अमेरिका गएकी उपप्रमूख नेपाली उतै लुकिन्

  • 91
    Shares
0

काठमाडौं, ९ माघ । कालीकोटको तिलागुफा नगरपालिका उपप्रमूख दन्ता नेपाली (दर्शना) ‘सम्पर्कविहीन’ भएकी छिन्। भ्रमणका लागि अमेरिका गएकी उपप्रमूख नेपाली चार महिनादेखि ‘सम्पर्कविहीन’ भएकी हुन्।

नगरपालिका संघमार्फत् गोष्ठीमा सहभागी हुन् गत कात्तिकमा अमेरिका गएकी नेपालीले कुनै खोजखबर नपठाएको र जानकारी पनि नगराएको मेयर रत्नबहादुर शाहीले बताए। ‘नगरपालिका संघले उहाँलगायत केही नगरपालिकाका मेयर-उपमेयरलाई अमेरिकाको एक गोष्ठीमा सहभागी गराएको बुझेको छु। उपमेयरले भ्रमणमा जान्छु भनेपछि स्वीकृत पनि भयो। त्यसपछि उहाँ फर्कनुभएको छैन, ’उनले भने ।

अमेरिका पुगेपछि उपप्रमूखसँग एकपटक मात्रै सम्पर्क भएको र बिरामी भएकाले फर्कन नसकेको जानकारी गराएको मेयर शाहीले बताए। अहिले शाहीको फेसबुक खाता पनि निष्क्रिय छ। उपप्रमूख नहुँदा न्यायिक समिति र योजना तथा अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको काम प्रभावित भएको शाहीको भनाइ छ। योजना अनुगमन समिति, बजेट कार्यान्वयन तथा सुपरिवेक्षण समितिको संयोजक उपप्रमूख हुने प्रावधानका कारण अधिकांश योजनाहरूको भुक्तानी समस्या भएको शाहीले बताए। ठेकेदारहरूले दिनहुँ ताकेता गरिरहेकाले समस्या बेहोर्नुपरेको शाहीको भनाइ छ ।

नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले पनि दन्ता नेपाली (दर्शना) अमेरिका गएको बताए। ‘संघले नै आयोजना गरेको कार्यक्रम त थिएन त्यो, आईसीएमए अर्थात इनटरनेसनल सिटी मेनेजर एसोसिएसनले आयोजना गरेको गोष्ठीमा सहभागी हुन् अमेरिका जानुभएको हो, ’उनले पुष्टि गरे । त्यसपछि फर्किए, नफर्किएकोबारे आफूलाई थाहा नभएको धुलिखेल नगरपालिकाका मेयरसमेत रहेका ब्याञ्जुले बताए। २०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट उमेदवार भएकी दन्ता १ हजार ८४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन्।

Comments
Loading...
You might also like