खानेपानी मन्त्रीद्वारा मानव मलमुत्रीय फोहोर प्रशोधन केन्द्रको उद्घाटन

  • 109
    Shares
0

काकडभिट्टा, ८ माघ । खानेपानी मन्त्री बिना मगरले झापाको काकडभिट्टा र चारआलीमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन केन्द्रको बुधबार उद्घाटन गरेकी छिन्। संघीय सरकार र स्थानीय नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त फोहोर प्रशोधन केन्द्रको मन्त्री मगरले एक समारोहका बीच उद्घाटन गरेकी हुन्।

खानेपानी मन्त्रालय अन्तर्गत साना सहरी खानेपानी आयोजनाले झापाको दुबै ठाउँमा पाइलट प्रोजेक्टको रूपमा मानव मलमुत्रीय फोहोरको प्रशोधन केन्द्र निर्माण गरेको हो। झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर १ देखि १३ सम्मको लागि काकडभिट्टाको पूर्व दक्षिणमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको हो।

हालको ६५ हजार १९ जनसंख्या अर्थात् १४ हजार ८ सय ९३ घरधुरीका लागि प्रतिदिन १२ घन मिटर मानव मलमुत्रीय फोहोर प्रशोधन गर्न सक्ने बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाइ कम्पोस्ट बनाइ मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइङ बेडहरु समेत भएको प्रशोधन केन्द्रको निर्माण गरिएको साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले जानकारी दिए। प्रमूख भट्टराईले यस केन्द्रको लागत ६ करोड ७४ लाख रुपैयाँ रहेको बताए। काकडभिट्टामा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन केन्द्रको सञ्चालन काकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गर्नेछ।

यसैबीच खानेपानी मन्त्री मगरले जनताको मौलिक हकसँग जोडिएको खानेपानी र सरसफाई क्षेत्रसँग सम्बन्धीत आयोजनाहरुलाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढिरहेको बताइन्। काकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मगरले मौलिक हकलाई कार्यान्वयन गर्न मन्त्रालयले कार्यक्रमहरु अघि बढाइरहेको बताएकी हुन्। 

विशेषगरी तराई क्षेत्रमा देखिएको आर्सेनिक लगायतका समस्या समाधान गर्न बल्क प्रणालीमा खानेपानीका केही ठूला आयोजनाहरुको काम अघि बढाउदै छौं, उनले भनिन्, वडा, गाउँ र निर्वाचन क्षेत्रलाई मात्रै लक्षित नगरी केही जिल्लाहरु नै समेट्ने गरी आयोजनाको डिपीआर बनाउँदै छौं। ताकि तराईमा खानेपानीको समस्या समाधान होस्। त्यस्तै मेचीनगर नगरपालिकाका १४ र १५ वडा, बिर्तामोड नगरपालिकाका १ देखि १३ वडाहरु र बुद्ध शान्ति गाउँपालिकाका १ देखि ७ वडाहरुका १ लाख ४२ हजार ८ सय ४८ जनसंख्याका लागि लक्षित हुने गरी झापाको चारआलीमा मानव मलमुत्रीय फोहोर (दिसा जन्य लेदो) प्रशोधन गर्ने गरि प्रशोधन केन्द्रको समेत निर्माण गरिएको छ।

२४ हजार ६ सय ३७ घरधुरीका लागि प्रतिदिन २७ घनमिटर दिसा जन्य लेदो प्रशोधन गर्ने गरी प्रशोधन केन्द्र बनाइएको हो। यी दुबै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत लगानी संघीय सरकारको र १५ प्रतिशत नगरपालिकाहरुको लगानी रहेकोे छ। बिल एण्ड मेलिना गेट्स फाउन्डेसनको करिव १४ करोड आर्थिक सहयोगमा निर्माण भएको दुबै प्रशोधन केन्द्र नेपालमै पहिलो पाइलट प्रोजेक्टको रूपमा अघि बढेको छ।

Comments
Loading...
You might also like