यसरी पत्ता लाग्यो १९ वर्षे युवतीको कोरोना

  • 7.4K
    Shares
0

काठमाडौं। काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएको छ। फ्रान्सबाट कतार हुँदै आएकी एक जना नेपाली विद्यार्थीमा कोरोना भाइरस देखिएको हो।

सोमबार पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले यसको जानकारी दिएका हुन्। १९ वर्षीय एक युवतीमा कोरोनाभाइरसको संक्रमण देखिएको र अहिले उनलाई टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखिएको मन्त्री ढकालले जानकारी दिए। उनीसँगै जहाजमा आएकाहरुको खोजी भइरहेको पनि मन्त्री ढकालले बताए।

‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ–कहाँ छन् भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने। पत्रकार सम्मेलन मन्त्री ढकालले सरकारले आफ्नो ठाउँबाट गर्नुपर्ने सावधानी अपनाएको पनि बताए।

कसरी पत्ता लाग्यो कोरोना ?

टेकु अस्पताल स्रोतका अनुसार कोरोना संक्रमित युवतीलाई आइतबार राति अस्पताल ल्याइएको थियो। अस्पतालले युवतीमा कोरोनाको संक्रमण भएको सूचना पाएपछि उनको घरमै पुगेर बिरामी ल्याइएको स्रोतले बतायो। ती युवतीका आफन्तले नै युवतीलाई कोरोनाको संक्रमण हुनसक्ने जानकारी गराएका थिए।

टेकु अस्पताल स्रोत भन्छ, ‘ती युवती चैत्र ४ गते नै नेपाल आएकी रहिछन्। नेपाल आए पनि उनी फ्रान्समा रहेकी एउटै रुममा बस्ने साथीसँग नियमित सम्पर्कमा रहिछिन्। फ्रान्समा एउटै कोठामा रहेको साथीलाई स्वास्थ्यमा समस्या देखिएपछि चेकअप गर्दा कोरोना पोजिटिभ देखिएछ। त्यसको जानकारी १९ वर्षे युवतीले पनि पाएपछि उनका आफन्तले अस्पतालमा खबर गरे।

अस्पताल स्रोतका अनुसार आइतबार साँझतिर १९ वर्षे युवतीका २ जना आफन्त अस्पतालमा आएर सूचना गरेको र त्यसपछि टेकु अस्पतालले एम्बुलेन्स पठाएको थियो। ‘राति ११.३० तिर अस्पतालले एम्बुलेन्स पठायो’ स्रोत भन्छ, ‘राति १२ बजे बिरामी अस्पताल ल्याइएको थियो। त्यसपछि हामीले आइसोलेशनमा राखेका छौं। परिवारका मान्छेलाई पनि क्वारेन्टाइनमा राखिएको छ।

युवतीले दिएको जानकारीअनुसार फ्रान्सबाट आएपछि उनी रुममै आराम गरेर बसेकी थिइन्। रुम पार्टनरलाई कोरोना पोजिटिभ देखिएपछि उनलाई पनि शंका लागेर अस्पतालमा सूचना आएको स्रोतको दावी छ। ती युवतीलाई कोरोना हुनसक्ने चर्चा १/२ दिन अघिदेखि नै भएको अस्पतालका एक स्वास्थ्यकर्मीले बताए।

युवतीले दिएको जानकारीअनुसार फ्रान्समा एउटै रुपमा बस्ने साथी भने नेपाली नभएको बुझिएको छ। स्रोत भन्छ, ‘नेपाल आए पनि उनी साथीकाे नियमित सम्पर्कमा रहिछन्। साथीलाई कोरोना पोजिटिभ देखिएपछि र उनमा पनि त्यसको लक्षण देखिएपछि परिवारकै सूचनाका आधारमा अस्पतालले एम्बुलेन्स पठाएको हो।’

टेकु अस्पतालको आइसोलेशनमा रहेकी ती युवतीको स्वास्थ्य सामान्य रहेको अस्पतालको दावी छ। ‘उनी एम्बुलेन्सबाट झरेपछि हिँडेरै वार्डमा गएकी हुन्। शारीरिक रुपमा त्यस्तो कमजोर छैनन्’ स्रोतले भन्यो।

यसअघि माघ १० गते पनि एक जना बिरामीलाई कोरोना पोजिटिभ देखिएको थियो। टेकु अस्पतालमा भर्ना गरिएका ती बिरामी बीचैमा भागेपछि उनको खोजी भएको थियो। त्यसको केही दिनपछि पूर्वी नेपालमा भेटिएका उनी पछि आफै निको भएको दावी गरिएको छ। आइतबार साँझको घटनापछि नेपालमा कोरोना पोजिटिभको संख्या २ पुगेको छ।

Comments
Loading...
You might also like