किन देख्दैनौं सरकारका उपलब्धी ?

  • 1.7K
    Shares
0

रश्मि आचार्य

तीजको समयमा एक दिन साँझपख जडीबुटी चोकमा विभत्स दुर्घटना भयो। दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भयो। प्रत्यक्षदर्शीका अनुसार लोकन्थली तिरवाट तीव्र गतिमा आएको मोटरसाइकल पेप्सीकोला तिरबाट त्यस्तै तीव्र गतिमा आएको ट्रिपरसँग ठोकिएर दुर्घटना भएको थियो। घटनास्थलमा मानिसहरु एकै छिनमा जम्मा भए। उनीहरुले घटनाबारे आआफ्ना अनुमान लगाउन थाले।

केहीले भन्न थाले तीजको बेला भाइले दिदी लिएर फर्कर्दै थियो होला। दुवै जना यस्तो दुर्घटनामा परे। बिचरा बाआमाले कसरी चित्त बुझाउने होलान्। केहीले अनुमान गरे श्रीमतीलाई माइतबाट लिएर घर फर्कदै गरेको जोडी दुर्घटनामा परेछ। अर्काथरीले अनुमान गरे, नगरकोट ‘डेटिङ्ग’ गएर घर फर्कदै गरेका केटाकेटीको जोडी दुर्घटनामा परेछ। उनीहरु दुवैलाई चिन्ने एउटै कलेजको साथीले जब सडकमा पल्टिरहेको मोटरसाइकल क्षति विक्षत अवस्थामा देख्यो, उसको होस हवासै उड्यो । गठ्ठाघरमा भेट भई पाँच मिनेट अगाडि चिया खाएर छुटेका साथीहरुको घटनास्थलमै मृत्यु भएको कारुणिक दृश्यले ऊ स्तव्ध भयो। अवाक भयो। जब उसले साँचो कुरा भन्यो, तब सत्य उद्घाटित भयो। सत्य कुरा के थियो भने, उनीहरु तीनै जना एउटै कक्षामा पढ्ने साथी थिए।

यसरी तथ्य एउटा थियो। तर तर्कहरु अनेक आए। वास्तविकता एकातिर थियो, अनुमान अनेक देखिए। यसर्थ सबै अनुमान सत्य हुँदैनन् र सबै तथ्य सत्य पनि हुँदैनन्। एउटा सत्य अर्को सत्य नजन्मदासम्मका लागि मात्र सत्य हो। सत्य सदैव सापेक्ष हुन्छ। जबसम्म सत्यमा पुगिँदैन तबसम्म तथ्यहरु खोजिरहनु विज्ञानसम्मत कुरा हो। यसरी तथ्यको जगमा सत्यमा पुग्ने विधिलाई द्वन्दवादी तरिका पनि भनिन्छ। तथ्यलाई छोपेर वा बङ्गयाएर कसैले सत्यमा पुगेको हौवा पिट्दैमा त्यो अन्तिम सत्य हुन सक्दैन।

प्रधानमन्त्रीले दुइ वर्षे कार्यकालको समीक्षा गर्दा प्रस्तुत गरेका तथ्य र अनुभूतिलाई लिएर यतिबेला अनेक टिप्पणी भएका छन्। विश्व बैंकलगायत विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले नेपालको सन्दर्भमा प्रस्तुत गरेका आंकडाहरुलाई प्रधानमन्त्रीले आधार मानेको देखिन्छ। जनताको अनुभूतिलाई तथ्य र सत्यको कसीमा उहाँले जाँचेको देखिन्छ। नेपालको सुधारिएको तथ्यांक प्रधानमन्त्रीले प्रस्तुत गर्दा उत्साही हुन नसक्नु उदेकलाग्दो विषय हो। हुँदा नहुँदा कुतर्क गरी ‘निरर्थक दुई वर्ष’ भनि हौवा पिट्नु प्रतिपक्षी कटाक्षबाहेक अरु हुन सक्दैन। जडीबुटी चोकको दुर्घटनामा गरेका अड्कलबाजी र देशले प्राप्त गरेका उपलब्धि उस्तै होइनन् भन्ने ठम्याउन नसक्नु नै आजको मुख्य समस्या हो।

नयाँ आधार र आशाका २ वर्ष

यो सानो आलेखमा दुई वर्षमा सरकारले गरेका कामहरु फेहरिस्त पस्कन सम्भव छैन। केही प्रनिनिधिमूलक सन्दर्भ हेरौं। जस्तो विदेश मामिलालाई नै लिउँ। नेपाल पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय जगतमा क्रमशः देखिन र सुनिन थालेको छ। डावोस फोरममा नेपालका प्रधानमन्त्रीले भाग लिनु, प्रधानमन्त्रीले दुई दशकपछि बेलायत र फ्रान्सको भ्रमण गर्नु, चीनका राष्ट्रपतिको २३ वर्षपछि नेपाल भ्रमण हुनु, भारतका प्रधानमन्त्रीले एउटै कार्यकालमा चारपटक नेपाल भ्रमण गर्नु, विभिन्न ज्वलन्त मुद्दामा विश्वको ध्यानाकर्षण गर्न अन्तर्राष्ट्रिय स्तरको मञ्च ‘सगरमाथा सम्वाद’ खडा गर्नु आदिलाई लिन सकिन्छ। त्यसै गरी भारत र चीनसँग रेल तथा अन्य कनेक्टिभिटीका बहुक्षेत्रहरुको पहिचान गर्नु, विद्युत व्यापारका लागि ट्रान्समिसन लाइन निर्माण कार्य अगाडि बढाउनु, नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित बनाउने युगीन महत्वको मुद्दा अगाडी बढाउनु, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाईमा पुर्‍याउन भगिरथ प्रयत्न गर्नुलाई उपलब्धि होइनन् भन्नु हत्केलाले सूर्यलाई छेक्न खोज्नु जत्तिकै हो।

हरेक दिन ५.७ किलोमिटरका दरले कालोपत्रे सडक निर्माण गर्नु, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन शिलान्यासको १७ महिनामै सम्पन्न हुनु, प्रत्येक दुई दिनमा एउटा सडक पुल बन्नु, देशको व्यापारघाटा ६ प्रतिशतले कम हुनु, विगतभन्दा निर्यात २६ प्रतिशतले बढ्नु, लोडसेडिङ्गको अन्त्य भई भारतलाई विद्युत बिक्री गर्न शुरु गर्नु, माछा तथा अण्डामा देश आत्मनिर्भर हुनु तथा समग्रतामा नेपाल उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका विश्वका १० प्रमुख मुलुकहरुको पंक्तिमा समावेश हुनुले आम नेपालीहरुको शीर ठाडो भएको छ।

मानव विकास सूचकांकमा नेपालले २ स्थान सुधार गरेकोे छ। त्यसैगरि विश्व शान्ति, विधिको सासन, विश्वव्यापी खुसीमापन, लैंगिक समानताको विश्व सूचक, विश्व भ्रमण तथा पर्यटक सम्बन्धी सूचक लगायत धेरै विश्व सूचकमा नेपालको स्थिति सुध्रिएको छ। नेपाललाई सुरुङ, रेल र जल मार्गको युगमा प्रवेश गराउन थालिएका कार्यहरुलाई विपक्षीले खिसिटिउरीका विषय बनाउन खोजे पनि यी क्षेत्रको तीव्र विकसले समृद्धि पथमा गेम चेञ्ज हुने निश्चित छ। जुन कुरा केही वर्षभित्रै अनुभूत हुनेछ, आँकडामा देखिनेछ, सत्य सावित हुनेछ।

बेथिति विरुद्ध दुुई वर्ष

ललिता निवास जग्गा प्रकरण, वाइडबडी काण्ड, ३३ केजी सुन तस्करी प्रकरण, सिण्डिकेट, भ्रष्टाचार र बेथिति विगतका विरासत भएको तथ्य जगजाहेर नै छ। वर्तमान सरकारले थिति बसाल्न खोज्दा यी काण्डहरु सतहमा आएका हुन्। यस्ता काण्डैकाण्डको जंगिरबाट देशलाई निकाल्न सरकारले निर्णायक कदम उठाएको तथ्य बग्रेल्ती छन्। अघिल्लाहरुले छोप–छापपारेर राखेका, सरकारी जग्गा हडपेका, देश चुसेका काण्डहरुलाई यस सरकारले जनताबीच ल्याउने सहासिक यात्रा थालेको छ। परिणामस्वरुप ललिता निवास जग्गा प्रकरणमा १ सय ७५ जना व्यक्तिविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। व्यक्तिको नाममा भएको २६५ विगा जमिन सरकारको नाममा आइसकेको छ। यसवापत सरकारले स्यावासी पाउनु पर्नेमा उल्टो आलोचना हुनु र सरकारको नियतमा खोट देख्नु विडम्बना हो।

ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपालले हालै सार्वजनिक गरेको २०१९ को तथ्यांकबाट नेपालमा भ्रष्टाचार विगतमा भन्दा घटेको छ। जसअनुसार नेपालले विगतभन्दा ११ स्थान सुधारेको छ। सुन तस्करीका मुख्य योजनाकार जेलमा छन्। सुन तस्करीको मात्रा ह्वात्तै घटेको छ। वाइडबडी काण्ड छानविनको चरणमा छ। दोषी ठहरिने जो–सुकै भए पनि कारवाहीको दायरामा ल्याउनै पर्छ। आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा विगतमा परेका ठूला खाडलहरु पुर्दै जाने, देशलाई विधि, थिति र नीतिमा हिडाउने यात्रामा सरकार दृढ देखिन्छ। देशलाई समृद्धिको मार्गमा दु्रत गतिमा हिडाउने प्रधानमन्त्रीको उत्कट चाहनालाई जो कसैले सजिलै बुझ्न सक्दछ। यद्यपि, दुई वर्षअघि वा पछि जहिले सुकै घटेका भएपनि देशलाई हानी गर्ने काण्डहरुलाई वर्तमान सरकारले अनदेखा गर्न मिल्दैन।

निराशा रोपेर समृद्धि फल्दैन

पछिल्ला दिनहरुमा निराशाको खेती गर्ने क्रम बढेको छ। कपोलकल्पित र भ्रामक कुरा गरेर दुनियाँ अल्मल्याउने परिपाटी हावी हुन खोज्दैछ। स्थिरता नचाहनेहरु अनेक बखेडा झिकेर गति अवरुद्ध गर्न षड्यन्त्र रच्दैछन्। परिवर्तन नरुचाउनेहरु गुमेको स्वर्ग पाउने आशामा गौडो ढुकेर बसेका छन्। पुरानो संरचनामा राइँदाइँ गरेकाहरु मुहान सुकेकोमा छटपटाइरहेका छन्। भूमाफिया, दलाली र अनैतिक कार्य गर्नेहरुको निदहराम भएको छ। यिनीहरु सबैको प्रत्यक्ष–अप्रत्यक्ष गठजोडबाट सरकारविरुद्ध निराशा सोझ्याउने काम भइरहेको छ। त्यो कहिले उग्रक्रान्तिकारी, त कहिले प्रतिगामी, त कहिले छद्मभेषी तवरले प्रकट हुने गरेको छ।

यस्ता प्रवृतिको चरित्र भनेकै राम्रा कामलाई शून्य घोषित गराउन न्वरानदेखिको बल लगाउनु हो। यसरी उपलब्धि नदेख्ने तर कमजोरी मात्र देख्ने एकपाखे तरिकाले अन्ततः निराशा मात्रै जन्माउँछ। निराशाले आशालाई नकार्छ। आशा विना समृद्धि अगाडी बढ्नै सक्दैन। निराशालाई चिरेर आशा जगाउने र समृद्धिको यात्रालाई सुनिश्चित गर्ने युगीन दायित्वबाट सरकार पछाडि हट्नु हुँदैन।

वुहानबाट विद्यार्थी उद्दार

प्रधानमन्त्रीले एउटा सन्दर्भमा सारङ्गी बजाएको दृश्यलाई नकारात्मक तरिकाले उछालेको देखियो। वुहानबाट नेपाली विद्यार्थी फर्काउन ध्यान नदिई प्रधानमन्त्री रमाइलोमा झुमेको भन्ने अनर्थ लगाएर उक्त तस्वीरलाई कतिले निरोसँग दाँज्न भ्याए। के यी दुई विषयलाई यसरी जोड्न जरुरी थियो, यति धेरै नकारात्मक किन बन्दैछ समाज ? यस्तो निराशाको खेतीले कस्तो चीज उत्पादन गर्न खोजिँदै छ ? यसलाई प्रधानमन्त्रीको कलाप्रतिको अगाध माया र कलाकारको अनुरोधलाई हृदयदेखि सम्मान गरेको अर्थमा किन लिन नसकेको ? यस्तै तस्वीर अरु देशका राष्ट्रप्रमुखको आएको भए वा प्रधानमन्त्री, कति मिजासिला प्रधानमन्त्री, जनताको सुख, दुःखमा सँगै रहने प्रधानमन्त्री भनी अथ्र्याएर तस्वीर भाइरल बन्थ्यो होला, होइन र ? हाम्रो बहसको स्तर खै कहिले सुधारिएला ?

वुहानबाट विद्यार्थी ल्याउन सरकारले कुनै कसुर बाँकी राखेन। जुन कुरा दुई साता नपुग्दै छर्लङ्ग भइहाल्यो। सायद सरकारको सुझबुझ, तयारी र क्वारेण्टाइनको व्यवस्थापन देखेर सबै प्रश्नको उत्तर स्वतः आएको छ। यस्ता आपलतकालिन अवस्थाका लागि पर्याप्त भौतिक संरचना नहुनु, क्वारेण्टाइन स्थलबारे स्थानीय बासिन्दा आश्वस्त हुन नसक्नु, वुहान जाने टीम तयार गर्न समय लाग्नु जस्ता थुप्रै प्राविधिक कठिनाइका बावजुद सरकारले गरेको कार्य प्रशंसायोग्य छ।

क्वारेण्टाइनमा बसेका विद्यार्थीहरुले व्यक्त गरेका प्रतिक्रिया र धारणा नै यस सन्दर्भमा काफी छन्। विश्वलाई नै त्रसित बनाएको ‘कोभिड–१९’ को संक्रमणबाट जोगिन देशले अपनाउनुपर्ने सतर्कता र नागरिकप्रतिको जवाफदेहिता दुवै कुरालाई सम्बोधन गर्न नेपाल सरकार सफलताको नजिक छ। नेपालले पछिल्ला दिनहरुमा पक्डिएको दिशा पूर्णत सही छ। देशले हासिल गरेका उपलब्धिहरुमा सबैले गौरबबोध गर्न सक्नुपर्छ। आफ्नै पौरखमा नेपालीले आर्जन गरेका उपलब्धि नेपालीले प्रचार नगरे अरुले गर्दिंदैन।

(आचार्य अनेरास्ववियूका नेता हुन्।)

Comments
Loading...
You might also like