कोरोना कुटनीति र चीनको सफलता

  • 1K
    Shares
0

धर्मराज सुवेदी ‘राजन’

विश्व इतिहासमा हरेक सम्पन्न देश कुनै न कुनै महामारीको सिकार भएकै छन्। सावधान रहँदा पनि यस्ता प्रकोपहरु अपर्झट प्रकट हुन्छन् नै। सन २००२ ताका सार्सको चपेटामा परेको चीनमा २०२० मा कोरोनाले नयाँ वर्ष मनायो। चीनको हुवेई प्रान्तबाट सुरु भएको कोभिड–१९ को संक्रमणले विश्वका करीब १६२ देशका २ लाख मानिसमा फैलिई ६००० भन्दा माथि मानिसको ज्यान लिइसकेको छ।

उसै पनि चीनका आर्थिक र राजनीतिक प्रतिस्पर्धी रहेका पश्चिमी मुलुकहरु यसलाई विश्वव्यापी संकट भन्दा पनि चीनलाई कमजोर पार्ने अवसरको रुपमा लिइरहे। जनवरीको सुरुदेखि नै विश्वविख्यात मिडिया हाउसहरु बीबीसी, सिएनएनहरुमा चीनको अवस्था र कोरोनाको प्रभावबारे बहस सुरु भइसकेको थियो। कोरोनाको कारण र रोकथामभन्दा पनि कसरी चीनको राजनीतिक प्रणालीलाई महामारीको दोष थुपार्न सकिन्छ भन्नेतर्फ पश्चिमा नेतृत्व र मिडिया लागिरह्यो।

भारतको जिम्मेवार मिडिया हाउस आज तकले सामाजिक सञ्जालमा देखिएका भिडियोकै आधारमा चीनले मानवीय संवेदनाको हद नाघेको रिपोर्ट प्रसारण गर्दा दक्षिण एसियामा भाइरल बन्यो। सम्भावित खतरालाई मध्यनजर गर्दै चीनको हुवाई प्रान्तमा कोही व्यक्ति बाहिर निस्कन नपाउने गरी शहर नै लकडाउन गरेको विषयलाई लिएर मानव अधिकारकर्मीहरु चीनविरुद्ध खनिइरहे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ लाई चाइना भाइरस भन्दै खिल्ली उडाए भने अन्तर्राष्ट्रिय सञ्चार माध्यममा माओत्सेतुङले मास्क लगाएको फोटो ट्रेण्डिङमा रहिरह्यो।

फेब्रुअरीको मध्यतिर आइपुग्दा समय र अवस्था फेरिन सुरु गरेको थियो। चीनको उत्कृष्ट उपचार पद्धति र योजनावद्ध कामले संक्रमितहरु घर फर्किन सुरु गरे। चीनमा नियन्त्रणमा आउन सुरु गरेको यो भाइरस युरोप र मध्य एसियामा फैलिन सुरु गर्‍यो। चाइनिज भाइरस भनेर मजाक बनाइरहेका पश्चिमा देशको पूर्वतयारी एकदमै कमजोर थियो। एक महिना अघिसम्म महामारीमा मानवाधिकारको वकालत गर्ने विद्वानहरु कोही घरभित्रै थुनिएका छन्, त कोहीले सन्सार छाडिसके।

चीनले कोरोनाविरुद्ध सफलता पाएको घोषणा गरिरहँदा बाँकी विश्व यसको कारण बन्द हुने अवस्थामा छ। यदि कोरोनाको सुरुवाती अवस्थामा नै चीनलाई कमजोर बनाउनुभन्दा आफ्नो प्रतिरक्षा क्षमता बढाउन पश्चिमा देश लागेको भए अवस्था अर्कै हुने थियो। चीनले यस्तो विषम परिस्थितिमा पनि कोरोना नियन्त्रणका लागि गरेको प्रयास र बाँकी विश्वमा कोरोना फैलनबाट रोक्न देखाएको तदारुकता प्रशंसनीय छ। अमेरिका लगायतका विकसित मुलुकहरुले यस्तो महामारीलाई पनि कुटनीतिक महत्वका साथ हेर्नु दुर्भाग्यपूर्ण हो, जसको लागि विश्व समुदाय सदैव लज्जित भइरहनुपर्नेछ।

कुश्मा–८, पर्वत (पोखरा विश्वविद्यालय)

Comments
Loading...
You might also like