छायाँ मन्त्रीपरिषदकाे पहिलाे बैठक : के-के छन् निर्णय ?

  • 22
    Shares
0

काठमाडौं। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले बनाएको ‘छायाँ सरकार’ ले सरकारमा भएका भ्रष्टाचारको विषयलाई प्रभावकारी ढंगले उठाउने भएको छ। आइतबार सिंहदरबारमा पहिलो पटक बसेको छाया सरकारको बैठकले विभिन्‍न मन्त्रालयमा भ्रष्टाचार व्याप्त रहेको निष्कर्ष निकालेको हो।

भ्रष्टाचारविरुद्धको अभियानलाई देशव्यापी रूपमा भण्डाफोर अभियान चलाउने तयारी छायाँ सरकारले गरेको छ। बैठकपछि छायाँ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सांसद डिला संग्रौलाले भनिन्, ‘गोकुल बाँस्कोटाको ७० करोडको टेप प्रकरणले हरेक मन्त्रालयमा भ्रष्टाचारको जालो देखाएको छ। सरकारबाट जनताका काम भएनन्, सुशासन भएन। हाम्रो भूमिका झन् सक्रिय हुनुपर्‍यो भन्ने छलफल भयो।’

बैठकमा पार्टी सभापति तथा छायाँ सरकारका संयोजक शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्ध सक्रियता र सरकारविरुद्ध निगरानी बढाउन छाया मन्त्रीहरूलाई निर्देशन समेत दिए। उनले अधिकांश समय सरकारले ल्याएको विधेयक र भ्रष्टाचारको विषयमा आक्रोश पोखेका थिए।

निवर्तमान सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रेससम्बन्धी अडियो सार्वजनिक भएपछि देउवाले सरकार भ्रष्टाचारमा लिप्त भएको स्पष्ट भएको बताए। ‘यसले अनियमितताको जालो सबैतर्फ छ भन्ने संकेत गरेको छ,’ देउवाले भने, ‘त्यसकारण तपाईंहरूले अझै सक्रियता बढाउनुपर्‍यो।’

बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, राधेश्याम अधिकारी, डा.डिला संग्रौला, राजन केसी, अतहर कमाल मुसलमान, भीमसेनदान प्रधान, उमा रेग्मी, पार्वता डिसी चौधरी, बहादुरसिंह लामा, सुजाता परियार, किशोरसिंह राठौर, रंगमती शाहीलगायत छाया मन्त्रि उपस्थित थिए।

बैठकमा उनीहरूले सांसदहरूका लागि विज्ञ आवश्यक परेको भन्दै माग गरेका थिए। ‘कतिपय विषयको जानकारी नहुँदा हामी पनि अलमलमा छौं’, छायाँ मन्त्रिमण्डलका सदस्यहरूले भने, ‘मन्त्रालयमा कसरी निगरानी राख्ने, सक्रियता बढाउने विषयमा विज्ञको आवश्यकता छ।’

कांग्रेसले सदनमा प्रभावकारी ढंगले उपस्थिति देखाउन शून्य र विशेष समयमा प्राय: सबै सदस्य बोल्ने, मिनि संसदमा छाया सभापति बनाउने र छायाँ सरकारको महिनैपिच्छे बैठक गर्ने निर्णय गरेको संग्रौलाले जानकारी दिइन्। उनका अनुसार बैठकमा छाया मन्त्री र सांसदहरुले सुझाव र परामर्शका लागि विज्ञहरुको माग गरेका थिए।

Comments
Loading...
You might also like