‘चियाबाट संक्रमण हुन सक्छ, तातो पानी पिऔं’

  • 1.4K
    Shares
0

काठमाडौं। उर्जा तथा जलस्रोत मन्त्रालयले अत्यावश्यक कर्मचारीको आवागमन बाहेक भेटघाट बन्द गरेको छ। कर्मचारीका लागि कार्यालय प्रवेश गर्नुअघि मुल प्रवेशद्वारमा स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। यस्तै शरीरको तापक्रम जाँच गर्न मन्त्री, सचिवसहित सबैका लागि थर्मल गन प्रयोग गरिने छ।

मन्त्रालयले सार्वजनिक सवारी साधनमार्फत कार्यालय आउजाउ गर्ने कर्मचारीका लागि मंगलबारदेखि नै छुट्टै सवारी साधनको व्यवस्था मिलाउने भएको छ। मन्त्री पुनले कार्यालयमा भएका गाडी कर्मचारीका लागि प्रयोग गर्न तथा अपुग भए अत्यावश्यक सेवा सञ्चालनसम्बन्धी मन्त्रिपरिषदको निर्णयसँग नबाझिने गरी न्यूनतम खर्चमा सवारी साधन भाडामा लिन आग्रह गरे।

मन्त्री पुनले सरकारले अत्यावश्यक सेवाका कर्मचारीलाई बिदा नदिएको स्पष्ट गरे। तर, अत्यावश्यक बाहेकका कर्मचारीले कामको प्रकृतिका आधारमा घरमै बसेर पनि कार्यसम्पादन गर्न सक्ने स्पष्ट गरे। ‘मन्त्रिपरिषदले सरकारी कर्मचारीलाई बिदा दिएको छैन। आलोपालो काम गर्न सकिन्छ। आवश्यक परेको बेला एउटा एसएमएसको भरमा उपस्थित हुन र एउटा एसएमएसकै भरमा घर जानुपर्ने हुन्छ’, मन्त्री पुनले भने।

यस्तै मन्त्रालयले मातहतका सबै कार्यालयमा चिया बन्द गर्न आग्रह गरेको छ। चिया पिउँदा संक्रमणको जोखिम बढी हुने भएकाले तत्कालका लागि चिया कफी बन्द गर्न मन्त्री पुनले निर्देशन दिए। चियाको साटो नियमित रुपमा तातो पानी पिउन उनले आग्रह गरे। ‘चिया पिउँदा संक्रमण हुन सक्छ’, उनले भने, ‘चिया छोडौं, तातोपानी पिऔं।’

Comments
Loading...
You might also like