संविधान संशोधन गर्न नेकपाले बनायो कार्यदल

  • 127
    Shares
0

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ। वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा बनेको कार्यदलमा पूर्वसभामूख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा छन्।

शनिबार बसेको नेकपाको सचिवालय बैठकले कार्यदल बनाएको हो। राष्ट्रियसभा सदस्यलाई प्रतिनिधसभाको हैसियत बराबर हुने गरी संविधान स‌ंशोधनका लागि अध्ययन गर्ने जिम्मा कार्यदललाई जिम्मा दिइएको उच्च स्रोतले जानकारी दिएको छ।

नेपालको संविधान अनुसार प्रतिनिधिसभा सदस्य मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ। शनिबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले कार्यदल गठनका लागि प्रस्ताव पेश गरेका थिए। यसमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कार्यदल गठनको प्रस्तावमा कुनै प्रतिवाद नगरेको स्रोतले बतायो।

नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने तयारी स्वरुप कार्यदल गठन गरेको बताइएको छ। उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने हो भने पहिले राष्ट्रिय सभा सदस्य पनि प्रतिनिधिसभा सदस्य जस्तै प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने माग राखेका थिए।

‘प्रतिनिधिसभा सदस्य र राष्ट्रियभा सदस्य समान रूपले प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न अध्ययनका लागि गृहकार्य गर्न कमिटी गठन गरिसकिएको छ,’ नेकपा सचिवालय स्रोतले भन्यो, ‘आवश्यक परे राष्ट्रियसभा सदस्य पनि थप गर्ने कुरा भएको छ।’ संविधानमा राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था अहिले छैन।

Comments
Loading...
You might also like