गायिका रेखाको ‘जिन्दगीको अर्थ’ सार्वजनिक (भिडियोसहित)

  • 701
    Shares
0

काठमाडौं, ८ वैशाख। ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छौ कि जिन्दगानीमा’ बोलको गीतबाट अजर/अमर गायिकाको छबी बनाएकी गायिका रेखा शाहले फरक शैलीको गीत ‘जिन्दगीको अर्थ खोज्न कहाँ जाऊँ साथी’ सार्वजनिक गरेकी छिन्। सन् २०१० मा सार्वजनिक भएको उनको एल्वम ‘स्मृति’मा समावेश गीतमा भूपेन्द्र खड्काको शब्द तथा राजु सिंहको संगीत रहेको छ।

फणिन्द्र राईको संगीत संयोजन रहेको यो गीतको लिरिकल भिडियो दिपेन बस्न्यातले तयार पारेका हुन्। २०४९ सालमा शाह रेडियो नेपालमा स्वर परीक्षा पास गर्नका लागि पुगेकी थिइन् तर आधुनिक गीतको स्वर परीक्षा पास गर्ने फारम भर्ने मिति सकिएकाले उनले सिमसिमे पानीमा ‘लोकगीत प्रतियोगिता’मा गाइन् र प्रथम पनि भइन्।

उनको लोक गायिकाको परिचय बन्यो तर उनको परिचय भने त्यत्तिले पुग्दैन। उनी शास्त्रीय संगीतकी विधार्थी हुन्।  संगीतबाहेक समाजसेवामा समेत सक्रिय उनका आधुनिक तथा पप शैलीका ३ वटा एल्बमहरू प्रकाशित छन् भने दर्जनौं गीतहरू हिट छन्।

‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्की आउनेछौ’,’नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लो’, ‘पोखूँ भने’, ‘बाटैमा रैछ घर तिम्रो’ जस्ता गीतहरू चर्चित छन्। यो गीतबारे रेखा भन्छिन्,’त्यति बेला अहिलेजस्तो युट्युबमा गीत हेर्ने र सुन्ने बानी हामीमा थिएन। प्रविधिको यति धेरै विकास भैसकेको पनि थिएन।

समयक्रमसंगै मैले पनि आफ्ना राम्रा गीतलाई मेरो आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने सोच बनाएकी छु। क्रमश मेरा गीतहरू यसरी नै मेरो युट्युब च्यानलमा अपलोड गर्दै जानेछु।’ कोरोनाको संक्रमणपछि सबैजस्तै उनी पनि लकडाउनमा घरभित्र नै छिन्। पुस्तक पढ्ने, सिनेमा हेर्ने र गीत सुन्ने गरिरहेकी उनले लकडाउनपछि आफ्नो नयाँ गीत ‘काठैको पुतली झ्याल-झ्यालमा’ सार्वजनिक गर्ने पनि बताइन्। उनले यो गीतबाट राम्रो प्रतिक्रियाको अपेक्षासमेत गरेको बताइन्।

Comments
Loading...
You might also like