किन असफल भयो भारतमा कम्युनिष्ट आन्दोलन ?

  • 1.3K
    Shares
0

क. शेषमणि आचार्य

भर्खरैजसो बेलायती लेखक आर्थी ब्राउनको संसारका कम्युनिस्ट पार्टीहरुकोबारे विवेचना गरिएको पुस्तक “The Rise and Falls of Communism” नामक पुस्तकको चर्चा पढेँ। निकै चर्चित यस पुस्तकमा उनले भारतीय कम्युनिस्ट पार्टीको उत्थान र पतनबारे एक लेख लेखेका छन्, यस लेखको चर्चा भएको छ।

यो चर्चा मेरो फेसबुक कक्षमा जानेमाने कम्युनिस्ट नेता कमरेड स्वनाम साथीको सहयोगबाट प्राप्त भएको हो। यसले भारतीय कम्युनिस्ट पार्टीको स्थापना, कम्युनिस्ट सरकारको उदय र अस्तबारे संक्षिप्त तर पुग्दो मात्रामा टिप्पणी गरेको छ, जसलाई सरसर्ती अध्ययन गर्दा केही समययता मैले लिएका धारणासँग मेल खाएको अनुभव भयो।

त्यसैको सेरोफेरोमा रहेर मैले यहाँ यो छोटो टिप्पणी तयार गरेँ। यसलाई सबैभन्दा पहिले मेलै कमरेड स्वनामलाई नै भेट गरेँ। उहाँले यसलाई हार्दिकतापूर्वक स्वीकार गर्नुभयो। त्यसरी नै भारतमा “हिन्दुस्तान शोसलिस्ट रिपब्लिकन एसोसिएसन”का केन्द्रीय संयोजक कामरेड आई.जे. राय र अरु केही वाम कमरेडहरुलाई पनि यसको हिन्दी अनुवाद पठाएको छु। उहाँहरुको भने अहिलेसम्म प्रतिक्रिया पाएको छैन।

भारतमा भर्खरै आम चुनाव सम्पन्न भएको छ। विश्वमा भारत आधुनिक शक्तिराष्ट्रको रुपमा उदाउँदै गरेको देश हो, जहाँ ठूलो मजदुर वर्गको अस्तित्व छ। त्यसैगरी अर्को विडम्बना पनि छ, त्यहाँ करोडौँको सङ्ख्यामा गरिबी, भोकमरी, सडकवास भएका गरीब वर्गको अस्तित्व बिझाउने गरी छ। त्यसैगरी अनेक आदिवासी जनता पनि समस्याग्रस्त छन्।

भारतीय समाजको संरचना हेर्दा त्यहाँको समृद्धि, समानता मार्क्सीय समाजवाद बाहेक अरु विकल्प हुन सक्दैन। तर यसपटक भारतीय कम्युनिस्ट पार्टीहरुले आफ्नो विगतको छवीलाई कायम राख्न सकेनन्। लगभग ३४–३५ वर्षसम्मको बङ्गालको कम्युनिस्ट शासन नराम्ररी ढल्यो। यस्तै समस्यालाई मनन गरी यो छोटो अभिलेख तयार पारेको छु र यसले हाम्रो विद्यमान नेपाली समाजलाई पनि केही इशारा गर्न सक्छ।

निश्चय नै भारतीय कम्युनिस्ट पार्टीको लामो इतिहास हुँदाहुँदै पनि यसको उत्थान हुन नसक्नुमा यसको सिद्धान्त र व्यवहारमा तालमेल नहुनु नै मुख्य कारण हो। ब्रिटिश शासनताका भारतीय कम्युनिस्टहरूको भूमिका चित्त बुझ्दो भएन। तर, भारतको स्वतन्त्रतापछि सम्पन्न आम चुनावहरुमा उसको उपस्थिति त्यति कमजोर पनि रहेन। तर सोभियत संघ र पूर्वी यूरोपका साम्यवादी शासन नराम्ररी जब ढले, तिनका केही कारण र भारतीय कम्युनिस्ट पार्टीको पतनका कारणमा सदृश्य हुन आउँछ।

मुख्यतः भारतीय कम्युनिस्ट पार्टीको मानसिकता सुरुदेखि नै पराधीनतामा आधारित रह्यो। यसले कहिले दक्षिणपन्थी र कहिले उग्रवामपन्थी गल्ति गरिरह्यो, जुन कुरा पहिलो भारतीय कम्युनिस्ट नेता (?) एम.एन. रायको पालादेखिपछि डाँगे, बिटी रणदिवेदेखि अहिलेसम्म नै रहिरह्यो। चीनमा स्टालिनसँग मतभेद भएपछि माओले चिनियाँ क्रान्तिको मौलिकताको विकास गर्नुभयो भने भारतीय कम्युनिस्ट पार्टी भने कहिले रुसजस्तो, कहिले चीनजस्तो हुँदै गयो। यो भारतमा डाँगेको पालामा सिपिईको माध्यमबाट काँग्रेसको पुच्छर नै बन्यो।

मार्क्सवादी इतिहासकार एवं उत्कृष्ट विद्वान् श्रीपाद अमृत डाँगे र एम.एन. रायसमेत कम्युनिस्ट आन्दोलनबाटै विचलित र पलायन हुन पुगे। यसरी नै बिटी रणदिवेको पालामा भएको तेलङ्गाना क्रान्ति पनि असफल भयो। पछि चारु मजुमदारले नेतृत्व गरेको नक्सलवादी सशस्त्र किसान क्रान्तिदेखि अहिलेसम्मकै भारतीय माओवादीहरुको चालु क्रान्ति पनि खालि धर्म निर्वाह जस्तै भएको छ। करिब ३४–३५ वर्ष लगातार शासनमा रहेको पश्चिम बङ्गाल र त्रिपुराजस्ता राज्यबाट कम्युनिस्ट पार्टीले शर्मनाक हार बेहोर्नुपर्यो।

वास्तवमा यसको कारण उसभित्र जरो गाडेको नोकरशाहीतन्त्र नै हो। जसको कारणले कार्यकर्ताहरुमा उत्पन्न भ्रष्टाचार र ठालुपनले नै पार्टी पूर्णतया जनताबाट अलगथलग भयो। एकपटक देखापरेको यस्तो पुच्छरवादी गलत प्रवृत्ति जति सुधार्न खोजे पनि सफल हुन सकेन। यो काम सम्पन्न गर्न न त डाँगे, रणदिवे, ज्योति वसु, नम्बुदिरिपाद, चारु मजुमदारले सके, न ती पछिका वा अहिलेका नेताहरूले सके।

आचरणमा देखापरेका यस्ता विकृतिले नै भारतीय कम्युनिस्ट आन्दोलनको यस्तो नियति बनायो ।अबका दिनमा भारतीय कम्युनिस्ट आन्दोलन जटिल जीवनमरणको संघर्षबाट गुज्रन बाध्य हुनेछ। (यो लेख लेफ्ट रिभ्यु अनलाइनबाट लिएका हौं।)

(लेखक पुराना कम्युनिस्ट नेता हुन्।)

Comments
Loading...
You might also like