प्रधानमन्त्री ओलीलाई नेता शर्माकाे खुलापत्र

  • 578
    Shares
0

– रामकुमार शर्मा

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली जी अभिवादन,

हिजो सार्वभौम सत्ता सम्पन्न संघीय संसदमा तपाईले गर्नु भएको शानदार सम्वोधन पश्चात् म पार्टीभित्र तपाईको कटुआलोचक भए पनि केही नलेखी रहनै सकिन। प्रधानमन्त्रीज्यू, सार्वभौमसत्ता सम्पन्न संघीय संसदबाट मातृभूमिको रक्षाको लागि तपाईले गर्नु भएको सम्वोधन ऐतिहासिक छ। मैले आजसम्म नेपालको कुनै प्रधानमन्त्रीले बहादूरी पूर्वक गोर्खाली अन्दाजमा भारतलाई मेरो अपहरित मातृभूमिको भू-भाग फिर्ता देऊ, सत्यमेव जयतेको सम्मान गर, भन्ने सुनेको थिएन। विपक्षमा हुँदा भोटको लागि सभामा बोल्ने, आक्रोशित हुँदा सत्ताको लागि घुर्की देखाउने, आन्दोलनको लागि उर्जाको रुपमा भारत विरोध गर्ने वा परम्परागत रूपमा भारतको विरोध गरेर राष्ट्रवादी देखाउने पुरानो प्रचलन वाहेक हाकाहाकी भारतलाई चुनौती दिने र सम्पूर्ण नेपालीलाई गौरवान्वित गर्ने पहिलो मौकाको रुपमा आम नेपालीले यसलाई लिएको महशुस गरेको छु।

कुनै पनि समृद्ध मुलुकको निर्माणमा त्यहाँको जनता आफ्नो मातृभूमि प्रति कति सजग र सचेत छ र त्यहाँको सरकार जनताप्रति कति इमानदार छ, यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। हाम्रो मूलुकमा राष्ट्रियता जस्तो विषयमा पनि जनता र पार्टीहरु विभाजित हुनु, र प्रमूख नेतृत्वहरू इमानदार नभई भ्रष्टाचारी हुनुले हाम्रो प्यारो मातृभूमिको सर्घषलाई अवश्य नै असर पुर्‍याएको छ। मेरो बिनम्र अनुरोध छ, तपाईसँग नयाँ एंव समृद्ध नेपाल बनाउने सुनौलो अवसर छ, तपाई इतिहास कै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हो, तपाई कम्युनिष्ट प्रधानमन्त्री हो, तपाईसँग क्रान्ति नायक प्रचण्डको बलियो साथ र सहयोग छ। बिगतमा विदेशी हस्तक्षेपले आर्जित, सुशासनको अनुभूति गर्न नसकेको र भ्रष्टाचारमा चुरलुम्म डुबेको बिगतका सरकारबाट मुक्ति पाउनका लागि नेपाली जनताले नेकपालाई अपार समर्थन गरेर शक्तिशाली सरकार बनाउने अवसर प्रदान गरेको छ।

नेपाली जनताले नेकपालाई विश्वासको अपार मत दिएर आफ्नो इमानदारी देखाएको छ, अब इमानदारी देखाउने पालो नेपाल सरकारको छ। सरकारले नेपालको अपहरित भूमि कसरी फिर्ता गर्छ, वैदेशिक हस्तक्षेपलाई सदाको लागि कसरी समाप्त गर्छ, भ्रष्टाचारबाट संक्रमित नेपाली समाजलाई कसरी मुक्ति दिलाउँछ र सबभन्दा महत्वपूर्ण कार्य विदेशी हस्तक्षेपबाट नेपाललाई सुरक्षित राख्न नेपालमा रहेका विविध राष्ट्रियताहरू मधेसी-पहाडी- हिमाली बिचको एकतालाई कसरी सुदृढ गर्छ, यसैमा सम्पूर्ण नेपालीको सफलता र असफलता लुकेको छ,मार्क्सवादले भन्छ कुनै पनि वस्तुको एकता र विभाजनको प्रमूख कारण आन्तरिक हुन्छ, बाह्य सहायक र सहयोगी मात्रै हुन्छ। आकस्मिकता र आवश्यकताले संकटको घडिमा प्रकृतिले कहिले काहि नेतृत्वलाई ठूलो अवसर प्रदान गरेको हुन्छ, जसले त्यसको सदुपयोग गर्छ उसको नाम स्वर्ण अक्षरले अकिंत हुन्छ जसले दुरुपयोग गर्छ, उसको नाम इतिहासको गर्तमा डुब्छ।

प्रधानमन्त्री जी, बिगत अढाई वर्षको अवसर तपाईले जनचाहना बमोजिम सदुपयोग नगरेको आम जनगुनासो छ। आर्थिक विकास र समृद्धिको यात्रा कछुवा गतिमा अगाडि बढ्नु, सुशासन कमजोर हुनु, तपाईका सल्लाहकारुले तपाईँको सम्बन्धको दुरुपयोग गर्नु, यात उनिहरू अंहकारी भएर प्रस्तुत हुनु वा भ्रष्टाचारी भएर नांगिनु, यी तमाम अपमानका बावजुद भारतले नेपाली भूमिमा सडक उद्घाटन गरेर सिंहदरबारमा कुम्भकरणको निंदमा सुतेको नेपाल सरकारलाई ब्युझाएर तपाईले गुमाएको अवसरलाई देश र जनताको हितमा इतिहास रच्ने तपाईँलाई अन्तिम मौका प्रदान गरेको छ। तीन करोड नेपाली जनताको तपाईंलाई शुभकामना छ, बाँकी अन्तिम समयलाई सदुपयोग गर्नुस् नेपालीहरुको अपहरित मातृभूमिको भू-भाग फिर्ता गराउनुस् आफ्नो नाम सुनौलो अक्षरले लेखाउनुस् र सम्पूर्ण नेपालीको शिर सगरमाथाझै माथि उठाउनुस्। बाँकी तपाईंको मर्जी।

Comments
Loading...
You might also like