मार्क्सवाद र विज्ञान–प्रविधिमा क्रान्ति

  • 424
    Shares
0

सीताराम तामाङ

आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्ति – नवमार्क्सवादीहरुले आधुनिक वैज्ञानिक–प्राविधिक क्रान्तिले, जस्तो कि स्वचालन, कम्प्युटर प्रविधिको विकास, बाह्य अन्तरीक्षमा हस्तक्षेप–प्रयास, पारमाणविक तथा अन्य वैज्ञानिक–उर्जा विकास आदिले उत्पादन प्रक्रियामा मानिसको भूमिकालाई विस्थापित गरेको कारणबाट उत्पादनको प्रत्यक्षकर्ताबाट अब मानिसलाई सामान्यतः प्राविधिक प्रक्रियाको एउटा नियन्त्रकमा रुपान्तरित गरेको कुरामा जोड दिँदै मानव श्रम र श्रमिक वर्गको भूमिकालाई नकारेका छन्।

उनीहरुले वैज्ञानिक–प्राविधिक क्रान्तिलाई प्राथामिकतामा राखेका कारणले के दावी गरेका छन् भने कार्ल मार्क्सले प्रतिपादन गरेको औद्योगिक पुँजीवादले जन्माएको अतिरिक्त मूल्यको सिद्धान्त अब भूतकालिन अध्ययनको विषय मात्र हुन पुगेको छ। के वैज्ञानिक–प्राविधिक क्रान्तिले गरेको तुफानी प्रगति मानिसको प्रगति हो या होइन ? यो क्रान्तिले मानिसलाई उसको उपाङ्ग बनाउने खतरा छ या यो क्रान्तिको निरन्तरतासँग मानिसको व्यक्तित्त्वको परिष्कार तथा सर्वांगिण विकासको पनि निरन्तरता रहनेछ ?

२. के हो वैज्ञानिक–प्राविधिक क्रान्ति ?

एक विख्यात समाजशास्त्री गेन्नादी मारिन्कोको अनुसार मानव जातिको अस्तित्त्वलाई विगत पचास हजार वर्ष मान्ने र त्यसलाई पुस्ताको संख्याले नाप्ने हो भने (जसको जीवन अवधि ६२ वर्ष हो) एक चाखलाग्दो र रोमञ्चकारी तस्विर हाम्रो सामुन्ने उभिन्छ। यस्तो पुस्ताको संख्या करिब ८०० मानिन्छ। तीमध्ये ६५० पुस्ता गुफामा बसेका थिए। केवल ७० पुस्ताले मात्र लिपिको प्रयोग गरे, ६ पुस्ताले मुद्रित शव्दहरुको र अन्तिम २ पुस्ताले विद्युत–मोटरको ज्ञान प्राप्त गरे। आज विद्यमान अधिकतर भौतिक तथा आत्मिक मूल्यको सिर्जना वर्तमान पुस्ताकै जीवनकालमा नै भएको छ।

त्यतिमात्र नभएर वैज्ञानिक–प्राविधिक क्रान्तिले मानव समाजको अगाडि प्रकृतिको कायाकल्पको लागि, विपुल भौतिक सम्पदाको सृष्टि र मानिसको योग्यता बृद्धिका लागि अपूर्व सम्भावनाहरु खुल्ला गरेको छ। यो क्रान्ति जटिल र बहुपक्षीय परिघटना हो।

विकासमा यसका नयाँ नयाँ रुप र सार प्रकट हुने गर्दछ। मानिस दिमाग चलाउने (सोच्न सक्ने) तर कमजोर तन भएको सामाजिक प्राणी हो। खाना, बस्न र सुरक्षाका लागि मानिसले प्रथम हातको प्रयोग गर्‍यो। तर हातहरु पर्याप्त नभएपछि ढुङ्गा, घुँयात्रो, भाला, बल्छी, धनुकाँड, भरुवा बन्दुक हुँदै आज ब्यालिष्टिक मिसाइल समेतको प्रयोग गर्ने भएको छ।

दोस्रो, खुट्टाले मात्र हिँडेर पर्याप्त नभएपछि घोडा, राँगो, हात्तीको प्रयोग गर्दै आज मोटर, ट्रेन, हवाइजहाज, पानीजहाजको प्रयोग गर्ने ठाउँमा आइपुगेको छ । तेस्रो, पशु चराउने मानिसले आगोको खोज गरेपछि गुफाबाट कृषिमा आइपुगे। अनि हलो, कोदाले, कुटो हुँदै आज ट्रेक्टर, पानी पटाउने पम्प–मेसिन, कुलो–नहर प्रयोग गर्ने अवस्थामा आइपुगेका छन्।

चौंथो, औद्योगिक क्रान्तिले ठूला ठूला उद्योग धन्दाहरु खुले र त्यहाँ पुँजी र मजदुरहरुको संकेन्द्रण भयो। अहिले हामीले भनेको वैज्ञानिक–प्राविधिक क्रान्तिको प्रारम्भ पहिलो स्वचालित लेथलाइन, परमाणु र नाभकीय उपकरणहरु तथा कम्पुटरको निर्माण, प्रथम कृतिम भू–उपग्रहको प्रक्षेपण, रासायनिक संश्लेषण, सुक्ष्म इलेक्ट्रोनिक–खोज आदि जस्ता अपूर्व उपलब्धिहरुबाट भयो। विगत कालभन्दा अहिले के फरक छ भने आज वैज्ञानिक उपलब्धिहरूलाई उत्पादनमा लगाइन्छ। तसर्थ यो क्रान्ति विज्ञान र प्रविधिमा एकसाथ व्याप्त भयो। यसैलाई वैज्ञानिक–प्राविधिक क्रान्ति भनिन्छ।

२१ औँ शताव्दीसँग आएका आधुनिक कम्प्युटर, आधुनिक रोबोट, परमाणु उर्जा उद्योग, सूचना क्रान्ति, जैविक प्रविधिको विकास आदिले मानव जातिको भविक्षयलाई सुखी(सम्पन्न हुनसक्ने परिस्थिति निर्माण गर्ने क्षमता राख्दछ तर साम्राज्यवादीहरूलेः यी प्रगतिलाई शस्त्रास्त्रको होडमा लगाएकाले त्यसबाट मानव जातिका लागि घातक विभिषिका उत्पन्न नहोला भन्न सकिन्न।

पुँजीवाद अन्तरगत वैज्ञानिक–प्राविधिक क्रान्तिबाट हुने उपलब्धि सम्पूर्ण समाजको नभएर पुँजीवादी एकाधिकारीहरूले नै फाइदा उठाउँछन्। उनीहरूले यसको उपयोग पुँजीको स्थितिलाई मजबुद बनाउन, श्रमिक जनतालाई शोषण गर्न र अधिकतम नाफा कमाउनका लागि गर्दछन्। यसबाट बेरोजगारी, मुद्रास्फिति र महंगी बढ्न जान्छ। पुँजीवादी समाजमा पुँजीवादीहरूको वर्गीय स्वार्थका कारणले गर्दा विज्ञान–प्रविधिको उपलब्धिलाई मानव जातिकै हित विरूद्ध लगाइन्छ।

पुँजीवाद अन्तर्गत, जहाँ उत्पादन विस्तारको उदेश्य धेरैभन्दा धेरै नाफा बटुल्नु हुन्छ, वैज्ञानिक–प्राविधिक क्रान्तिको उपलब्धिहरुलाई उत्पादनमा गरिने प्रयोगले श्रमको उत्पादनशीलतालाई वृहत मात्रामा बृद्धि गर्दछ र साथसाथै बेरोजगारी जन्माउँछ। त्यही अध्ययनबाट कार्ल मार्क्सले के प्रमाणित गरेका थिए भने पुँजीवादले जीवन–साधनहरुबाट वञ्चित अपेक्षाकृत अतिरिक्त श्रमिक जनतालाई निरन्तर जन्म दिँदै रहेको हुन्छ।

एङ्गेल्सले “समाजवादः काल्पनिक तथा वैज्ञानिक”मा भनेका छन्, “एकातिर मेसिनहरुको निरन्तर प्रगति, जो प्रतिस्पर्धाको कारण प्रत्येक कारखाना मालिकका लागि अनिवार्य हुन्छ र जसको कारण मजदुर निरन्तर बढ्दो सँख्यामा विस्थापित हुन्छन्। औद्योगिक रिजर्भ सेना। अर्कोतिर, उत्पादनको सिमाहीन बिस्तार। प्रतिस्पर्धा अन्तर्गत यो पनि हरेक कारखाना मालिकका लागि अनिबार्य बन्दछ। दुबैतर्फ उत्पादक शक्तिहरुको अपूर्व विकासस मागभन्दा बढी आपूर्ति अति उत्पादन, मालहरुले भरिभराउ बजार, प्रत्येक दशौँ बर्षमा संकट, दुस्चक्र–एकातिर, उत्पादनका साधनहरु र उपजको अधिकता, अनि अर्कोतर्फ, जिविकाको साधनहरुद्वारा बञ्चित बेरोजगार मजदुरहरुको अधिकता तर उत्पादन र सामाजिक समृद्धिका यी दुबै भारबाहकले एकसाथ काम गर्न पाउँदैनन्, किनभने पुँजीवादी उत्पादन–प्रणाली अन्तर्गत उत्पादक शक्तिहरुले तबसम्म काम गर्न सक्दैनन्, जबसम्म तिनीहरुलाई पहिले पुँजीको रुप दिन सकिँदैन। तर यो तिनीहरुको अधिकताकै कारण सम्भव हुन सक्दैन।

यसबाट यो प्रमाणित हुन्छ कि पुँजीपति वर्ग स्वयं आफ्ना सामाजिक उत्पादक शक्तिहरुको ब्यवस्थापन गर्न अयोग्य ठहरिएको छ। एंगेल्सले भनेका छन् “उत्पादनका र सञ्चारका ठूला–ठूला संस्थानहरु पहिले ज्वाइन्ट स्टक कम्पनिहरु, त्यसपछि ट्रष्टहरु र अन्त्यमा राज्यको अधिकारमा हुनुले यो प्रमाणित हुन्छ कि पुँजीपतिवर्ग एउटा फाल्तु वर्ग बन्न गएको छ। त्यसका सबै सामाजिक संस्थाहरु अव वेतनभोगी कर्मचारीहरुद्वारा सम्पादित हुन्छन्।” एंगेल्सको भनाई पुष्टि भएको छ कि, वैज्ञानिक–प्राविधिक क्रान्तिले, ठूला पुँजीपतिहरुलाई परजीवी बनाइदिएको छ। उनीहरुको उद्यम ब्यवसायहरुको सञ्चालन वेतनभोगी कर्मचारीहरुद्वारा गरिने हुँदा उनीहरु उत्पादन–प्रकृयामा पूर्णतः अनावश्यक बन्दछन्।

दक्ष वेतनभोगी कर्मचारीहरु परिश्रम गरिखाने जनताको प्रत्यक्ष शोषणका लागि जिम्मेवार हुन्छन्। प्रतियोगिता उग्रतर हुने र वैज्ञानिक–प्राविधिक क्रान्तिका कारणले पुँजी अधिक संकेन्द्रित हुन्छ। एकाधिकारी पुँजीपतिहरुले अहिले बहुराष्ट्रिय कम्पनिहरुमा एकाबद्ध भई पुँजीलाई थोरै मानिसको हातमा संकेन्द्रित गर्दैछन्। यसबाट विश्वका उत्पीडित राष्ट्र र श्रम गरिखाने जनतालाई बढीभन्दा बढी लुट्ने काम भएको छ।

पछिल्लो कालमा वैज्ञानिक–प्राविधिक क्रान्तिले सुक्ष्म इलेक्ट्रोनिक्सको विकास गरेबाट पुँजीको पक्षधर नवमार्क्सवादीहरु “मजदुरको श्रम अनावश्यक हुँदैछ, मजदुर वर्ग विघटित हुँदैछ र पुँजीवादको चिहान खन्नेहरुको विश्व ऐतिहासिक भूमिका गुम्दैछ” भनेर खुसी भएका छन्। तर एउटा अध्ययनले के देखाएकोछ भने पुँजीवादी विकासले कृषिक्षेत्रलाई औद्योगिकीकरण गर्ने भएकाले संख्या कटौति हुन्छ र ठूला उद्योगहरुमा पनि आधुनिक प्रविधिको विकासले रोजगारीमा केही कटौति हुने गर्दछ। तिनका तुलनामा सेवा क्षेत्रमा रोजगारी वृद्धि भएको देखिन्छ।

तर पनि सत्य के हो भने कृषि श्रममा आधारित मुलुकको विकास सम्भव छैन। तसर्थ अमेरिका र युरोपको अनुभबले के देखाउँछ भने ती मुलुकहरुले उहिले औद्योगिक क्रान्ति सम्पन्न गरेपछि सेवा क्षेत्रमा प्रवेश गरेका हुन्। तापनि आज सम्मको तथ्याङ्कले के प्रमाणित गरेको छ भने कृषि, उद्योग र व्यापार क्षेत्रले नै ती देशहरुको गार्हस्थ उत्पादनमा मुख्य योगदान पुर्‍याएको छ।

पुँजीको २०० वर्षको इतिहासको अध्ययन गरेका प्रसिद्ध अर्थशास्त्री प्रा. पिकेटीको निष्कर्ष के छ भने अहिले पनि औद्योगिक क्षेत्र नै विकसित पुँजीवादी मुलुकहरुको आर्थिक मेरुदण्ड हो, राष्ट्रिय आयको मुख्य श्रोत हो। प्रो. पिकेटीको अनुसार निजले गरेको अध्ययन अवधिमा विकसित पुँजीवादी देशहरुको सेवा क्षेत्रमा ७०–८० प्रतिशत रोजगारी रहेको देखिन्छ। तर सेवाभित्र सरकारी प्रशासन, सुरक्षा तथा शिक्षा र स्वास्थ्य पूर्णतः जनताको करबाट चलेको देखिन्छ।

यसबाट के पुष्टि हुन्छ भने आजको साम्राज्यवाद भनेको पनि कर्पोरेट औद्योगिक पुजिँवाद नै हो र मजदुर वर्ग अझै पनि पुँजीवादको चिहान खन्ने ऐतिहासिक भूमिकाबाट पछि हटेको छैन।

Comments
Loading...
You might also like