद्यालयका प्राध्यापकलाई पदाधिकारी नियुक्ति गरिँदै आएको थियो।

Comments
Loading...
You might also like