वर्ल्डलिंकको सूचना : ‘राति भिडियो नहेर्नुस्, अनलाइन गेम नखेल्नुस्’

  • 126
    Shares
0

काठमाडौं। नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनिमध्ये एक वर्ल्डलिंकले राति ८ देखि १० बजेको समयमा इन्टरनेट प्रयोगकर्ताको चाप बढ्ने भएकाले भिडियो नहेर्न र अनलाइन गेम नखेल्न आफ्ना ग्राहकलाई अनुरोध गरेको छ।

आइतबार साँझ आफ्ना ग्राहकहरुलाई पठाएको सूचनामा वर्ल्डलिंकले भनेको छ, ‘चापको उत्कर्ष (राति ८–१० बजेसम्म) समयमा हामीमध्ये कसैलाई इन्टरनेट सोचे जति छिटो नहुन सक्छ, हामीले हाम्रा सबै प्रयोगकर्ताहरूलाई उक्त समयमा मनोरञ्जनात्मक कार्यहरुलाई प्राथमिकता नदिन हुन अनुरोध गर्दछौं। यसको मतलब हाम्रो अनलाइन गेम र भिडियो हेर्ने समयमा कटौती गर्नु हो।’

वर्ल्डलिंकले राउटर यतायति नचलाउन पनि आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ। ‘यस समयमा हामी प्रयोगकर्ताहरूलाई राउटरहरू र अन्य इन्टरनेट सम्बन्धी उपकरणहरू एक ठाउँबाट अर्को ठाँउमा नसार्नका लागि अनुरोध गर्दछौं, किनकि यसले तपाईंको सेवाहरूलाई बाधा पुर्‍याउन सक्छ र हामीले हाम्रो कर्मचारीहरुलाई घरमा पठाउन आवश्यक पर्न सक्छ, जुन हालको अवस्थामा सम्भाव्य नहुन सक्छ’ उसले भनेको छ।

आदरणीय ग्राहक महानुभावहरु,

सबैभन्दा पहिले हामी तपाईंलाई कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न सम्भव भएसम्म घरमै बसेर सहयोग पुर्‍याउनुभएकोमा धन्यवाद दिन चाहन्छौं। देशको जिम्मेवार नागरिकको हैसियतले हामी सबैले मिलेर यो महामारीको सबै क्षेत्रबाट डटेर सामना गर्नु पर्दछ।

सञ्चार अति आवश्यक सेवा हो र कोभिड–१९ ले गर्दा यसलाई पहिलेको भन्दा थप संवेदनशील बनाएको छ। कोभिड–१९ को जोखिम रहेसम्म एक आपसमा कुराकानी गर्नका लागि इन्टरनेट अपरिहार्य सेवाको रुपमा रहेको छ र यो सेवा सबैले बराबर सदुपयोग गर्न पाउनु पर्दछ। यसैले विश्वव्यापी नेटवर्कमा र नेपालमा पनि यसको ठूलो माग बढ्न सक्छ। हामीले यसको उपभोगमा उल्लेखनीय वृद्धि देखिसकेका छौं। मागअनुसारको व्याण्डविथ आपूर्ति गर्नका लागि हामीले आफ्नो नेटवर्कको क्षमता थप वृद्धि गर्नु आवश्यक हुन्छ। तर विश्वव्यापी रुपमा फैलिएको कोरोनाको आतंकका कारण हाम्रो अवस्था सुधार नभएसम्म अप्रत्याशित माग पूरा गर्न अझ बढी क्षमता थप्न सक्दैनौं। यस अवस्थामा सचेत र अग्रसर भएर हामीले इन्टरनेट व्यवस्थापन गर्न आवश्यक महशुस गरेका छौं र सबैलाई गुणस्तरीय इन्टरनेटको प्रबन्ध गर्नका लागि कटिवद्ध छौं। हामी सकेसम्म क्षमता बढाउन र गुणात्मक सेवा प्रदान गर्न सक्दो प्रयास गर्नेछौं।

हामीमध्ये केहीले धेरै नै व्याण्डविथको प्रयोग गर्दछौं, जसले गर्दा घरमै बसेर काम गरिरहेकाहरु, स्वस्थ्यकर्मी, सरकारी कर्मचारी, घरमै बसेर व्यवसाय सञ्चालन गर्नेहरुलाई गुणस्तरीय इन्टरनेट प्राप्त गर्न बाधा पर्न सक्दछ र चापको उत्कर्ष (राति ८–१० बजेसम्म) समयमा हामीमध्ये कसैलाई इन्टरनेट सोचे जति छिटो नहुन सक्छ। हामीले हाम्रा सबै प्रयोगकर्ताहरूलाई उक्त समयमा मनोरञ्जनात्मक कार्यहरुलाई प्राथमिकता नदिन हुन अनुरोध गर्दछौं। यसको मतलब हाम्रो अनलाइन गेम र भिडियो हेर्ने समयमा कटौती गर्नु हो।

हामी सकेसम्म अफिस सञ्चालन गर्ने कोशिस गर्नेछौं। यद्यपि हामीले यो पनि महसुस गरेका छौं कि कर्मचारीको स्वास्थ्य र सुरक्षा पनि त्यत्तिकै महत्त्वपूर्ण छ। त्यसैले हामी सेवालाई निरन्तरता दिन र चलाउनका लागि आवश्यक पर्ने न्यूनतम कर्मचारीहरू राख्ने प्रयास गर्नेछौं।

सेवा सम्वन्धी कुनै अवरोध वा जिज्ञासा भएमा हामी हाम्रा प्रयोगकर्ताहरूलाई निम्न अनलाइन सेवाहरु प्रयोग गर्न अनुरोध गर्दछौं।

  • अनलाइन च्याट सपोर्ट (http://worldlink.com.np)
  • फेसबुक च्याट सपोर्ट (https://www.facebook.com/wlink.np)
  • myWorldlink मोबाइल एप (https://worldlink.com.np/myworldlinkapp.php)
  • सपोर्ट इमेल ([email protected])
  • फोन सपोर्ट (NTC : 01-5970050/NCell : 9801523050)

त्यसैगरी हामी प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी सेवाहरू जस्तै ‘खल्ती’ र अन्य अनलाइन भुक्तानी सेवाहरूमार्फत् अफ्नो विल भुक्तानी गर्न अनुरोध गर्दछौं।

यस समयमा हामी प्रयोगकर्ताहरूलाई राउटरहरू र अन्य इन्टरनेट सम्बन्धी उपकरणहरू एक ठाउँबाट अर्को ठाँउमा नसार्नका लागि अनुरोध गर्दछौं किनकि यसले तपाईंको सेवाहरूलाई बाधा पुर्‍याउन सक्छ र हामीले हाम्रो कर्मचारीहरुलाई घरमा पठाउन आवश्यक पर्न सक्छ, जुन हालको अवस्थामा सम्भाव्य नहुन सक्छ। ठूला ट्रक वा सवारी साधनहरू तपाईंको क्षेत्रमा आउन सक्छ, जसले पोलमा भएका केबुलहरू चुडाल्न सक्छ र यसलाई मर्मत गर्न हाम्रो धेरै जना जनशक्तिको आवश्यक पर्न जान्छ। यसका लागि हामी प्रयोगकर्ताहरूलाई सतर्क रहन अनुरोध गर्दछौं।

हामी हाम्रो ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न भरपुर कोसिस गर्नेछौं। अन्तमा सुरक्षित रहनुहोस्, आफ्नो परिवार, समाज र देशको ख्याल राख्नुहोस्। धन्यवाद।

Comments
Loading...
You might also like