बालबालिकामा कोरोना त्रास र अभिभावकको भूमिका

  • 455
    Shares
0

श्रीमन्त भट्टराई

अकल्पनीय त्रास बनेर विश्व हल्लाउन सफल कोरोना भाइरस नेपालमा हालसम्म देखिएको औपचारिक प्रमाण छैन। अर्थात् हामी अहिलेसम्म शुरक्षित छौं। शुरक्षितको अर्थ ढुक्क भएर बस्नसक्ने अवस्था भने होइन। नेपालले सावधानी अपनाउनुपर्ने क्षेत्रहरु थुप्रै छन्। खुल्ला सीमा हाम्रो लागि मुख्य चुनौति बनेको छ। सरकारको तर्फबाट सामान्य पहलहरु भएको छ। बालबालिकालाई लक्षित गर्दै विद्यालयहरु बन्द गरिएको छ। स्थानीय र राष्ट्रिय स्तरका सबै परीक्षाहरु रोकिएको छ। यतिबेला सरकारले भीड जम्मा हुने सामान्य कार्यक्रम पनि नगर्न र त्यस्तो ठाउँमा नजान अपिल गरेको छ। लामो दुरीका सार्वजनिक यातायातहरु रोक्ने निर्णय भएको छ। व्यक्तिगत रुपमा प्रयास गर्दा हुने रोकथामका विषयहरुमा जोड दिन सरकारले विभिन्न माध्यमबाट अपील गरिरहेको छ। समग्रमा अत्यावश्यकबाहेक सबै सेवा ठप्प पारिएको छ।

यो समय हामी आफूले व्यक्तिगत शुरक्षा र सफाइमा ध्यान दिन सकेमात्र पनि कोरोनाबाट बच्न सकिन्छ। साबुन पानीले पटक–पटक हात धुने र स्यानिटाइजरको प्रयोग गर्नाले हामी शुरक्षित रहन सक्छौं। त्यस्तै भीडबाट टाढै रहने, सकेसम्म घरमै बस्ने, हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहुने, धैर्यता र संयमता अपनाउने, विज्ञ र चिकित्सकहरुले दिएको आधिकारिक सल्लाहको पालन गर्नाले पनि हामी कोरोनाको संक्रमणबाट बच्न सक्छौं। विशेषगरी संक्रमित मुलुकबाट नेपाल आएका व्यक्तिहरुसँग र अपरिचित व्यक्तिहरुसँग टाढै रहनुपर्छ।

समग्र शुरक्षाको विषय जोडिएर विद्यालय बन्द भएसँगै यतिबेला बालबालिकाहरु घरको चार देवालभित्र थुनिएर बस्नुपरेको छ। वार्षिक परीक्षा सकिएका बालबालिका ढुक्कले घरमा बसेका छन् भने परीक्षा नसकिएका बालबालिकाहरु तनावमा छन्। दुबै किसिमका बालबालिकाको लागि यो समय हौसलाको आवश्यकता देखिन्छ। बालबालिका आफैं कसो गर्ने, के गर्ने भन्ने सन्दर्भमा जानकार हुँदैनन्। उनीहरुलाई मार्गनिर्देशन गर्ने काम अभिभावकको हुन्छ। यो त्रासको समयमा अभिभावकहरुको बालबालिका लक्षित भूमिका कस्तो हुनसक्छ त ? अभिभावकहरुले आफ्नो तर्फबाट खेल्न सक्ने सकारात्मक भूमिकाहरुको सन्दर्भमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ।

त्रास होइन, अवसर

तपाईले बालबालिकालाई समय दिन नसक्नुभएको हुन सक्छ। काम व्यस्तताका कारण अधिकांश अभिभावकहरु बालबालिकासँग समय बिताउन पाउनुहुन्न। अझ धेरैजसो अभिभावकहरु बालबालिकालाई पुस्तक पढ्न दवाव दिने अनि आफू अन्यत्र बरालिएर बस्ने गरेको देखिन्छ। मोबाइल, इन्टरनेट, टेलिभिजनमा अभिभावकहरु झुम्मिएर बस्ने अनि आफ्ना छोराछोरी ती सबै साधनहरुबाट टाढा रहनुपर्छ भन्ने तपाईको सोचले उनीहरुको मस्तिष्कलाई नकारात्मक बनाइरहेको हुन्छ। तपाईको गतिविधिलाई बालबालिकाले नजिकबाट नियालिरहेका हुन्छन्। तपाईको भनाइ र गराइमा एकरुपता भएन भने उनीहरुले तपाईलाई टेर्न छोड्छन्। त्यसकारण, फुर्सदको समय बालबालिकासँग बिताउने प्रयत्न गर्नुस्। उनीहरुसँग अत्याधिक कुराकानी गर्नुस्। घरभित्रै रहेर उनीहरु रमाउन सक्ने वातावरण सिर्जना गरिदिनुस्। त्यसले पारिवारिक मेल, एकता, प्रेम र सद्भावको वातावरण सिर्जना गर्नुको साथै सकारात्मक सोचको विकास गराउँछ। तपाईका बालबालिकामा ‘पोजिटिभिटी क्रिएट’ गराउने यो एउटा महत्वपूर्ण अवसर हुन सक्छ।

परीक्षाको हाउजुजी

परीक्षा रोकिएको विषयलाई हाउगुजी बनाएर बालबालिकालाई दवाव नदिनुहोस्। उनीहरुको स्वास्थ्यका अगाडि परीक्षा माइनर विषय हो। तपाईका बालबालिकामा सकारात्मक सोचको विकास छ भने व्यवहारिक जीवनको परीक्षामा कहिल्यै असफल हुन सक्दैनन्। ‘मेरो छोरा वा छोरीले यति तयारी गरेको थियो। परीक्षा रोकियो। अब के होला ?’ भन्ने प्रकारका चिन्ताजनक कुराकानी उनीहरुका अगाडि नगरिदिनुहोला। कुनै पनि बालबालिकामा असक्षमता र असफलता भन्ने शब्द नै हुँदैन। तपाईको सोच, क्षमता र व्यवहारले उनीहरु बन्ने हुन्। तीन घण्टे परीक्षामा प्रथम नै भएका पनि जीवनको परीक्षामा फेल भएका उदाहरणहरु हाम्रोसामु थुप्रै छन्। त्यसकारण परीक्षाको विषय कहिल्यै हाउगुजी नबनाइदिनुहोला।

परिवारसँग जोड्ने अवसर

विगतको संयुक्त परिवारको अवधारणामा रुपान्तरण हुँदै यतिबेला एकल परिवारको कन्सेप्ट अघि बढेको छ। बालबालिकाहरुमा आफूभन्दा बाहिर सोच्न सक्ने वा निश्चित स्वार्थभन्दा माथि उठ्नसक्ने क्षमतामा ह्रास आइरहेको छ। यो समय बालबालिकालाई परिवार र समाजसँग जोड्ने प्रयत्न गर्नुहोस्। त्यसको अर्थ धेरै बाहिर घुम्ने वा भीडमा जान दिने भने होइन। घरभित्र रहेर उनीहरुले गर्नसक्ने सामान्य कामहरु गर्न लगाउनुहोस्। बालबालिकाले घर भित्रका हरेक काम सिक्नुपर्छ। खाना बनाउने, भाँडा माझ्ने, घर तथा टोल सफा गर्नेदेखि आफ्नो लुगा आफैं धुने लगायतका कामहरु आफैं गर्नसक्ने वातावरण बनाइदिनुहोस्। साना बालबालिकालाई तपाईको छेउमा बसेर काम देखाउन र यसरी गर्नुपर्छ भनेर बुझाउन सक्नुहुन्छ। यसले उनीहरुमा आफू सक्षम रहेको अनुभूति हुनुका साथै जटिल परिस्थितिमा लड्नसक्ने आत्मविश्वासको विकास गराउँछ।

साना साना बालबालिकाहरु टेलिभिजन र मोबाइलमा अत्यधिक झुम्मिने गर्छन्। तपाईले पर्याप्त समय नदिएका कारण उनीहरु भौतिक दुनियाँसँग आकर्षित हुन्छन्। परिवारका अग्रज सदस्यले समय दिएर उनीहरुको भावना बुझेर व्यवहार गरिदिने हो भने टेलिभिजन र मोबाइलमा झुम्ने क्रम घट्छ। साना बालबालिकासँगै खेलिदिनुस्। ठूलासँग कुरा गरिदिनुस्। छलफल गरिदिनुस्। यस्ता कुराले उनीहरुमा सकारात्मक भावनाको विकास गराउँछ।

खोज गर्ने बानीको विकास

धेरैजसो अभिभावकलाई विद्यालय बन्द भएसँगै बालबालिकालाई घरमा कसरी टिकाउने भन्ने चिन्ता हुन्छ। अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई समय दिन र उनीहरुको भावना बुझ्न सकिरहेका हुँदैनन्। बालबालिकाको रुचि बुझ्ने र त्यसअनुरुप उनीहरुको शारीरिक र बौद्धिक विकास गराउने सन्दर्भमा हामी अभिभावकले ध्यान नै दिएका हुँदैनौं। यो फुर्सदको समयमा उनीहरुको रुचिको विषयमा बालबालिकालाई खोज गर्न लगाउनुहोस्। प्रविधिको प्रयोग गर्ने अनि बिभिन्न पाठ्यपुस्तकको अध्ययन गरेर बालबालिकाले खोज अनुसन्धान गर्न सक्छन्। चित्रकला, संगीत, नृत्य लगायतका अतिरिक्त क्रियाकलापहरुमा तपाईका बालबालिका अब्बल हुन सक्छन्।

पुस्तक, अंक र परीक्षामा मात्र ध्यान दिने हाम्रो बानीले उनीहरुको भावना र क्षमतालाई खुम्च्याइरहेको हुन्छ। कुनै पनि काम गर्दा फरक ढंगले गर्न सिकाउने सन्दर्भमा अभिभावकहरुको भूमिका महत्वपूर्ण हुन्छ। उदाहरणका लागि टेलिभिजनमा कुनै चलचित्र हेर्दैगर्दा त्यहाँ समाज, विज्ञान, प्रविधि, धर्म, भाषा, साहित्य, संस्कारका विषयमा बालबालिकालाई टिपोट गर्न लगाउन सकिन्छ। त्यसपश्चात उनीहरुसँग तपाईले बसेर अन्तरक्रिया गर्ने, छलफल गर्ने र त्यसको नतिजाको सन्दर्भमा जानकारी दिने बानीको विकास गर्नुस् त। सुन्दा सामान्य लाग्छ। व्यवहारमा सम्भव हुन्छ र भनेजस्तो पनि लाग्छ। तर, यसप्रकारका सामान्य विषयहरुले नै हो बालबालिकालाई फरक ढंगले सोच्न सिकाउने र सकारात्मक बनाउने। यसले उनीहरुलाई खोज र टिपोट गर्ने बानीको विकास गराउँछ।

समाजप्रति उत्तरदायी

तपाईका बालबालिकाले कोरोना प्रकोपका सम्बन्धमा समाजलाई सचेत बनाउन सक्छन्। शुरक्षित वातावरण सृजना गराएर उनीहरुलाई समाजसँग जोड्ने अवसर प्रदान गर्नुहोस्। ज्येष्ठ नागरिक तथा साना बालबालिकालाई उनीहरुले कोरोनाको प्रकोपबाट बच्नसक्ने उपायका सन्दर्भमा खोज गर्न लगाउने र त्यसलाई समाजसँग पुयाउन सहयोग गर्ने हो भने तपाईका बालबालिकामा समाजप्रति उत्तरदायी बन्नुपर्छ भन्ने भावनाको विकास पनि हुन्छ।

सकारात्मक पक्षको खोज

बालबालिकामा सकारमत्मक सोच र उच्च आत्मविश्वासको विकास गराउन तपाई अभिभावकहरुको महत्वपूर्ण भूकिका हुन्छ। तपाईलाई सामान्य लाग्ने हौसलाको शब्दले उनीहरुको जीवनमा आमूल परिवर्तन आउन सक्छ। बालबालिकाको प्रशंसा गर्न कन्जुस्याइँ नगर्नुस्। हामी बालबालिकाको नकारात्मक पक्षको मात्र खोजी गरिरहेका हुन्छौं। उनीहरुको नकारात्मक व्यवहारको सन्दर्भमा व्यक्तिगत रुपमा गाली गर्ने मात्र नभएर समाजका अनि शिक्षकहरुसम्म जानकारी गराइरहेका हुन्छौं। यो फुर्सदको समयमा तपाईसँग हुँदा सकेसम्म बालबालिकाको सकारात्मक पक्षको खोज गर्नुहोस् र उनीहरुको प्रशंसा गर्नुस्। बालबालिकाले गरेको सानो सकारात्मक प्रयासलाई लिएर पटकपटक प्रशंसा गर्नुस् त, त्यसले उनीहरुमा थप सकारात्मक बन्ने र खोज गर्ने हौसला पुग्छ।

संस्कारको विकास

धर्म, संस्कार, नैतिकता, आचरण र सकारात्मक परम्पराका सन्दर्भमा अतिरिक्त ज्ञान दिने वा खोज गर्न लगाउनाले उनीहरुको फुर्सदको समय सदुपयोग हुन सक्छ। घरमा नयाँ मानिस आउँदा उनीहरुलाई सम्मान गर्नुपर्छ भन्नेकुरा बालबालिकाले पटकपटक सुनेका छन्। त्यसलाई व्यवहारमा उतार्ने सवालमा उनीहरु कन्जुस्याई गर्छन, आखिर किन त ? हामी अभिभावकमा भएको संस्कार ‘ट्रान्सफर’ भएर उनीहरुमा पुग्छ। पत्याउनुहुन्न होला। तर, सत्य हो। तपाई अरुसँग भित्री र बाहिरी रुपमा जस्तो संस्कार देखाउनुहुन्छ, त्यस्तै संस्कार बालबालिकाले अन्य व्यक्तिलाई देखाउँछन्। विस्तारै उनीहरुलाई देखावटी पक्ष मन पर्दैन र अरुलाई टेर्न नै छोडिदिन्छन्। आफूभन्दा ठूलोलाई सम्मान र सानोलाई माया गर्नुपर्छ भन्ने सन्दर्भ व्यवहारिक रुपमा तपाईले उनीहरुलाई व्यवहारिक रुपमा सिकाउनुपर्छ।

भावना बुझ्ने प्रयास

कोरोनाको प्रकोप फैलनसक्ने त्रासका कारण यतिबेला सबै विद्यालयहरु बन्द छन्। यो समय बालबालिका फुर्सदमा छन्। अभिभावकले बालबालिकाको मनोविज्ञान बुझ्न नसकेका कारण उनीहरुमा डिप्रेसन वा कुलतमा जानसक्ने सम्भाव्यता बढी हुन्छ। उनीहरुको सामाजिक र सांस्कृतिक विकासका लागि जति रकम खर्च गर्नुहुन्छ, त्योभन्दा बढी समयको खर्च गर्नुस्। तपाईले दिने हरेक पलले उनीहरुको मानसिक विकासमा प्रत्यक्ष सम्बन्ध राख्छ।

अन्त्यमा, परिवारका सबै सदस्यहरु र विशेषगरी बालबालिकाको शुरक्षा र सरसफाईमा विशेष ध्यान दिनुहोला। रोग प्रतिरोधात्मक क्षमताको विकासमा जोड दिने प्रकारका खानपिनमा विशेष ध्यान दिनुहोला। धन्यवाद।

(लेखक वृहत राष्ट्रिय शिक्षा अभियानका सह–संयोजक हुन्।)

Comments
Loading...
You might also like