भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने तयारी

  • 34
    Shares
0

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै वर्ष नेपाल आउने बताएका छन्। विराटनगरमा निर्माण सम्पन्न भएको नेपाल–भारत एकीकृत जाँच चौकीको संयुक्त उद्घाटनमा सम्बोधन गर्दै मोदीले नेपाल भ्रमणमा यसै वर्ष आउने तयारी गरिरहेको बताए।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा जाँचचौकी उद्घाटन गरेका हुन्। यसअघि २०१८ मा वीरगन्जमा निर्माण भएको जाँचचौकी उद्घाटन गरिएको थियो। सम्बोधनमा मोदीले भने, ‘मलाई नेपाल र नेपाली नागरिकको मायाले पछ्याइरहेको छ। यसै वर्ष आउने पक्का गरेको छु। नेपाली नागरिकको दर्शन गर्न आतुर छु। पक्कै पनि नेपाली दाजुभाइसँग समय बिताउन आउनेछु।’

मोदीले भारतले क्रस बोर्डर कनेक्टिभिटीलाई प्राथमिकता दिएको बताए। क्रस बोर्डर कनेक्टिभिटीबाटै नेपाल–भारतबीच विकास र सुमृद्धिमा आपसी सहयोग भएको भन्दै उनले आगामी दिनमा पनि अन्य जाँच चौकी निर्माण गर्ने जानकारी दिए।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र नेपालबीच छिमेकीको मात्र सम्बन्ध नभएको बताए। उनले दुई देशबीच सदियौंदेखि आपसी सम्बन्ध भएको भन्दै पूर्वाधार विकासमा एकअर्काको सहयोग अपरिहार्य भएको बताए। प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमण वर्षको अवसरमा नेपाल आउन निम्तो पनि दिए।

ओलीले भारतसँग संस्कृति, इतिहास, परिवार, भाषा र संस्कारको सम्बन्ध भएकाले यस्ता संयुक्त कार्यक्रमले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्दै गएको बताए। कार्यक्रमकाे अन्त्यमा भारतीय प्रधानमन्त्री मोदीले नेपालीमा बोल्दै भने, ‘तपाईंहरू सबैलाई धेरैलाई शुभकामना दिन्छु, फेरि भेट होला नमस्कार।’

Comments
Loading...
You might also like